१५औँ प्रवासी भारतीय दिवस

१५औँ प्रवासी भारतीय दिवस अत्यन्तै हर्षोल्लासका साथ वाराणसीमा आयोजित गरियो। मरिशसका प्रधान मन्त्री प्रविन्द जगनाथ यस वर्ष प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो र उहाँले बीज भाषणपनि दिनुभयो। प्रधान मन्त्री नरेन्द्र मोदीले आफ्नो उद्घाटन भाषणमा यो अवसरले विश्वका सबै भारतीयहरूमाझ वार्तालापमा संलग्न हुने अवसर प्रदान गर्दछ भन्नुभयो। उहाँले भारतवंशीहरूलाई भारतका ब्रान्ड एम्बेसेडरहरू बताउनुभयो र उनीहरूका मुलुकलाई गौरवशाली बनाउनमा उनीहरूको प्रयासहरूको प्रशंसा गर्नुभयो। उहाँले विदेशी मुलुकमा बसोबास गर्ने भारतवंशीहरू उनीहरूका पूर्खाहरूको मातृभूमिसित जोडिनु जरुरी छ भन्नुभयो।

भारतको विकासमा विदेशी मुलुकमा बसोबास गर्ने भारतीय समुदायको योगदानलाई मान्यतास्वरूप प्रवासी भारतीय दिवस यसै त हरेक वर्ष ९जनवरी मनाइने गरिन्छ, तर यस वर्ष प्रवासी भारतीयहरूको यो भेलालाई विदेशमा बस्ने भारतीयहरूद्वारा प्रयागराजमा भइरहेको कुम्भ मेलामा सामेल हुने इच्छा व्यक्त गरिएको हुनाले सारिएको थियो। प्रतिनिधिहरूले नयाँ दिल्लीमा २६ जनवरीमा गणतन्त्र दिवस परेड हेर्ने मौका पनि पाउने छन्।

प्रवासी भारतीय दिवसको रूपमा ९ जनवरीको दिनको चुनाव सन् १९१५-मा महान प्रवासी मानिने महात्मा गान्धी दक्षिण अफ्रिकाबाट भारत फर्कनुभएको स्मृतिमा गरिएको हो जसले भारतको स्वाधीनता आन्दोलनको नेतृत्व गर्नुभयो र भारतीयहरूको जीवनलाई सधैँको लागि परिवर्तित गरिदिनुभयो। यो वर्ष १५औँ प्रवासी भारतीय दिवसको आयोजना उत्तर प्रदेशको राज्य सरकारको साझेदारीमा गरिएको हो।

प्रवासी भारतीय दिवस सम्मेलनहरू सन्  २००३ देखि हरेक वर्ष आयोजित हुँदै आएको छ, तर अबउसो यो एकवर्षको अन्तरालमा आयोजित गर्ने निर्णय गरिएको छ। यी सम्मेलनहरूले विदेशी मुलुकहरूमा बसोबास गर्ने भारतीय समुदायलाई उनीहरूका पुर्खाहरूको भूमिसित परस्पर लाभकारी गतिविधिहरूमा संलग्न हुने एक मञ्च प्रदान गर्दछ। विश्वका कुनाकाप्चामा बस्ने भारतीय समुदायमाझ एक सञ्जाल कायम गर्नमा पनि यी समारोहहरू अतिनै उपयोगी हुन्छन् र उनीहरूलाई विविध क्षेत्रमा उनीहरूका अनुभवहरू साझा गर्ने मौका प्राप्त हुन्छ। यस वर्षको प्रवासी भारतीय दिवसमा पाँच हजारभन्दा धेरै प्रवासी भारतीय प्रतिनिधिहरूले भाग लिए। यस दौरान भारतको विकासमा महत्त्वपूर्ण भूमिकाका लागि प्रतिष्ठित प्रवासी भारतीय सम्मान पुरस्कारहरू पनि प्रदान गरिए। यो सम्मेलनले भारतीय डायस्पोरासित सम्बन्धित महत्त्वपूर्ण विषयहरूमाथि छलफल गर्ने अवसर पनि प्रदान गर्दछ।

भारतवंशीहरूद्वारा उनीहरूले अपनाएका मुलुकहरूमा योगदानलाई मान्यता दिँदै भारतीय मूलका प्रसिद्ध राष्ट्रिय नेताहरूलाई प्रमुख अतिथिहरूको रूपमा निम्त्याइन्छ। तसर्थ, यो वर्ष १५औँ प्रवासी भारतीय दिवसको दौरान यो सम्मान मरिशसका प्रधान मन्त्री प्रविन्द जगनाथलाई दिइयो। भारतीय मूलका यस्ता अनेकौँ राजनीतिक व्यक्तित्वहरू छन् जो उनीहरूद्वारा अपनाइएका मुलुकहरूमा राष्ट्र प्रमुख बन्न पुगेका छन्। उनीहरूको  आफ्नो मातृभूमिसित भावनात्मक र पुर्ख्यौली सम्बन्ध कायम छ।

सम्मेलनको पहिलो दिन विदेशमा बसोबास गर्ने भारतवंशी युवाहरूका लागि समर्पित थियो। युवा प्रवासी भारतीय दिवसमा दुई प्रमुख व्यक्तित्वहरू हुनुहुन्थ्यो नर्वेको संसदमा सांसद हिमांशु गुलाटी र न्युजिल्यान्डको संसदमा सांसद कमलजीत बख्शी। उद्घघाटनको दिन २१ जनवरीमा प्रवासी भारतीय दिवसको युवा अधिवेशनमा उहाँहरू प्रमुख अतिथिहरू हुनुहुन्थ्यो।

युवा प्रवासी भारतीय दिवसको उद्घाटन भारतकी परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले गर्नुभएको थियो। उहाँले भारतको विश्वमा करिब तीन करोड दस लाखको सर्वाधिक ठुलो डायस्पोरा वा समूह छ  जसले ‘भारतीयता’-को साझा पहिचान  र साझा मूल राख्दछन् भन्नुभयो।  समृद्ध  भारतवंशी समूहका पुर्खाहरूको यो भूमि हो र अब उनीहरूमध्ये धेरैले उनीहरूको मातृभूमिको विकासमा योगदान गर्न चाहन्छन्। शताब्दियौँपूर्व भारतवंशीहरू फिजी, मरिशस, सुरिनाम एवम् श्रीलङ्का, ट्रिनिडाड एवम् टोबागो, गुयाना, मलेसिया, म्याँमार साथै अफ्रिकाली मुलुकहरूतिर बसाइँ सर्न थालेका थिए। आधुनिक युगमा २०औँ शताब्दीको दौरान शिक्षित, उच्च कौशलयुक्त एवम् ऊर्जावान युवा भारतीयहरूको एक अर्को बसाइँसराइले भारतको लागि गौरव अर्जित गऱ्यो। आज, विदेशमा बसोबास गर्ने भारतीयहरूले भारतीय अर्थव्यवस्थामा प्रमुख योगदान गर्दछन्। प्रवासी भारतीयहरूसित संलग्नता बढाएर भारतले उनीहरूको भावनात्मक ‘मातृभूमि’ प्रति उनीहरूको योगदानलाई मान्यता प्रदान गर्दछ।

आलेखः वरिष्ठ पत्रकार रन्जीत कुमार

अनुवाद एवम् वाचनः विष्णुबहादुर गुरुङ्ग