भारतको विकास गाथा जारी रहनेछ

“विश्व अर्थव्यवस्था परिदृश्य” शीर्षकमा अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात आइ.एम.एफ.को पछिल्लो प्रतिवेदनअनुसार भारतको वर्ष २०१८-१९-का लागि वास्तविक सकल घरायसी उत्पादन अर्थात् जिडिपि ७.३ प्रतिशतमा कायम छ जबकि वर्ष २०१९-२०-मा विकास तुलनात्मक रूपले उच्च छ। आइ.एम.एफ.-को प्रतिवेदनअनुसार भारतको आर्थिक विकास दर चीनको भन्दा धेरै हुने बताइएको छ।  आइ.एम.एफ. प्रतिवेदनअनुसार दुवै वर्षमा चीनको विकास दर ६.२% मात्रै रहने छ।

तेलको कम मूल्यले भारतलाई बढी तीव्रताका साथ प्रगति गर्नमा मद्दत गरेको छ। आइ.एम.एफ.-को प्रतिवेदनमा तीव्र गतिले विकासका लागि दिइएको अर्को कारण मौद्रिक सख्तीको न्यून गति बताइएको छ। तर, पर्याप्त रोजगार सिर्जनाको अभावलाई भारतीय अर्थव्यवस्थाका चुनौतीहरूमध्ये एकको रूपमा हेरिएको छ। भारतमा युनिभर्सल बेसिक इन्कम (यु.बि.आइ.) अर्थात् सर्वव्यापक मूलभूत आय लागू गर्ने विषयमा पनि बहस छ जसबाट घर-दैलोमा नगदी अन्तरण सुनिश्चित गर्न सकियोस्। भारतका केही राज्यहरूले यु.बि.आइ. सुरु गर्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेका छन्। युनिभर्सल बेसिक इन्कममा यो रूपान्तरणलाई भारत सरकारद्वारा बनाइएका कल्याणकारी योजनाहरूका लागि एक  शक्तिशाली नीति विकल्पको रूपमा हेरिँदै छ। तर, यो रूपान्तरणका लागि चुनौतीहरू छन् किनभने सार्वजनिक वित्तमा वित्तीय समावेश र डिजिटल पूर्वाधारमा पर्याप्त प्रगति हुन सकेको छैन।

आइ.एम.एफ.-द्वारा यो महिना जारी गरिएको प्रतिवेदनमा भारत विश्वमा सर्वाधिक तीव्र गतिले उदीयमान अर्थव्यवस्थाको रूपमा कायम रहने कुरामाथि जोड दिइएको छ। अर्थविदहरूले भारतीय अर्थव्यवस्थामा वैश्विक उथुलपुथुलको प्रतिकूल प्रभाव पर्ने कुराको खण्डन गरेका छन्। अपेक्षित प्रमुख उथुलपुथुल अमेरिका र चीनबिच व्यापारिक तनाव, र तेलका मूल्यहरूमा अस्थिरता हुन्। आइ.एम.एफ.-ले यी उथुलपुथुलहरूलाई मध्येनजर राखेर वैश्विक विकास परिदृश्यहरूलाई कम पार्दै संशोधन गरेको छ। यो २०१९-का लागि मात्र ०.२ प्रतिशत र २०२०-का लागि ०.१ प्रतिशत छ। यी प्रतिकूल उथुलपुथुलहरू मूलतः वस्तु बजारहरू र वित्तीय बजारहरूबाट उत्पन्न हुन सक्छन्।

अमेरिकी अर्थव्यवस्थाको भारतमाथि दबाब पुँजी प्रवाहको हिसाबले चिन्ताको एक अर्को विषय हो जो ब्याज दर अन्तरहरू र व्यापारमाथि निर्भर गर्दछ। अमेरिकाद्वारा उच्च शुल्कहरूले उदीयमान अर्थव्यवस्थाहरूको व्यापारमा नराम्रो प्रभाव पर्न सक्दछ। आइ.एम.एफ. प्रतिवेदनले भनेअनुसार कारोबार चक्रमा अमेरिका उच्च स्थानमा छ जबकि विश्व आर्थिक सम्भावनाहरू कम छन्। आइ.एम.एफ. रिपोर्टमा के पनि भनिएको छ भने अमेरिकामा रोजगार सिर्जना एकदमै उच्च छ। उपभोक्ता विश्वास पनि रेकर्ड उँचाइमा छ। अमेरिकाको लागि अवनतिका जोखिमहरू व्यापार र वित्तीय क्षेत्रहरूमा छन्।

आर्थिक विकासको गतिलाई कायम राख्नमा एक अर्को चिन्ताको विषय वित्तीय मजबुतीकरणको गुणस्तर हो। हालैमा नियन्त्रक एवम् लेखा महानिदेशकको प्रतिवेदनले वित्तीय मजबुतीकरणको गुणस्तर चिन्ताको विषय रहेको र यसबाट दीर्घकालिक स्थूल-आर्थिक स्थिरता र आर्थिक प्रगति नराम्ररी प्रभावित हुन सक्ने कुरामाथि जोड दिएको थियो। एक अर्को बहस जिएसटि-का दरहरूसित सम्बन्धित नयाँ कर सुधारहरूको सम्बन्धमा छ। थुप्रै करहरूलाई जिएसटि कार्यान्वयनमा एक चुनौतीको रूपमा हेरिँदैछ। तर, मूलभूत सुधारहरू जस्तै वस्तु एवम् सेवा कर (जि.एस.टि.) र दीवाला र दीवालिया कानुनले भारतलाई दीर्घकालमा विकासको गति कायम राख्नु मद्दत गरेको हुनु पर्दछ।

कृषि क्षेत्रको सङ्कट भारतमा सतत आर्थिक विकासको लागि एक चुनौती हो। आर्थिक विकासको गुणस्तर कायम राख्नका लागि बढ्दै गइरहेको असमानतालाई रोक्नु जरुरी छ। तर, कृषि ऋण मिनाही नीतिले मात्रै भारतमा कृषिको क्षेत्रमा रहेको अवसादको समाधान गर्न सकिँदैन किनभने भारतका केही किसानहरूको मात्रै औपचारिक बैंकिङ्ग ऋण बजारसम्म पहुँच छ। भारतमा आर्थिक विकासको उच्च गतिलाई खासगरि कृषिगत क्षेत्रमा कायम राख्नमा सकल पुँजि निर्माणको घट्दो दर चिन्ताको एक विषय हो। भारतको विकास गाथालाई अक्षुण्ण राख्नमा वित्तीय-मौद्रिक नीति समन्वय पनि एक महत्त्वपूर्ण तत्व हो। वर्ष २०१९-२०-को भारतीय केन्द्रीय बजेटले किसानहरूका ऋण र सम्बन्धित विषयहरूको सम्बोधन गर्ने अपेक्षा छ।

एउटा अर्को बहुराष्ट्रिय पेसावाल एजेन्सी प्राइसवेयरहाउसकुपर्स (PwC) द्वारा  आइ.एम.एफ.-द्वारा आफ्नो प्रतिवेदन जारी गरिएकै दिन जारी एक अर्को प्रतिवेदनमा २०१९-को विश्वका सबैभन्दा ठुला अर्थव्यवस्थाको ऱ्याङ्किङ्गमा भारत र फ्रान्सले यु.के.-लाई उछिन्दै वैश्विक तालिकामा यसलाई पाँचौँ स्थानबाट सातौँ स्थानमा पुऱ्याउने सम्भावना रहेको बताइएको छ।

भारतका आर्थिक मूलाधारहरू मजबुत छन् र अर्थव्यवस्था आफ्नो लचिलोपना र दूरदृष्टिका साथ वैश्विक चुनौतीहरूको सामना गर्न तमतयार छ।

आलेखः     एन.आइ.पि.एफ.पि.-मा एसोसिएट प्रोफेसर तथा अमेरिकी युनिभर्सिटी, वाशिङ्गटन डि.सि.मा  भिजिटिङ्ग प्रोफेसर 

                डॉ.  लेखा चक्रवर्ती

अनुवाद एवम् वाचनः विष्णुबहादुर गुरुङ्ग