भारतको सामरिक सोचमा युरोपलाई थप प्राथमिकता

भारतले युरोपलाई नौलो तरिकाले प्रमुखता दिने प्रयोजनका लागि बनाएको योजनाको अंशस्वरूप परराष्ट्र मन्त्री सुषमा स्वराजले भर्खरै बुल्गेरिया र स्पेनको भ्रमण गर्नुभयो। हालै भएको राष्ट्रपति रामनाथ कोविन्दको सफल सोफिया यात्रा र प्रधान मन्त्री नरेन्द्र मोदीको म्याड्रिड भ्रमणपछि श्रीमती स्वराजले गर्नुभएको यो यात्रालाई भारतको सामरिक राष्ट्रिय सोचमा युरोपलाई अझ बढी प्राथमिकता दिने भारतको सर्वाङ्गीन रणनीति झल्काएको छ।

भारतका लागि युरोप र एसियाका बिचमा रहेको अति महत्त्वपूर्ण भौगोलिक स्थिति र भूमध्य सागर क्षेत्रमा पर्नुका साथै नेटोका सदस्यसमेत रहेका बुल्गेरिया र स्पेनसँग बहुआयामिक सम्बन्धहरू स्थापित गर्नुले धेरै सम्भावना खोल्ने छ भन्ने कुरा उल्लेख गर्न सकिन्छ। युरोपेली संघका सदस्य देशहरू भएकाले यी देशहरूले भारत जस्ता साझेदारलाई युरोपेली बजारहरूमाथि पहुँच राख्न दिनु मात्र नभई युरोपेली संघको कुटनैतिक पकड, आर्थिक क्षेत्रको विशेषज्ञता र अत्याधुनिक प्रविधि प्राप्त गर्ने दिशामा भारतलाई यो सङ्गठनभित्रका देशहरूसँग सकारात्मक सम्बन्धहरू स्थापित गर्न सघाउ पुऱ्याउने छ। श्रीमती स्वराजले बुल्गेरिया र स्पेनका आफ्ना समकक्षीहरूसँग गर्नुभएको कुराकानी, द्विपक्षीय साझेदारीमा सामरिक तथा आर्थिक विषयहरू थप्ने कुरामा केन्द्रित रहेको थियो। उक्त मञ्चलाई सशक्त बनाउने दिशामा भारतले लगातार हैंसे प्रदान गरिरहेको संस्थागत रवैयाकै अंशस्वरूप परराष्ट्र मन्त्रीले यी देशमा बसोवास गरिरहेका भारतीय समुदायहरूसँग पनि विचार विमर्श गर्नुभयो।

भारत र युरोपेली देशहरूको चासो विस्तृत विश्वव्यापी तथा द्विपक्षीय मामिलाहरूसम्म फैलिएको छ। दुवै पक्ष, विश्वको परिपाटीलाई बहुआयामिक तथा नियमहरूको पालनामा आधारित बनाउने प्रति सङ्कल्पबद्ध छन् र यसो गर्नुको खास सान्दर्भिकता भनेको, कैयौँ देशहरूले आफ्नै मात्र स्वार्थ पूरा गरी व्यापारको मार्गमा तगारो ठड्याउन कठोर अडान कायम गर्नाले भूमण्डलीकरणको क्षेत्रमा उत्पन्न भइरहेको असहमति नै हो। त्यसैले, भूमण्डलीकरणका फाइदाहरूलाई जगेडा गर्नुका साथै अन्तर्राष्ट्रिय व्यापारलाई अझ विस्तार गर्नु, दुवै पक्षको साझा उद्देश्य रहेको छ। यसका अतिरिक्त, डोनल्ड ट्रम्पको नेतृत्ववादी अमेरिकी प्रशासनले अटलान्टिक पारीय गठबन्धनमा व्यापक विभाजन सृष्टि गरिरहेको मध्यनजर युरोपेली संघले आफ्नै अगुवाइमा स्थापना गर्ने जमर्को गरिरहेको मञ्चमा आर्थिक दृष्टिले सकारात्मक अवस्थामा पुगेको देश भारतले विश्वस्तरमा अझ सकारात्मक भूमिक निर्वाह गर्ने आफ्नो महत्त्वाकांक्षालाई फलदायी बनाउने अवसर पाउन सक्ने छ।

यसैगरी, दुवै पक्षका लागि विश्वस्तरमा बहुआयामिक रवैया अपनाएर समाधान गर्नु पर्ने खाँचो भएका समस्याका रूपमा आतङ्कवाद, साइबर सुरक्षा, अवैध आब्रजन र जलवायु परिवर्तन जस्ता पारम्परिक तथा गैर पारम्परिक सुरक्षा जोखिमहरू यथावत छँदै छन्। बुल्गेरिया र स्पेनले हालै जम्मू कश्मीरको पुलवामामा भएको आतङ्की हमलाको निन्दा गर्नुका साथै राष्ट्रसंघको विस्तारित सुरक्षा परिषदमा भारतको दावेदारीलाई समर्थन गरेका छन्। सामरिक हितहरूको यो सहकार्य, भारतले  सोफिया र म्याड्रिडसँग जारी राखेको प्रतिरक्षा तथा सुरक्षासम्बन्धी समझदारी पत्रहरूमार्फत अझ स्पष्ट भएको छ।

सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पमा फँसेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा निकाल्ने कार्यमा नयाँ दिल्लीको भूमिकाको सह्रनी गर्दै स्पेनले श्रीमती स्वराजलाई ‘ग्रान्ड क्रस अफ दि अर्डर अफ सिभिल मेरिट’ प्रदान गर्नुले मानवीय सहायता तथा विपदाका बेला राहत उपलब्ध गराउने जस्ता विषयलाई  द्विपक्षीय सहयोगका हिस्सा बनाउने सम्भावनाहरूमाथि आलोकपात गर्दछ। बुल्गेरिया र स्पेनमा भारतीयता तथा योगको लोकप्रियता झल्काउने सांस्कृतिक आकर्षण, द्विपक्षीय सम्बन्धहरूका मजबुत जग बनिरहेका छन्। श्रीमती स्वराजले गर्नुभएको विचार विमर्शमा पर्यटन तथा जन-जन सम्पर्कलाई बढावा दिनका लागि यी सांस्कृतिक सम्बन्धहरूलाई मलजल गर्ने कुरा प्रमुखताका साथ उठेका थिए।

एकार्काका विशेज्ञताबाट लाभान्वित हुने पारस्परिक सहमतिका कारण भारत र युरोपेली देशहरू दीर्घम्यादी रूपमा आर्थिक सम्पर्कहरू स्थापित गर्ने अद्वितीय स्थितिमा पुगेका छन्। बुल्गेरिया र स्पेन, निजामति तथा सैन्य महत्त्वका नवोन्मेषी तथा अत्याधुनिक प्रविधि विकास गर्ने महारथी देश हुन् र उनीहरूको यो विशेषज्ञतामा, भारतीय अर्थव्यवस्थाको आधुनिकीकरण तथा एउटा ज्ञान आधारित समाज निर्माण गर्ने प्रधान मन्त्री नरेन्द्र मोदीको लक्ष्य पूरा गर्ने सम्भावनाहरू निहित छन्। त्यसैले स्मार्ट सहर, मेक इन इन्डिया, स्वच्छ भारत र सागरमाला जस्ता रूपान्तरणको लक्ष्य भएका भारतका परियोजनाहरूमा युरोपका कम्पनीहरू एक महत्त्वपूर्ण भूमिका निर्वाह गर्न समर्थवान देखिन्छन्। उनीहरूको सामर्थ्यले भारतलाई चौथो औद्योगिक क्रान्तिको मोडमा अघिल्लो पङ्क्तिमा खडा हुनमा मद्दत गर्न सक्छ। यता यी युरोपेली कम्पनीहरूका लागि आफ्नो भविष्य सपार्ने दिशामा भारतको विशाल बजार ठुलो कारक बन्न सक्छ। यसैगरी सूचना प्रविधि र फार्मासिउटिकलको क्षेत्रमा भारतको विशेषज्ञताले भारतीय कम्पनीहरूलाई युरोपेली बजारहरूमा आफ्नो छाप छोड्न मद्दत गर्न सक्छ। यी क्षेत्रमा हासिल गरिने थप कुनै पनि उपलब्धि, हाल पूर्ण रूपमा दोहन हुन नसकेको द्विपक्षीय सम्बन्धलाई अझ उचाइँमा लैजाने दिशामा सहायक साबित हुने छ। यी साझेदारीहरूको दायरा र महत्त्व अत्यन्त विशाल छ। श्रीमती स्वराजको यस भ्रमणले युरोपेली देशहरू र भारतबिचको सहयोगलाई नौलो उचाइँमा लैजाने भारतको रणनीतिलाई रेखाङ्कित गरेको छ।

आलेख: रक्षा अध्ययन तथा अनुसन्धान संस्थानका शोधसम्बन्धी विश्लेषक, राजोर्शी रॉय

अनुवादक एवम् वाचकः दीपक पौडेल