चाबहार बन्दरगाहको सञ्चालनः भारत-ईरान-अफगानिस्तानबीच त्रिपक्षीय सम्बन्धमा नयाँ आयाम

चाबहार सम्झौताको रूपमा जानिने अन्तर्राष्ट्रिय परिवहन एवम् पारगमन करिडोरको स्थापनाका लागि भारत, ईरान र अफगानिस्तानबीच भएको त्रिपक्षीय सम्झौता थुप्रै चरणमा भएका वार्ताहरूको परिणाम हो। इण्डिया पोर्टस् ग्लोबल लिमिटेड-ले वाणिज्यिक रूपले महत्त्वपूर्ण चाबाहार बन्दहगाहको सञ्चालनको जिम्मेवारी लिएको छ जो ईरानको सिस्तान-बलुचिस्तान प्रान्तमा अवस्थित छ। ५० करोड अमेरिकी डलरको लागतमा भारतद्वारा मुलुकदेखि बाहिर विकसित गरिएको यो पहिलो बन्दरगाह हो।

यस बन्दरगाहमा भारतीय हितप्रति कैयौँले शङ्काको दृष्टिले हेरेका छन् किनकि केही विश्लेषकहरूले यसको तुलना चीनका लागि आर्थिक र सामरिक दृष्टिले महत्त्वपूर्ण पाकिस्तानको ग्वादर बन्दरगाहसँग गरेका छन्।  तथापि भारत, ईरान र अफगान दृष्टिकोणले पनि यो  मुख्य रूपले वाणिज्यिक र आर्थिक हितहरूलाई ध्यानमा राखेर बनाइएको छ। चाबहार सम्झौताले सबै तीन मुलुकहरूको अपेक्षालाई साकार गरिदिएको छ र यसबाट क्षेत्रीय एकता र सम्पर्कलाई बढुवा प्राप्त हुनुको अतिरिक्त व्यापार र वाणिज्य पनि बढनेछ।

चाबहार बन्दरगाह सञ्चालनका कैयौँ लाभहरू छन्। सबैभन्दा पहिलो र महत्त्वपूर्ण त यो छ कि अफगानिस्तानका साथ  भारतको सम्पर्क मजबुत हुनेछ किनकि चाबहार बन्दरगाहले ईरानको भूभागमार्फत सर-सामान लैजान र ल्याउनका लागि परिवहन मार्गको रूपमा कार्य गर्नेछ। २०१७-मा चाबहार बन्दरगाह मार्फत भारतले अफगानिस्तामा गहुँको खेप पठाएको थियो र यसबाट बन्दरगाहको व्यावसायिक महत्त्व सावित भएको थियो। चाबहार सम्झौतामा तीव्रता ल्याउनु आवश्यक थियो किनकि भारत र अफगानिस्तान सर-सामानहरू ल्याउन लैजानका लागि पाकिस्तानलाई उसको भूमिको प्रयोग गर्नका लागि तयार गर्न असफल भएका थिए।

चाबहार बन्दरगाहको सञ्चालनले भारतलाई ईरानी भूभागका ठूला क्षेत्रहरू साथै मध्य एसियाली गणराज्य सम्म सीधा र अधिक विश्वसनीय समुद्री सडकको उपलब्धता सुनिश्चित गराउनेछ। ढुवानीको लागत र समयको सन्दर्भमा अभूतपूर्व बचत हुनेछ। यो उल्लेखनीय छ कि भारत र ईरान अन्तर्राष्ट्रिय उत्तर दक्षिण परिवहन करिडोर स्थापनाका लागि सक्रिय छन्। चाबहारलाई यस सम्झौताको रूपरेखाभित्र सामेल गर्नका लागि भारत र ईरानले आफ्ना प्रतिबद्धता दोहोऱ्याएका छन्।

भावी व्यापार मार्गले भारतका पश्चिमी बन्दरगाहहरू जस्तै नहावा-शेवा र कान्डला बन्दरगाहबाट चाबहार र अजरबैजान तथा ताजिकिस्तान जस्ता मुलुकहरूमा सडक मार्गबाट सर-सामान ओसारपसार गर्न सम्भव हुनेछ। चाबहार ईरानको एक मात्र सीधा सम्पर्क भएको समुद्री बन्दरगाह हो र यसले अरब सागरमा फारसको खाडी र होर्मुजको जलडमरूमा देखिएको भू-सामरिक अशान्तिबाट बचाएर राख्नेछ।

बन्दरगाहको आर्थिक गति सुनिश्चित गर्न भारत र ईरानले क्षेत्रीय विकास र सम्पर्क पहलहरूका लागि निवेशको योजना बनाएका छन्। बन्दरगाह र कन्टेनर टर्मिनलहरूको निर्माणका लागि व्यापक लगानीको अतिरिक्त भारतले पहिलेनै जरङ्ग-देलराम सडक निर्माणमा धेरै निवेश गरेको छ। यस अतिरिक्त चाबहार-जहदन रेलमार्ग र चाबाहार विशेष आर्थिक क्षेत्रको निर्माणमा भारतीय लगानीले बन्दरगाहको क्षमता बढाउनुका साथै अफगानिस्तान र ईरानमा आर्थिक विकासलाई पनि गति दिनेछ।

तेहरानले यस विशेष आर्थिक क्षेत्रमा उर्वरक,पेट्रोरसायन र धातुकर्म जस्ता क्षेत्रमा भारतीय निवेशको स्वागत गरेको छ र यस बन्दरगाहको सञ्चालनमा स्थानीय सहयोगले र प्रविधिसित सम्बद्ध ढुवानी क्षेत्रको हस्तान्तरणले यसको आर्थिक विकासलाई प्रभावित गर्ने कुरामा सन्तोष व्यक्त गरेको छ। अफगानिस्तानका लागि चाबहार बन्दरगाहको प्रयोग कराची वा ईरानको बन्दर अब्बास बन्दरगाहहरूको तुलनामा आर्थिक रूपले धेरै लाभदायक साबित हुनेछ। तीन मुलुकहरूले बन्दरगाहलाई आकर्षक बनाउनका लागि सरसामानको लागत कम गराउन परिवहन, सडक, सीमा शुल्क र कुटनयिक मामिलाहरू सुगम बनाउन कुराकानी गरिरहेका छन्।

बन्दरगाहको उज्जवल भविष्य सुनिश्चित गर्नका लागि थुप्रै पहलहरू गरिएका छन्। भारतीय प्रधान मन्त्रीले भन्नुभएको छ, बन्दरगाहको सञ्चालनले शान्ति र समृद्धिको मार्ग बन्नेछ र क्षेत्रको इतिहासले नयाँ रूप धारण गर्नेछ।

आलेखः सत्यजीत मोहन्ती, आईआरएस, वरिष्ठ आर्थिक टिप्पणीकार

नुवाद एवम् वाचनः रञ्जना खवास