भारत र किर्गिजस्तान विकासशील साझेदारी मजबुत पार्दै

भारत र किर्गिजस्तानको बढ्दो द्विपक्षीय संलग्नतालाई मजबुत पार्न र नयाँ दिशा दिनका लागि किर्गिज गणराज्यका विदेश मन्त्री चिङ्गिज अज्मातोविच ऐदरबेकोभ भारतको आफ्नो पहिलो आधिकारिक भ्रमणमा आउनुभएको थियो। विदेश मन्त्री ऐदरबेकोभले उपराष्ट्रपति एम. वेंकैया नायडु र वित्त राज्य मन्त्री शिव प्रताप शुक्लालाई भेट्नुभयो। उहाँले एउटा कारोबार मञ्चलाई सम्बोधन गर्नुभयो र भारतकी परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजसित शिष्टमण्डलीय स्तरको वार्ता गर्नुभयो।

दुई मन्त्रीहरूले आपसी हितका द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय विषयहरूमाथि विस्तारपूर्वक छलफल गर्नुभयो। वार्तामा छलफलको मुख्य विषय आर्थिक सहयोग तीव्र पार्ने तरिकाहरू खोज्नु रहेको थियो भने रक्षा, प्रशिक्षण, आईटी, ई-गवर्नेन्स, स्वास्थ्यसेवा, औषधी, पर्यटन, चलचित्र निर्माण तथा संस्कृतिमाथि पनि छलफल गरियो। दुवै पक्षले उनीहरूका समाजका आतङ्कवाद र कट्टरवादद्वारा उत्पन्न खतरामाथि गम्भीर चिन्ता व्यक्त गरे। उनीहरू यो खतरासित एकजुट भइ लड्न र कट्टरवाद निर्मूलनको क्षेत्रमा आफ्ना अनुभवहरू साझा गर्न सहमत भएका छन्।

किर्गिजस्तानका विदेश मन्त्रीले दुवै मुलुकका शिक्षण संस्थाहरू बीच सहकारितालाई बढुवा दिइ शिक्षाको क्षेत्रमा सहयोग बढाउन सक्ने सम्भावनालाई रेखाङ्कित गर्नुभयो। यस सन्दर्भमा, उहाँले किर्गिजस्तानका विभिन्न शिक्षण संस्थाहरूमा ९,००० भारतीय विद्यार्थीहरू अध्ययनरत रहेको उल्लेख गर्नुभयो। उहाँहरूले राष्ट्र संघ र शाङघाइ सहयोग संगठन (एससीओ)-मा सहयोग गर्नबारे पनि छलफल गर्नुभयो। किर्गिजस्तानले जून २०१९-मा आगामी एससीओ शिखर सम्मेलनको आयोजना गर्नेछ जसमा भारतले पूर्ण सदस्यको रूपमा भाग लिनेछ। विदेश मन्त्री ऐदरबेकोभले भारतीय प्रधान मन्त्री र परराष्ट्र मन्त्रीलाई आगामी एससीओ शिखर सम्मेलनमा आमन्त्रित गर्नुभएको छ।

भारत र किर्गिजस्तानले उत्कृष्ट राजनीतिक सम्बन्ध साझा गर्दछ; यद्यपि यस साझेदारीको आर्थिक पक्ष कमजोर रहिआएको छ। द्विपक्षीय व्यापारको आकडा, मजबुत राजनीतिक सम्बन्ध अनुरूप रहेको छैन। द्विपक्षीय व्यापार २०१६-१७-मा २ करोड ४९ लाख ८० हजार डलर रहेको थियो। किर्गिजस्तानमा भारतको निर्यात २ करोड २६ लाख ६० हजार डलर रहेको थियो भने भारतमा किर्गिजस्तानको निर्यात २३ लाख २० हजार डलर रहेको थियो। श्री ऐदरबेकोभको भ्रमणलाई दुई मुलुकहरू बीच व्यापार एवम् आर्थिक सहयोग मजबुत पार्ने दिशामा एक महत्त्वपूर्ण पाइलोको रूपमा हेर्न सकिन्छ। विदेशी लगानी भित्र्याउन किर्गिजस्तानले हालैमा आफ्नो अर्थव्यवस्थालाई उदार बनाएको छ जसले गर्दा भारतीय कम्पनीहरूका निम्ति किर्गिजस्तानमा कारोबार गर्ने अवसर बढेको छ। श्री ऐदरबेकोभले किर्गिजस्तानमा रेलवे र जलविद्युत क्षेत्रलगायत नयाँ पूर्वाधार परियोजनाहरूमा लगानी गर्न र सहभागी बन्न भारतीय कम्पनीहरूलाई निम्त्याउनु भएको छ।

विदेश मन्त्री ऐदरबेकोभले अफगानिस्तान समेतको सहभागिता रहेको हालैको पहल भारत-मध्य एसिया विदेश मन्त्रीस्तरीय संवादको सराहना गर्नुभयो जो अगिल्लो महिना समरकन्दमा सम्पन्न भएको थियो। उहाँको विचारमा, यस संवादले क्षेत्रव्यापी सहयोगका लागि एउटा मञ्च प्रदान गर्नु मात्र होइन तर व्यापार र आर्थिक सहयोग बढाउन तथा बृहत सम्पर्कता स्थापित गर्न सबै सहभागी मुलुकहरूलाई मदत गर्ने छ। यो, समग्र क्षेत्रसित सम्बन्ध पुनरुत्थान गर्नमा भारतले दिएको योगदानलाई एक सराहना थियो। आगामी संवाद २०२०-मा भारतले आयोजना गर्ने छ।

नयाँ दिल्लीले सबै मध्य एसियाली साझेदारहरूसित बृहत साझेदारी स्थापित गरेको छ। विगत साढे चार वर्षमा, यस क्षेत्रसम्बन्धी भारतको नीति राजनीतिक, आर्थिक र सामरिक सम्बन्धलाई गति दिने उद्देश्यका साथ ‘कनेक्ट नर्थ’ पट्टि अग्रसर भएको छ। नयाँ भू-राजनीतिक परिवर्तनहरूले युरेसियाली क्षेत्रलाई आकार दिइराखेको परिप्रेक्ष्यमा भारत यस क्षेत्रसित अर्थपूर्ण साझेदारी स्थापित गर्न तयार रहेको छ। २०१५-मा प्रधान मन्त्री मोदीद्वारा गरिएको पाँच मध्य एसियाली गणराज्यहरूको एकपछि अर्को लगातार भ्रमणबाट मध्य एसियाली गणराज्यहरूसित एउटा नयाँ समीकरण स्थापित भएको छ, जो अर्ध शताब्दीको समयावधिमा कुनै एक भारतीय प्रधान मन्त्रीको पहिलो भ्रमण थियो। भारतले मध्य एसियासित आफ्नो सम्बन्ध पुनरुत्थान गर्न चाहेको छ। यो क्षेत्र केवल एक सभ्यता होइन तर यसको भूराजनीतिक र आर्थिक महत्त्व पनि छ।

भारतको मध्य एसिया नीतिमा किर्गिजस्तानलाई धेरै महत्त्व दिइएको छ। सन् १९९१-मा किर्गिज गणराज्यको स्वाधीनता पश्चात यो मुलुकसित कुटनीतिक सम्बन्ध स्थापित गर्ने पहिलो मुलुकहरूमा भारत पनि थियो। भारतले किर्गिजस्तानसित कुटनीतिक सम्बन्ध सन् १९९२-मा स्थापित गरेको थियो। यतिका वर्षहरूमा, दुवै मुलुकले आफ्नो सामरिक साझेदारी मजबुत पार्ने दिशामा व्यापक काम गरेका छन् जसमा सहयोगका विविध क्षेत्रहरू सामेल छन्। साझेदारी मजबुत पार्न दुवै पक्षमा रहेको रुचि र इच्छालाई ध्यानमा राख्दा, विदेश मन्त्री ऐदरबेकोभको भ्रमणबाट द्विपक्षीय सम्बन्धले नयाँ गति प्राप्त गर्ने सम्भावना रहेको छ।

आलेख: मध्य एसियासम्बन्धी सामरिक विश्लेषक, डक्टर मीना सिंह राय

अनुवाद एवम् वाचन: प्रणय सुब्बा