‘बीबीआईएन’ उप-क्षेत्रीय सहयोगको क्षमता

आर्थिक एकीकरण धेरै जस्ता मुलुकहरूका लागि प्राथमिकता बनिरहेकै बेला क्षेत्रीय सहयोगलाई एक यस्तो वाहकको रूपमा हेरिँदैछ जोसित क्षेत्रका मुलुकहरूलाई एउटै साझा मञ्चमा ल्याइ रूपान्तरित गर्ने क्षमता रहेको छ। सम्पर्कतालाई भू-राजनीतिको चस्माद्वारा हेर्ने गरेको हुनाले क्षेत्र भित्रै आवश्यक सम्पर्कता कसरी विफल भएको छ भन्ने कुरा दक्षिण एसियाले देखेको छ। उप-क्षेत्रीय सहयोगलाई एक यस्तो वाहकको रूपमा हेरिँदैछ जसले विकासप्रति समान प्राथमिकता भएका भौतिकरूपमा निकट तथा एउटै विचार भएका मुलुकहरूलाई एकजुट गराउन सक्छ। यही सन्दर्भमा, बाङ्गलादेश-भूटान-भारत-नेपाल (बीबीआईएन)-ले उप-क्षेत्रीय सहयोगको एउटा मञ्चको रूपमा बढी महत्त्व हासिल गरिराखेको छ। बीबीआईएन सार्कको सूचीमा परिकल्पित उप-क्षेत्रीय सहयोगको हिस्सा होइन तर यसले परिवहन सम्पर्कता र ऊर्जा ग्रीडहरूमार्फत पूर्वी दक्षिण एसियालाई रूपान्तरित गर्ने संकल्प लिएको छ।

विशेषगरि काठमाडौँ सार्क शिखर सम्मेलन सार्क मोटर वाहन सम्झौतामाथि सहमत हुन विफल भएपछि जून २०१५-मा बीबीआईएन-का चारै सदस्यहरू हाल अस्तित्वमा रहेको परिवहन नेटवर्कलाई जोड्न र उनीहरूबीच बाधाहीन सम्पर्कता प्रदान गर्ने नयाँ नेटवर्कहरूको निर्माण गर्न सहमत भएका थिए। भारत, नेपाल तथा बाङ्गलादेशले बीबीआईएन-लाई अनुमोदन गरेतापनि भूटानले यसलाई अनुमोदन गर्नु बाँकी नै छ। आफ्नो नेशनल एसम्बलीका सदस्यहरूद्वारा पर्यावरणसम्बन्धी चिन्ताहरू व्यक्त गरेपछि थिम्पुले सन्धीको अनुमोदन निम्ति अझ बढी समय मागेको छ। भूटान बैठकहरूमा एक पर्यवेक्षकको रूपमा उपस्थित हुन जारी रहेको छ।

क्षेत्रका मुलुकहरूबीच अनेक द्विपक्षीय सम्पर्कता परियोजनाहरूको योजना बनाइँदैछ वा कार्यान्वयन गरिँदैछ। सडक सञ्जाल विकसित गर्न, मीटर गेज रेलवे ट्र्याकलाई ब्रड गेजमा परिणत गर्न तथा सन् १९६५ अघि अस्तित्वमा रहेको सम्पर्कता नेटवर्क पुनर्स्थापित गर्न भारतले छिमेकी मुलुकहरूलाई ऋण सहुलियत प्रदान गरेको छ। भारतले नेपाललाई भारतीय रेलवेसँग जोड्ने रेलवे लाइनहरू विकसित पनि गरिराखेको छ र काठमाडौँसम्म बाधाहीन तेलको आपूर्तिका लागि पेट्रोलियम पाइपलाइनको निर्माण गर्दैछ। भारत तथा भूटना सडक नेटवर्कमार्फत अघिबाटै जोडिएको छ। यस्ता सम्पर्कता नेटवर्कको मुख्य उद्देश्य व्यापार र जन-जन बीचको सम्पर्कलाई सुगम बनाउनु हो। अन्तत: प्रस्तावित उप-क्षेत्रीय परिवहन नेटवर्क एसियाली हाइवे र रेल नेटवर्कसँग जोडिनेछ फलस्वरूप एकीकृत परिवहन करिडोर निर्मित हुनेछ। भारतले कलादान मल्टिमोडल परियोजना र त्रिपक्षीय हाइवे पनि विकसित गरिराखेको छ जसले भारतलाई म्याँमार र थाइल्यान्डसँग जोड्नेछ।

बीबीआईएन उपक्षेत्रीय नेटवर्क भू-राजनीतिमा एक खेल परिवर्तक बन्न सक्छ किनभने यसले दक्षिण एसियाको सीमान्त क्षेत्रलाई आर्थिक रूपमा जोड्दछ। भारतको उत्तर पूर्वी क्षेत्रको विकास बाँकी नै छ; नेपाल र भूटानले भारतको उत्तर-पूर्वी राज्यहरूमार्फत बाङ्गलादेशस्थित निकटतम बन्दरगाहहरूसम्म आफ्नो पहुँच बनाउन सक्छ। ढाकाले यस सम्पर्कता नेटवर्कलाई भूपरिवेष्टित नेपाल र भूटानसँग व्यापार सम्बन्ध सुधार्नका लागि प्रयोग गर्ने सम्भावना छ। प्रत्येक प्रस्तावित मार्गहरूको सफल परीक्षण सञ्चालन पूरा भइसकेको छ।

बीबीआईएन उपक्षेत्रीय सहयोगअन्तर्गत बिजुली व्यापारका लागि तीन मुलुकहरूले आफ्ना ग्रीडहरू एक-अर्कासँग जोड्ने निर्णय गरेका छन्। भारत र बाङ्गलादेशले बिजुलीको व्यापार पहिल्यैदेखि गरिराखेको छ। ग्रीड कनेक्शनको उपयोग गरी बाङ्गलादेशमा लगभग ६६० मेगावट बिजुली आपूर्ति गरिन्छ तथा आगामी वर्षहरूमा थप १००० मेगावट बिजुली आपूर्ति गर्न भारत सहमत भएको छ। भारतले नेपाल र भूटानमा आफ्नो जलविद्युत परियोजनाहरूमा बाहेक बाङ्गलादेशमा रामपाल बिजुली संयन्त्रमा लगानी गरिराखेको छ। बाङ्गलादेशले अब भूटानको जलविद्युत परियोजनामा लगानी गरी उत्पादित बिजुलीलाई भारत-भूटान ग्रीड कनेक्टिभिटिको प्रयोगमार्फत स्थानन्तरण गर्ने निर्णय गरेको छ। उस्तैगरि बाङ्गलादेशले हाल सञ्चालनमा रहेको भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बिजुली निर्यात गर्नेछ। यस्ता व्यापारको सञ्चालनलाई अनुमति प्रदान गर्न भारतले आफ्नो सिमाना वारिपारिको बिजुली व्यापार मस्यौदामा संशोधन गरिसकेको छ। यस्ता उपक्षेत्रीय ग्रीड कनेक्टिभिटिले क्षेत्रीय ऊर्जा आवश्यकतालाई सुरक्षित राख्दछ।

क्षेत्रीय सहयोगको एक सफल वाहकको रूपमा आफैलाई रूपान्तरित गर्ने प्रचुर क्षमत बीबीआईएन-सित रहेको छ। बहुमोडल मोटर वहान सम्झौतासँगै सिमानामा व्यापार सुगमता पनि सामेल रहेको परिवहन सम्पर्कता, बाधाहीन पारगमनका लागि अति नै महत्त्वपूर्ण छ। मुक्त व्यापार, व्यापारको विस्तारित परिधि अनि गैरशुल्क बाधाको निराकरणले पूर्वी दक्षिण एसिया उपक्षेत्रको अर्थव्यवस्था रूपान्तरण गर्ने दिशामा लामो दूरी तय गर्नेछ।

आलेख: डक्टर स्म्रुति एस पटनायक, दक्षिण एसिया मामिलासम्बन्धी सामरिक विश्लेषक

अनुवादक एवम् वाचक: प्रणय सुब्बा