पाकिस्तानको खोक्रो प्रयास

पाकिस्तानका प्रधान मन्त्री इमरान खानले पुलवामा हमलाको एक साता पछि पाकिस्तानको हात रहेको आरोपबाट बँच्ने प्रयास गर्नुभएको छ। हमलामा सिआरपिएफ-का ४० भन्दा धेरै भारतीय सैनिकहरू मारिए। विश्वको ध्यान यो घटनामा आकर्षित भएपछि पाकिस्तानी नेतृत्वबाट यसप्रकारको कमजोर बचाउ गरिएको छ।

पाकिस्तानले आतङ्कवादलाई आफ्नो मुलुकको नीतिमा साधनको रूपमा  प्रयोग गरिरहेको कुरा वैश्विक समुदायलाई राम्ररी थाहा छ। सबैभन्दा पहिले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पुलवामामा भएको बर्बर हमलाको निन्दा गर्नुभएको थियो। पी-५ मुलुकहरू पनि यस निन्दामा सामेल भए। तथापि चीनले आफ्नो सामरिक हितका लागि घातक हमलामा देखाउनका लागि मात्र जैश-ए-मोहम्मदको नाम  लियो।

भारतको परराष्ट्र मन्त्रालयले श्री इमरान खानको सम्बोधनको कडा प्रतिक्रिया दिएको छ। उहाँको हरेक कथनको भारतले कडा खण्डन  गरेको छ। नयाँ दिल्लीले भनेको छ, पाकिस्तानका प्रधान मन्त्रीद्वारा पुलवामामा भारतीय सुरक्षा बलमाथि भएको हमलालाई आतङ्कवादी कारबाही स्वीकार नगरिनु भारतको लागि नौलो कुरा होइन। पाकिस्तानका प्रधान मन्त्रीले यस जघन्य कारबाहीको न निन्दा गर्नुभयो न  संतप्त परिवारप्रति शोकनै व्यक्त गर्नुभयो।

आतङ्की हमलामा पाकिस्तानको कुनै सम्बन्ध नभएको दाबी गर्नु पाकिस्तानद्वारा पटक-पटक दोहोऱ्याइने बहाना हो। पाकिस्तानी प्रधान मन्त्रीले यस जघन्य अपराधका लागि  जैश-ए-मोहम्मद र आतङ्कवादीद्वारा गरिएका दावीहरूको बेवास्ता गर्नुभएको छ । जैश-ए-मोहम्मद र यसको नेता महसूद अजहर पाकिस्तानमा रहेको कुरा सर्वविदित छ। कुनै पनि कारबाही गर्न पाकिस्तानका लागि  यही प्रमाण  पर्याप्त हुनुपर्छ।

भारतले अझ भनेको छ, पाकिस्तानका प्रधान मन्त्रीले भारतद्वारा प्रमाण पेश गरिएको खण्डमा मामिलाको जाँच गरिने प्रस्ताव राख्नुभएको छ। यो एक बहाना हो। २६/११-को मुम्बईमा भएको भिषण हमलामा पाकिस्तानलाई प्रमाण उपलब्ध गराइएको थियो। तर  १० वर्ष बितिसक्दा पनि यो मुद्दा अगाडि बढेन। यसरी नै पठानकोट एयरबेसमा भएको आतङ्की हमलाको जाँचमा पनि प्रगति भएन। पाकिस्तानका पछिल्ला रेकर्डहरू हेर्दा निश्चित कारबाहीको वाचा खोक्रो देखिएको छ।

श्री खानले एक नयाँ सोचका साथ “नयाँ पाकिस्तान”-को उल्लेख गर्नुभएको थियो। यस “नयाँ पाकिस्तान”-मा वर्तमानको पाकिस्तानी सरकारका मन्त्रीहरूले हाफिज सईद जस्ता आतङ्कीहरूका साथ सार्वजनिक रूपले मञ्च साझा गर्दछन् जुन आतङ्कीहरू राष्ट्रसंघद्वारा प्रतिबन्धित छ।

पाकिस्तानी प्रधान मन्त्रीले वार्ताको आह्वान गर्नुभएको छ र आतङ्कवादबारे कुराकानी गर्न आफू तयार रहेको बताउनुभएको छ। भारतले आतङ्क र हिंसाबाट मुक्त वातावरणमा व्यापक द्विपक्षीय वार्तामा सामेल हुन तयार रहेको पटक-पटक बताउँदै आएको छ।

पाकिस्तानले आफ्नो मुलुक आतङ्कवादको सबैभन्दा धेरै शिकार भएको दाबी गरेको छ। यो कुरा वास्तविकताबाट धेरै टाडा छ। अन्तर्राष्ट्रिय समुदाय पाकिस्तान आतङ्कवादको केन्द्र हो भन्ने वास्तविकताबाट राम्ररी परिचित छ।

पाकिस्तानी प्रधान मन्त्रीले आतङ्की हमलामा भारतको प्रतिक्रिया आगामी लोकसभा चुनाउद्वारा निर्धारित हुनेछ भन्ने कुरामा जोड दिनु दुःखको कुरा हो। भारतले यस झुटो आरोपको कडा खारिज गरेको छ। भारतको लोकतन्त्र विश्वका लागि एक आदर्श हो जसलाई पाकिस्तानले कहिलेपनि बुझ्ने छैन।

विश्वले पाकिस्तानी लोकतन्त्रलाई राम्ररी बुझेको छ र यो मुलुक अस्तित्वमा आएको आधा भन्दा धेरै समयसम्म सेनाको शासनमा थियो। पाकिस्तानमा लोकतान्त्रिक बल अझ पनि आफ्नो खुट्टामा उभिन सकेको छैन। यहाँ यो कुराको उल्लेख गर्नु उचित हुनेछ कि पाकिस्तानका वर्तमान प्रधान मन्त्रीलाई पाकिस्तानी सेनाले समर्थन दिइरहेको छ।

पाकिस्तानको राजनीतिक नेतृत्वले मुलुकको विदेश र सामरिक नीतिहरूबारे  बोल्नुहुन्न। भारतका साथ सम्बन्ध रावलपिन्डीमा जनरल मुख्यालयद्वारा बताइएको रणनीतिमाथि निर्भर छ। श्री इमरान खानले आफ्नो आन्तरिक स्थितिलाई हेरेर मात्र उपदेश दिनु राम्रो हुनेछ।

फ्रान्स र ब्रिटेनको नेतृत्त्वमा अन्तर्राष्ट्रिय समुदायले जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरलाई एक ‘वैश्विक आतङ्की ’ घोषित गर्नका लागि राष्ट्र संघ महासभामा एक प्रस्तावलाई अगाडि बढाउने दिशामा काम गरिरहको छ। पाकिस्तानको निकट सहयोगी सऊदी अरबले समेत अन्य मुलुकहरू विरूद्ध आतङ्कवादको प्रयोगलाई अस्वीकार गर्न, आतङ्कीहरू बस्ने ढाँचाहरूलाई नष्ट गर्न र आतङ्कीहरूलाई सबै प्रकारको सहयोग र वित्तपोषण बन्द गर्न सबै मुलुकहरूसँग आह्वान गरेको छ।

पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई भडकाउनु हुँदैन र उसको भूभागबाट सञ्चालित आतङ्की गुटहरू र अन्य आतङ्कीहरू तथा पुलवामा आतङ्की हमलाका षडयन्त्रकारीहरू विरूद्ध विश्वसनीय र देख्न सकिने कारबाही गर्नुपर्ने यो  सही समय रहेको छ।

आलेखः सामरिक मामिलाका विश्लेषक कौशिक रॉय

अनुवाद एवम् वाचनः रञ्जना खवास