आईएनएफ सन्धिलाई लिएर रसिया र अमेरिका बीच विवाद

अक्टोबर २०१८-मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्गटन ‘इन्टरमिडिएट रेञ्ज न्यूक्लियर फोर्सेस ट्रिटी’ वा आईएनएफ सन्धिबाट बाहिरिँदै छ भनी उद्घोषणा गर्नुभएको थियो।

धरातलबाट प्रहार गर्नसक्ने मध्य-दूरीका प्रक्षेपास्त्रहरूमाथि प्रतिबन्ध लगाउन सन् १९८७-मा अमेरिकाका पूर्व राष्ट्रपति रोनाल्ड रिएगन तथा सोभियत संघका तत्कालीन महासचिव मिखेल गोर्बाशेभले यो सन्धिमा हस्ताक्षर गर्नुभएको थियो। सन्धिअन्तर्गत प्रतिबन्धित प्रक्षेपास्त्रहरू विकसित गरेर रसियाले सन्धिको उल्लंघन गरेको दाबी संयुक्त राज्य अमेरिकाले गरेको छ। अमेरिकाले यो सन्धिबाट बाहिरिने प्रक्रिया फेब्रुअरी २०१९-देखि सुरु गर्ने छ अनि यदि सन्धिका नियमहरू पूर्णरूपमा पालन गर्न रसिया विफल भए, अगस्ट महिनासम्ममा अमेरिका सन्धिबाट पूर्णतया बाहिरने छ।

ओबामा र ट्रम्प प्रशासन, दुवैले साथै नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन (नेटो)-का नेताहरू र पश्चिमी सैन्य विश्लेषकहरूले, रसियाले आईएनएफ सन्धिको उल्लंघन गरिराखेको छ भनी बताएका छन्। उनीहरू भन्छन् विशेषगरि ‘नोभेटर’ 9M729 क्रूज प्रक्षेपास्त्रले सन्धिको उल्लंघन गरेको छ, जुन आरोपलाई मस्कोले ठाडै नकार्दछ। प्रतिक्रियामा क्रेमलिनले भनेको छ, युरोपमा अमेरिकाले आफ्नो प्रक्षेपास्त्र रक्षा प्रणाली राखेर सन्धिको हेलचेक्र्याइँ गरिराखेको छ। यस दाबीलाई वाशिङ्गटनले खारेज गरिदिएको छ।

विशेषज्ञहरूअनुसार, रसिया अमेरिकाको विविध थरिका हात-हतियारहरूसित प्रतिस्पर्धा गर्न असमर्थ रहेको हुनाले अमेरिकाको मुकाबिला गर्नका लागि आफ्नो सैन्य क्षमता बढाउन रसियाले धरातल आधारित प्रक्षेपास्त्रहरू विकसित गर्ने मनसा बनाएको छ। अरूहरूले यो महसूस गरेका छन् कि संयुक्त राज्य अमेरिका यसकारण सन्धिबाट बाहिर निस्किन खोजिरहेको छ किनभने चिनियाँ सेनाको मध्य-दूरीको प्रक्षेपास्त्र क्षमता बढेको-बढेकै छ, जो आईएनएफ सन्धिको दायराबाट बाहिर रहेको छ। यस सन्धिले चिनियाँ प्रक्षेपास्त्रहरू विरुद्ध उनीहरूको प्रतिक्रियालाई सिमित पारिदिएको अमेरिकाले बताएको छ।

संयुक्त राज्य अमेरिकाले रसिया र चीनलाई प्रतिस्पर्धी र खतराको रूपमा हेर्ने गरेको हुनाले सन्धिबाट बाहिरिनु पर्छ भन्ने माग अमेरिकामा बढेको छ। रसियाली राष्ट्रपति पुटिनले चेतावनी दिँदै भन्नुभएको छ कि यदि अमेरिकाले सन्धिबाट बाहिरने निर्णय गरी युरोपमा मध्य-दूरीका प्रक्षेपास्त्रहरू राख्दछ भने, रसिया प्रतिक्रियात्मक उपायहरू अपनाउन बाध्य हुनेछ। सन्धिबाट बाहिरिने अमेरिकाको निर्णयले वैश्विक हतियार नियन्त्रणको दिशामा काम गर्ने आधार रसियालाई प्राप्त भएको छ। रसियाले भनेको छ कि सन्धि बचाउनका लागि अमेरिकासित काम गर्न उ इच्छुक छ र चीन जस्ता अन्य राष्ट्रहरूलाई सन्धिमा सामेल गर्ने दिशामा उसले काम गर्ने छ। वाशिङ्गटनलाई मनाउनका लागि सहायता गर्न रसियाले अमेरिकाका युरोपेली सहयोगीहरूलाई पनि आह्वान गरेको छ। रसियाविरुद्ध उल्लंघनका आरोपहरूलाई युरोपेली नेताहरूले समर्थन गरेतापनि सन्धि टुटेको उनीहरू चाहदैनन्। यसले अकस्मात् हुनसक्ने परमाणु युद्धको मानदण्ड घटाउने छ भन्ने डर उनीहरूमा उत्पन्नभएको छ। भौगोलिक रूपमा उनीहरू अमेरिका र रसियाको बीचमा अवस्थित भएको हुनाले, उनीहरू ती प्रक्षेपास्त्रहरूको प्रहार दूरीभित्र पर्दछन् जुन प्रक्षेपास्त्रहरू आईएनएफ सन्धिअन्तर्गत प्रतिबन्धित छन्। संयुक्त राज्य अमेरिका र रसियाले मध्य-दूरीका प्रक्षेपास्त्रहरू बनाउन सुरु गरे, युरोपेली संघका लागि अस्थिरता र असुरक्षाका जोखिमहरू बढ्ने छन्।

आईएनएफ सन्धिको धरासय, नयाँ सामरिक हतियार कम पार्ने वार्तामाथि वार्तालाप गर्ने अनिइच्छुकता साथै अमेरिकी प्रशासनले पेन्टागनलाई अन्तरिक्ष ओपरेशनका लागि एकीकृत युद्धशील कमान निर्माण गर्न दिएको आदेशले गर्दा अन्तरिक्षमा परमाणु हतियारको खतरा बढाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी अन्तरिक्ष बल निर्माण गर्ने आदेश वास्विकतामा पूरा भए, अन्तरिक्षमा परमाणु हतियार प्रतिबन्धित गर्ने एउटा सन्धिको सङ्केत दिँदै रसियाली कुटनीतिज्ञ र राजनीतिज्ञहरूले चेतावी दिएका छन्।

आईएनएफ सन्धिमाथिको बहसले युरोप र एसियामा मध्य-दूरीका प्रक्षेपास्त्रहरूको तैनाथी र विकास तथा रसिया र अमेरिकाको अगुवाइमा रहेको हतियार नियन्त्रण धरासय हुनदेखि कसरी रोक्न सकिन्छ भन्ने कुराबारे प्रश्नहरू तेर्साएको छ। आईएनएफ सन्धिको भावी घटनाक्रम, हतियार नियन्त्रक र रणनीतिज्ञहरूका निम्ति वैश्विक हतियार नियन्त्रणको नयाँ ढाँचा निर्माण गर्नका लागि जागरूक हुने एउटा आह्वान हो।

भारतले यही आशा गर्दछ कि वर्तमान संकट समाप्त गर्न वाशिङ्गटन र मस्कोमा सद्बुद्धि आओस्। भारत परमाणु हतियारमाथि पूर्ण प्रतिबन्धको एक समर्थक रहिआएको छ। विकसित मुलुकहरूलाई यस विषयमाथि सर्वसम्मति बनाउने र वैश्विक तनाव कम गर्ने आवश्यकता छ।

आलेख: डक्टर स्तुति ब्यानर्जी, अमेरिकासम्बन्धी मामिलाकी सामरिक विश्लेषक

अनुवाद एवम् वाचन: प्रणय सुब्बा