भारतले दक्षिण अफ्रिकासित आफ्ना सम्बन्ध मजबुत पार्दैछ

प्रधान मन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दक्षिण अफ्रिकाका राष्ट्रपति सीरिल रामाफोसा भारतको राजकीय यात्रामा आउनुभएको थियो। उहाँ गणतन्त्र दिवस समारोह २०१९-मा प्रमुख अतिथि पनि रहनुभयो। राष्ट्रपति रामाफोसाका साथ दक्षिण अफ्रिकाकी प्रथम महिला डक्टर त्सेपो मोत्सेपे र नौ मन्त्रीहरू, उहाँको सरकारका वरिष्ठ अधिकारीहरू र कारोबारीहरूको ५० सदस्यीय शिष्टमण्डल पनि भारत आएको थियो। राष्ट्र प्रमुखको रूपमा राष्ट्रपति रामाफोसाको यो पहिलो भारत यात्रा थियो। भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि हुने दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मन्डेलापछि उहाँ दोस्रो राष्ट्रपति बन्नुभयो।

राष्ट्रपति रामाफोसालाई २५ जनवरी २०१९-मा राष्ट्रपति भवनको प्राङ्गणमा समारोहपूर्वक स्वागत जनाइएको थियो। भारतका राष्ट्रपति रामनाथ कोविन्दले अतिथि राष्ट्रपतिको सम्मानमा राजकीय रात्रिभोजको आयोजना गर्नुभयो। दक्षिण अफ्रिकाका राष्ट्रपति र प्रथम महिलाले राजघाटमा राष्ट्रपिता महात्मा गान्धीको समाधिमा आफ्नो श्रद्धाञ्जली अर्पण गर्नुभयो। दक्षिण अफ्रिकासित विशेष सम्बन्ध भएको महात्मा गान्धीको अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा १५०औँ जन्म जयन्ती पालना भइरहेको छ। श्री रामाफोसाले प्रधान मन्त्री नरेन्द्र मोदीसित परस्पर हितका द्विपक्षीय, क्षेत्रीय र वैश्विक मामिलाहरूमा शिष्टमण्डल स्तरको वार्ता गर्नुभयो। प्रधान मन्त्री मोदीले राष्ट्रपति रामाफोसाका लागि दिवाभोजको आयोजना गर्नुभयो।

दक्षिण अफ्रिकाका राष्ट्रपतिले प्रधान मन्त्री मोदीका साथ दुई मुलुकहरूबिच कारोबारी सम्बन्ध विकासको उद्देश्यले भारत-दक्षिण अफ्रिका कारोबार मञ्चलाई सम्बोधन गर्नुभयो। अतिथि राष्ट्रपतिले इन्डिया ब्राजिल र साउथ अफ्रिका छोटकरीमा इब्साको १५औँ वर्षगाँठ समारोहको हिस्साको रूपमा इब्सा ढाँचाअन्तर्गत भारतीय विश्व मामिला परिषदद्वारा आयोजित गान्धी-मन्डेला स्वतन्त्रता भाषणमालामा भाषण दिनुभयो।

राष्ट्रपति रामाफोसा,  दक्षिण अफ्रिकाकी प्रथम महिला डक्टर त्सेपो मोत्सेपेका साथ  २६ जनवरी भारतीय गणतन्त्र दिवस परेडमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभयो। उहाँहरूले  नयाँ दिल्लाबाट दक्षिण अफ्रिका रवाना हुनुअघि गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा २६ जनवरी अपराह्न आयोजित ‘एट होम’-मा पनि उपस्थित रहनुभयो।

भारत र दक्षिण अफ्रिकाबिच १९९७ देखि घनिष्ठ एवम् बहुमुखी सामरिक साझेदारिता रहिआएको छ जसमा ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्पर्कहरू निहित छन्। हालसालमा कैयौँ उच्च स्तरका यात्राहरूको आदान प्रदान भए जसमा जोहानसबर्गमा ब्राजिल, रसिया, इन्डिया,चाइना र साउथ अफ्रिका छोटकरीमा ब्रिक्स शिखर सम्मेलनमा प्रधान मन्त्रीको यात्रा पनि सामेल छ। दक्षिण अफ्रिकामा भारतीय मूलका करिब १० लाख ५० हजार मानिसहरू बसोबास गर्दछन् जसले मजबुत सम्पर्क गाँसेका छन्। १५० भन्दा बढी भारतीय कम्पनीहरूले दक्षिण अफ्रिकामा लगानी गरेका छन् जसमा २० हजार भन्दा बढी स्थानीयहरूले रोजगार पाएका छन्। भारत दक्षिण अफ्रिकाका पाँच शीर्ष व्यापार साझेदारहरूमध्ये एक हो। द्विपक्षीय व्यापार २०१७-१८-मा ९.३८ अर्ब अमेरिकी डलरबाट बढेर  २०१८-१९-मा १०.६५ अर्ब अमेरिकी डलर पुग्यो। दुवै मुलुकको व्यावसायिक तालिम, क्षमता निर्माण आदिका क्षेत्रमा घनिष्ठ सहयोग छ। दुवै मुलुकले विविध वैश्विक मामिलाहरूमा साझा दृष्टिकोण राख्दछन् र विभिन्न बहुपक्षीय मञ्चहरूमा जस्तै राष्ट्र संघ, ब्रिक्स, जी-२०, राष्ट्रमण्डल, इन्डियन ओसन रिम एसोसिएशन (आइओआरए) र इब्सामा घनिष्ट सहयोग गर्दछन्।

भारत र दक्षिण अफ्रिकाबिच वर्णभेदवादी शासनको बेलादेखिनै पारम्परिक रूपले राम्रा सम्बन्धहरू थिए। वास्तवमा भारत पहिलो मुलुक थियो जसले त्यो मुलुकमा डक्टर नेल्सन मन्डेलाको अफ्रिकन नेशनल काँग्रेसलाई एक राजनीतिक तागतको रूपमा मान्यता दिएको थियो। भारत अन्तर्राष्ट्रिय मञ्चहरूमा दक्षिण अफ्रिकाका बहुसंख्यकहरूको मागलाई समर्थन गर्ने मुलुकहरूमा अग्रणी थियो र भारतले त्यहाँ वर्णभेदवादी सत्ताको अन्त्यको माग गरेको थियो।

दक्षिण अफ्रिकामा १९९०-को दशकमा वर्णभेदवादको अन्त्यपछि भारतले तत्कालीन राष्ट्रपति फ्रेडरिक डी क्लर्कको सरकारलाई मान्यता  दियो र ‘सतरङ्गी’ राष्ट्रसित पूर्ण दौत्य सम्बन्ध स्थापित गऱ्यो। भारतले भारतमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आयोजना गरेर अन्तर्राष्ट्रिय खेलकुदमा  दक्षिण अफ्रिकालाई पुनः स्वागत गरेको थियो। डक्टर मन्डेला जेलबाट छुटेपछि आफ्नो पहिलो विदेश यात्रामा भारत आउनुभएको थियो। भारतले उहाँलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गऱ्यो। उहाँलाई दक्षिण अफ्रिकाका विभिन्न वर्णहरूबिच मेलमिलापका प्रयासहरूका लागि गान्धी शान्ति पुरस्कारले पनि सम्मानित गरियो। भारतले आफ्नो प्राविधिक एवम् आर्थिक सहयोग परियोजनाहरूमार्फत दक्षिण अफ्रिकाको विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

यसप्रकार दक्षिण अफ्रिकाका राष्ट्रपतिको भारत यात्राले भारत र दक्षिण अफ्रिकाबिच घनिष्ट सम्बन्धलाई थप दह्रिलो पार्ने अपेक्षा गरिन्छ।

आलेखः अल इन्डिया रेडियोका समाचार विश्लेषक कौशिक रॉय

अनुवादक एवम् वाचकः विष्णुबहादुर गुरुङ्ग