भारतको सफल अन्तरिक्ष अभियान जारी छ

भारतको अन्तरिक्ष अभियान सफल प्रक्षेपणहरूकासाथ जारी छ। यसमा पछिल्लो प्रक्षेपण माइक्रोस्याट आर र कलामस्याट उपग्रहको प्रक्षेपण हो। इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन छोटकरीमा इसरो-को पोलर स्याटालाइट लाउन्च ह्विकल (पिएसएलभि) सि४४ बिहीवार अबेर राति भारतको सैन्य उपग्रह माइक्रोस्याट आर र विद्यार्थीहरूद्वारा निर्मित कलामस्याट उपग्रह बोकेर आन्ध्र प्रदेशमा सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो।

इसरो-को वर्कहर्स पोलर रकेट २८ घण्टाको उल्टो गन्ती समाप्त भएपछि राति ११.३७ बजे पहिलो प्रक्षेपण प्याडबाट छोडिएको थियो र सफ्फा एवम् ताराले भरिएको आकाशलाई चिर्दै इसरोको वर्ष २०१९-को पहिलो अभियानमा निस्केको थियो।

इसरो-ले भने अनुसार पोलर स्याटालाइट लाउन्च ह्विकल (पिएसएलभि-सि४४-को यो ४६औँ उडान थियो र यसले ७४० किलोग्रामको सैन्य उद्देश्यका लागि प्राथमिक इमेजिङ्ग उपग्रह माइक्रोस्याट-आर-लाई प्रक्षेपण गरिएको करिब १४ मिनेटमा २७४ किलोमिटर पोलर सन सिङ्क्रोनस कक्षामा स्थापित गऱ्यो।

१० सेन्टिमीटर वर्गाकारको १.२ किलोग्राम तौल भएको कलामस्याट उपग्रहका साथ रकेटको चौथो चरणलाई उच्च वृत्ताकार कक्षामा लगेर स्थापित गरियो। कलामस्याट भारतको सबैभन्दा हलुङ्गो उपग्रह हो भनी बताइन्छ।

कलामस्याट फेम्टो उपग्रह हो। फेम्टो उपग्रह नाम सामान्यतया १०० ग्राम मुनिको वेट मासयुक्त कृत्रिम उपग्रहरूलाई दिइन्छ। फेम्टो उपग्रहका केही डिजाइनहरूका लागि भू-नियन्त्रकहरूसित संवादका लागि एउटा “मदर” उपग्रहको खाँचो पर्दछ।  तीनवटा प्रोटोटाइप “चिप उपग्रहरू” मई २०११-मा स्पेस शटल एन्डेभोरको अन्तिम अभियानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपित गरिएको थियो। तिनीहरूलाई परीक्षणका लागि मेटेरियल्स इन्टरनेशनल स्पेस स्टेशन एक्सपेरिमेन्टको आइएसएस बाह्य प्लेटफर्ममा संलग्न गरिएको थियो।

कलामस्याटको नामाकरण भारतका पूर्व राष्ट्रपति डक्टर ए.पि.जे. अब्दुल कलामको नाममा गरिएको हो र यसको निर्माण तमिलनाडू राज्यको एक भारतीय उच्चतर विद्यालयका विद्यार्थीहरूको एउटा टीमले गरेको हो। यसको नेतृत्व तमिलनाडूको पल्लापट्टी नगरका १८ वर्षीय रिफत शारूकले गर्नुभएको हो। यो उच्च विद्यालय टीमले ‘आइडुडल’, ‘लर्निङ्ग.इङ्क’ र नासा-द्वारा आयोजित कर्मशालाहरू र शैक्षिक कार्यक्रमहरूमा भाग लिएको थियो। रोजिएका विद्यार्थी प्रतिस्पर्धीहरूको रूपमा टीमले नासाको रकेटमा अन्तरिक्षमा प्रक्षेपण गर्नका लागि प्रयोगहरू डिजाइन गर्ने अवसर जितेका थिए। कलामस्याटलाई भर्जिनियाको वाल्लोप्स आइल्यान्ड फ्लाइट फेसिलिटीबाट २२ जून २०१७-मा टेरियर ओरिवन साउन्डिङ्ग रकेटमा कैयौँ अन्य प्रयोगहरूका साथा नासाद्वारा प्रक्षेपित गरिएको थियो।

इसरो-का अध्यक्ष डक्टर के. सिवानअनुसार पिएस-४ कलामस्याटको प्रयोग अवधि छोटो हुनेछ। यसले प्रक्षेपण गरिएको एकघण्टा पचास मिनेट पछि काम गर्न थाल्नेछ र शुक्रवार मध्यान्हसम्म करिब १४ घण्टा काम गर्नेछ।

माइक्रोस्याट आर र यसका उपकरणहरूलाई रक्षा अनुसन्धान एवम् विकास सङ्गठन (डिआरडिओ)-का केही प्रयोगशालाहरूमा  जोडिएको हो र यो सैन्य उपयोगका लागि हो। उपग्रहलाई “बाहिर जोडिएको” हो र इसरो-ले यसलाई आफ्ना प्रणालीहरू र प्रक्षेपण वाहनसित अन्य कुनै ग्राहक उपग्रहरूसित सरह नै “इन्टरफेस” गरेको मात्रै हो।

यो वर्ष इसरो चन्द्रयान-२ अभियानमा पनि व्यस्त रहनेछ जो भारतको दोस्रो चन्द्र अभियान हो जसको प्रक्षेपण गरिनु छ। इसरो-ले आफ्नो नयाँ स्मल स्याटेलाइट लाउन्च ह्विकल (एसएसएलभि) रकेट पनि प्रक्षेपण गर्नेछ। एक अर्को महत्त्वपूर्ण अभियान दुई उपग्रह इन्डियन डेटा रिले स्याटेलाइट (आइडिआरएसएस) प्रक्षेपण गर्नुपनि हुनेछ जो २०१९-मा छोडिनेछ। यसले भारतको सुदूर संवेदी/भू पर्यवेक्षण उपग्रहरूसित र जियोसिङ्क्रोनस स्याटेलाइट लाउन्च ह्विकल मार्क-III (जिएसएलभि मार्क-III) सित लगातार संवाद कायम राख्नेछ जसले २०२२-मा तीन भारतीय अन्तरिक्ष यात्रीहरूलाई लिएर जाने कार्यक्रम छ।

प्रधान मन्त्री नरेन्द्र मोदीले १५ अगस्ट २०१८-को स्वतन्त्रता दिवस सम्बोधनमा भारतले सन् २०२२-मा आफ्नो स्वतन्त्रताको ७५औँ वर्ष पूरा गर्दा एक भारतीय आफ्ना हातमा तिरङ्गा झण्डा लिएर अन्तरिक्षमा जानेछ भन्नुभएको थियो। प्रधान मन्त्रीको व्यावहारिक नेतृत्व र भारतीय अन्तरिक्ष अभियानलाई उच्चतम उँचाइमा पुऱ्याउने उहाँको वचनबद्धता उल्लेखनीय छ। भारतीय अन्तरिक्ष वैज्ञानिकहरूले निकट भविष्यमा महत्त्वपूर्ण अन्तरिक्ष अभियानहरूको नेतृत्वमात्रै गरिरहेका छैनन् अपितु अन्तरिक्ष डिजाइन जस्ता क्षेत्रहरूमा आफ्नो छाप पनि छोडिरहेका छन्। हालैका वर्षहरूमा नयाँ एवम् साना उपग्रह डिजाइनहरू अर्थात क्युबस्याट्सका लागि केही उज्ज्वलतम विचारहरू भारतबाट नै आएका छन्।

आलेखः अल इन्डिया रेडियोका समाचार विश्लेषक पदम सिंह

अनुवाद एवम् वाचनः रञ्जना  खवास