भारत-साऊदी अरब सम्बन्धहरू बढोत्तरीको दिशामा

साऊदी अरबका युवराज मोहम्मद बिन सलमानले यसै साता गर्नुभएको भारत यात्राबाट भारत-सऊदी सम्बन्धहरूमा एउटा नयाँ गतिशीलताको संकेत पाइन्छ। ठूलो प्रतिनिधिमण्डल सहित भारत यात्रामा आउनु भएको युवराज मोहम्मद बिन सलमानले पुलवामामा भएको आतङ्कवादी हमलापछि भारतीय संवेदनशीलतालाई ध्यानमा राखेर इस्लामाबादबाट सोझै नयाँ दिल्ली नआउने निर्णय गर्नुभएको थियो। साऊदी युवराजले राष्ट्रपति रामनाथ कोविन्दसित भेटघाट गर्न साथै प्रधान मन्त्री मोदीसित प्रतिनिधिमण्डल स्तरको वार्ता  गर्नुभयो। उहाँले  परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजसित पनि भेटवार्ता गर्नुभयो।

दुवै मुलुकद्वारा जारी गरिएको एउटा संयुक्त वक्तव्यमा आतङ्कवाद विरूद्ध मुकाबिला र रणनीतिक निवेश वृद्धि गर्नमा सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। प्रधान मन्त्री नरेन्द्र मोदीले भारतले झेल्नु परेको सीमापार आतङ्कवादको समस्यालाई टडकारो पार्नुभयो। संयुक्त वक्तव्यमा भनिएको छ, “आतङ्कवादीहरू र आतङ्कवादका समर्थकहरूले अन्तर्राष्ट्रिय समूदायबाट चापको सामना गर्नु पर्नेछ।” यसै भावनालाई व्यक्त गर्दै युवराज सलमानले खुफिया जानकारीहरू साझा गर्ने लगायत आतङ्कवाद विरूद्ध मुकाबिलामा भारतसित सहकार्य गर्नमा साऊदी अरब तत्पर रहेको बताउनुभयो।

दुवै नेताहरूले भारत र साऊदी अरब बीचका वाणिज्यीक सम्बन्धहरूलाई बढाउने सम्भावनाहरूमाथि ध्यान दिनुभयो। मोहम्मद बिन सलमानले भन्नुभयो, भारत र साऊदी अरबका “ऊर्जा र कृषि क्षेत्रहरूमा लक्ष्यहरू समान रहेको छन् र यस भावनाको अन्य क्षेत्रहरूमा पनि विस्तार गरिने छ।” उहाँले अगाडी भन्नुभयो, व्यावसायिक सम्बन्धलाई “पेट्रोकेमिकल क्षेत्रमा समेत पुऱ्याएको छ” र साऊदी अरबले २०१६-यता भारतीय बजारमा ४४ अरब अमेरिकी डलरको निवेश गरेको छ। भारतीय प्रधान मन्त्री मोदीले भारत-साऊदी व्यावसायीक सम्बन्धहरूमा भएको उल्लेखनीय वृद्धिमाथि प्रकाश पार्नुहुँदै भन्नुभन्यो, भारतमा साऊदी रणनीतिक निवेशलाई सुविधा पुऱ्याउन एउटा औपचारिक व्यवस्था कायम गर्न प्रति पनि दुवै पक्षले सहमति व्यक्त गरेका छन्। ‘साऊदी परिकल्पना २०३०’: र ‘मेक इन इन्डिया’ तथा ‘स्टार्ट अप इन्डिया’ कार्यक्रमहरू अन्तर्गत गरिएका आर्थिक सुधारहरू एकार्काको परिपुरक रहेको कुरामाथि उहाँले बल दिनुभयो।

भारत र साऊदी अरबले पाँच सम्झौताहरूमा हस्ताक्षर गरे जसमा भारतले २०१५-मा स्थापित गरेको राष्ट्रिय निवेश एवम् पूर्वाधार कोषमा निवेशमाथिको एउटा सहमति पत्र समेत सामेल छ। एउटा अर्को सहमति पत्रको सम्बन्ध पर्यटनको क्षेत्रसित रहेको छ भने, तेस्रो सहमति पत्र आवास क्षेत्रमा हस्ताक्षर गरिएको छ। राजनीति, सुरक्षा र अर्थव्यवस्था लगायत विभिन्न क्षेत्रका द्विपक्षीय सम्बन्धहरूमा भएको प्रगतिमाथि निगरानी निम्ति “रणनीतिक साझेदारी परिषद” गठन गर्न पनि दुवै पक्षहरू सहमत भएका छन्।

सन् २००६-मा साऊदी अरबका शाह अब्दुल्लाहले भारतको गणतन्त्र दिवस समारोहमा मुख्य अतिथिको रूपमा नयाँ दिल्लीको भ्रमण गर्नु भएपछि देखि नै रियाद र नयाँ दिल्ली बीच घनिष्ट द्विपक्षीय सम्बन्धहरू विकसित भएका छन्। उक्त ऐतिहासिक यात्रा दौरान गरिएको ‘दिल्ली घोषणा’ र सन् २०१६-को ‘रियाद घोषणा’ बाट द्विपक्षीय सम्बन्धहरूले अझै सुदृढता प्राप्त गरेका छन्। प्रधान मन्त्री नरेन्द्र मोदीले २०१६-मा गर्नुभएको यात्रा, द्विपक्षीय सम्बन्धहरूलाई सुदृढ तुल्याउने क्रममा कोशे ढुङ्गा साबित भएको थियो र यसको मुख्य बल आतङ्कवादको प्रतिकार र रणनीतिक निवेशहरूमाथि रहेको थियो। यसैको परिणाम स्वरूप २०१६ यता साऊदी अरबद्वारा गरिने सोझो विदेशी निवेश तथा आतङ्ककारी गतिविधिहरूको रोकथाम निम्ति गरिने गोप्य सूचनाको आदान-प्रदानमा उल्लेख्य वृद्धि भएको छ।

सन् २०१४-को मई महिना यता प्रधान मन्त्री मोदीले शाह सलमान र युवराज मोहम्मद बिन सलमानसित अनेकौं पल्ट भेटघाट गरि सक्नुभएको छ। श्री मोदी र युवराज मोहम्मद बीच नोभेम्बर २०१८-मा ब्युनोस एयर्समा सम्पन्न जी-२० शिखर सम्मेलन चलिराखेको बेलामा समेत भेटघाट भएको थियो। द्विपक्षीय यात्राहरूको सघन विनिमय तथा विचारहरूको आदान-प्रदान र पारस्परिक हितका विषयहरूबारे चर्चा गर्न बहुराष्ट्रिय मञ्चहरूको प्रयोगबाट पनि नयाँ दिल्ली र रियाद बीच असल राजनीतिक समझदारीको दिशामा योगदान पुगेको छ।

बढ्दो राजनीतिक सम्बन्धता र रणनीतिक सहयोगको परिणाम स्वरूप साऊदी अरब पश्चिम एसियामा भारतको प्रमुख साझेदारको रूपमा प्रकट भएको छ। यो अधिराज्य भारतको कच्चा तेलको प्रमुख श्रोत मात्र होइन अपितु विश्वमा सबैभन्दा धेरै भारतीय मूलका मानिसहरूको बसोबास भएको विदेशी मुलुक पनि हो। यो भारतको चौथो सबैभन्दा ठूलो व्यापार साझेदार र भारतीय बजारमा निवेशको लागि इच्छुक रहेको मुलुक पनि हो। यो मुलुक आतङ्कवाद विरूद्ध भारतको लडाईँको समर्थक हुनका साथै यसले दक्षिण एसियामा एउटा क्षेत्रीय शक्तिको तवरमा भारतको ओहोदालाई पनि स्वीकार गर्छ। यीनै कारणहरूले गर्दा नै प्रधान मन्त्रीले साऊदी अरबलाई २१-औं शताब्दीमा भारतका बहुमूल्य रणनीतिक साझेदारहरू मध्ये एकको रूपमा वर्णन गर्नुभएको हो।

आलेखः पश्चिम एसियामा सामरिक विश्लेषक, ड. मोहम्मद मुद्दास्सिर कमर

अनुवाद एवम् वाचनः  महेन्द्र नाथ उपाध्याय