भारत-नरवे सम्बन्ध

आलेख: जवाहरलाल नेहरू विश्वविद्यालयमा युरोपेली अध्ययन केन्द्रका चेयरपर्सन, प्रोफेसर उम्मु सलमा बावा

नरवेकी प्रधान मन्त्री एर्ना सोलबर्ग भारतको भ्रमणमा आउनुभएको थियो। नरवे भारतलाई स्वाधीन्ता पश्चात तुरुन्तै मान्यता दिने पहिलो केही मुलुकहरूमध्ये एक हो। सुश्री सोलबर्गले नयाँ दिल्लीमा नरवेको नवीकृत दूतावासको उद्घाटन गर्नुभयो। यो नवीकृत दूतावास दिल्लीमा यस प्रकारको पहिलो पूर्णरूपमा नवीकरणीय ऊर्जाद्वारा सञ्चालन हुने एक आदर्श भवनको रूपमा स्थापित भएको छ। यस प्रकारको स्वनिर्भर पारिस्थितिकी भारतका लागि अति नै महत्त्वपूर्ण छ किनभने यसले ग्रामीण स्तरमा सौर ऊर्जा र एक सतत पारिस्थितिकी सिर्जना गर्नसक्ने अन्य प्रविधिहरूको प्रयोग गरी पूर्वाधार उन्नत गर्ने एउटा मोडल प्रदान गर्दछ। नरवे उच्च स्तरीय जीवनयापन भएका पाँच नोर्डिक मुलुकहरूमध्ये एक हो। सतत जीवनशैली अपनाउनका निम्ति प्रविधि उपयोग गर्नमा यस मुलुकसँग भारतलाई प्रचुर योगदान दिनसक्ने क्षमता छ। सबै पाँच नोर्डिक मुलुकहरूको भारतसित मजबुत द्विपक्षीय सम्बन्ध रहेको छ तथा पहिलो भारत-नोर्डिक शिखर सम्मेलन-२०१८ स्टकहोममा भएको थियो जहाँ भारतले सबै नोर्डिक मुलुकहरूसित आफ्नो सम्बन्ध मजबुत र विविध बनाउने इच्छा जाहेर गरेको थियो।

परराष्ट्र मामिला मन्त्रालय र अब्जर्भर रिसर्च फाउण्डेशनको एक मुख्य संयुक्त विदेश नीति पहल, ‘रायसीना संवाद’ २०१९-को उद्घाटन समारोहमा प्रधान मन्त्री सोलबर्ग मुख्य अतिथि हुनुहुन्थ्यो। सुश्री सोलबर्गले सतत विकास र वैश्वीकरण एवम् व्यापारका चुनौतीहरूलाई सम्बोधन गर्ने आवश्यकतामाथि बल दिनुभयो। उहाँले रेखाङ्कित गर्नुभयो कि दुवै मुलुक समुद्री राष्ट्रहरू हुन् जोसँग समुद्रको प्रयोग र यसलाई विकसित गर्ने प्रगाढ रूचि रहेको छ तथा समुद्री संरक्षण एवम् उत्पादकताको संवर्धन गर्न एउटा खण्डीय दृष्टिकोणको साटो एक एकीकृत समुद्री व्यवस्थापन दृष्टिकोण अपनाउने उद्देश्यका साथ ‘सेवारत विश्वका अगुवाहरू’-सित काम गर्ने सतत समुद्री अर्थव्यवस्था बनाउन एक उच्च-स्तरीय प्यानल गठन गरेका छन्। नियम आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि आह्वान गर्दै प्रधान मन्त्री सोलबर्ग भन्नुभयो, “शक्ति अधिकार हो भन्ने सिद्धानतलाई हाम्रा समुद्र र अन्य कुनै कुरा नियन्त्रण गर्न एक आधारको रूपमा प्रयोग गर्न सकिन्न।”

सन् २०१६ देखि सुश्री सोलबर्गले राष्ट्र संघमा सतत विकासका लक्ष्यहरूको वकालत गर्ने समूहको सहअध्यक्षा गर्दै आउनुभएको छ तथा यी लक्ष्यहरू कार्यान्वयन गर्ने सबै मुलुकहरूको सामूहिक दायित्व हो भनी उहाँले जोड दिनुभएको छ। सतत विकासका १७ बुँदे लक्ष्यहरूमा यो कुरा स्पष्ट भइसकेको छ कि यी लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा सबै मुलुकहरू विकासशील मुलुकहरू नै हुन्। मानव विकास सूचकाङ्कमा नरवे विश्वको नम्बर एक मुलुक भए तापनि उहाँले यो कुरा दोहऱ्याउनुभयो कि नरवेले अझै पनि धेरै कुराहरू गर्नु छ र सतत परिवर्तन एकै रातमा हासिल हुँदैन अनि जलवायु परिवर्तन समस्याको समाधान खोज्न वैश्विक सहयोग चाहिन्छ।

प्रधान मन्त्री सोलबर्गको भारत भ्रमणको उद्देश्य द्विपक्षीय सम्बन्धको समीक्षा र आर्थिक एवम् राजनीतिक पक्षहरूलाई गति प्रदान गर्नु पनि थियो। ओसलो अप्रसारको कडा समर्थक हो अनि क्षेप्यास्त्र प्रविधि नियन्त्रण व्यवस्था (एमटीसीआर) र परमाणु आपूर्तिकर्त्ता समूह (एनएसजी)-मा भारतको प्रविष्टिलाई ओसलोले समर्थन पनि गरेको छ। राष्ट्र संघ सुरक्षा परिषदमा सीट हासिल गर्ने भारतको प्रयासलाई पनि उसले समर्थन गरेको छ। नरवे युरोपेली संघको सदस्य होइन तथा उसले संलग्नताको अर्कै आयाम प्रदान गर्दछ किनभने उ आर्कटिक क्षेत्रमा निकट सरोकार भएका मुलुकहरूमध्ये एक हो। उत्तरी ध्रुव र दक्षिणी ध्रुवमा भारतको मजबुत वैज्ञानिक अनुसन्धान रहेको मध्यनजर, अनुसन्धानको क्षेत्रमा भारत र नरवेले अझ बढी सहयोग गर्नसक्ने कुरामाथि उहाँले जोड दिनुभयो। आर्कटिक युरोप, उत्तर अमेरिका र एसियाबीच सहयोगको माध्यम बनेको छ भन्दै उहाँले आगामी समयमा आर्कटिक परिषदको कार्यमा भारतको मजबुत संलग्नताको अपेक्षा गर्नुभएको छ।

लगभग १०० नरवेली कम्पनीहरू भारतमा भारतीय साझेदारहरूसित संयुक्त उद्यम मार्फत वा जहाज निर्माण, पेट्रोलियमसम्बन्धी सेवा, समुद्री/उप-सागर ड्रिलिङ्ग उपकरण, जलविद्युत, स्वच्छ ऊर्जा तथा आईटी जस्ता क्षेत्रहरूमा पूर्ण स्वामित्व सहायक-कम्पनीहरू मार्फत संलग्न छन्। नरवे ५३ लाख जनसंख्या भएको सानो मुलुक भए तापनि उसले एक उच्च गुणस्तर भएको जीवनयापन हासिल गरेको छ। २०१४-मा भारतीय बाल अधिकार सङ्ग्रामी श्री कैलाश सत्यार्थीलाई “बालबालिका एवम् युवाहरूको शोषणविरुद्ध तथा सबै बाल-बालिकाहरूको शिक्षाको अधिकारका निम्ति गरेको संघर्ष”-का लागि संयुक्तरूपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। उनीहरूले “अनेक मूल्यहरू साझा गर्दछन्, तथा लोकतन्त्र र एक नियम आधारित विश्व व्यवस्थाप्रति गहन प्रतिबद्धता व्यक्त गर्दछन्” र यो, नरवे र भारत बीच सहयोगको मुख्य आधार हो भनी सुश्री सोलबर्गले भन्नुभभयो तथा यो आधार एक यस्तो समयमा प्रासङ्गिक छ जब विश्वमा पुनर्व्यवस्था हुने क्रम जारी रहेको छ।