पूर्व कारबाही- पुलवामा हमलाको समुचित प्रत्युत्तर

भारतीय वायु सेनाले २६ फेब्रुअरी २०१९-को दिन एकाबिहानै नियन्त्रण रेखा पारी बालाकोट, चकोटी र मुजफ्फराबाद स्थित जैश-ए-मोहम्मदका शिविरहरूमा सफल हवाइ कारबाही गऱ्यो। भारतका विदेश सचिव वी के गोखलेले एक संवाददाता सम्मेलनमा बालाकोट हमलाबारे भन्नुभयो, यस कारबाहीमा धेरै संख्यामा जैश-ए-मोहम्मद आतङ्कीहरू, प्रशिक्षक, शीर्ष कमान्डर र जेहादीहरू मारिएका छन् जसलाई फिदायिन अर्थात् आत्मघाती हमलाका लागि प्रशिक्षित गरिएको थियो।

उहाँले आतङ्कवादको खतरासित लडनका लागि सबै आवश्यक उपायहरू गर्ने भारतको संकल्प पुनः दोहोऱ्याउनुभयो र यसलाई गैर-सैनिक पूर्व कारबाही बताउनुभयो जसमा विशेषगरी जैश-ए-मोहम्मद शिविरलाई लक्षित गरिएको थियो। तीन विशेष लक्ष्यहरूमा भारतीय वायु सेनाका १२ मिराज २००० विमानहरूद्वारा हमला गरिएको थियो जसमा लगभग ३ सय आतङ्कवादीहरू मारिएका छन्।

यो समुचित कारबाही १४ फेब्रुअरी २०१९-मा पुलवामा आत्मघाती हमलाका लागि भारतको जवाफ थियो जुन हमलामा सिआरपिएफ-का ४० भन्दा धेरै जवानहरू सहिद भएका थिए। पाकिस्तानको जैश-ए-मोहम्मदले यस हमलाको जिम्मेवारी लिएको थियो। यस घटनापछि पाकिस्तानको ग्लानिरहित आतङ्की कारबाहीलाई लिएर भारतमा पाकिस्तान विरूद्ध राष्ट्रिय स्तरमा आक्रोश उत्पन्न भयो। भारतले आफ्ना सहिद जवानहरूको शोक मनाइरहेको बेला पाकिस्तानबाट आएका प्रतिक्रियाहरूबाट असंवेदनशील र उदासीनताको आभास भयो किनकि हमलामा पाकिस्तानले आफ्नो कुनै हात नभएको बताएको थियो। जैश-ए-मोहम्मदले खुला रूपले हमलाको दाबी गरेको भएतापनि पाकिस्तानका प्रधान मन्त्री इमरान खानले यस आतङ्कवादी संगठन विरूद्ध कारबाही गर्नका लागि विश्वसनीय प्रमाणको माग गर्नु दुःखको कुरा हो।

भारतमा पुलवामा हमलाको दृढता र निर्णायक तरीकाले जवाफ दिनका लागि राष्ट्रिय सहमति भयो। भारतको जम्मू कश्मीरमा पाकिस्तानले निरन्तर आतङ्कवादको प्रायोजित गरिरहेकोमा भारतको आक्रोश र कुन्ठा व्यक्त गर्नका लागि सरकारद्वारा उचित जवाफ दिने निर्णयपछि सबै राजनीतिक पार्टीहरू एकजुट भए।

भारतीयहरूले बालाकोट कारबाहीलाई ‘सर्जिकल स्ट्राइक २.०’-को रूपमा स्वीकार गरिरहेको बेला पाकिस्तानले आश्चर्यजनक र स्वीकार गर्न नसकिने प्रतिक्रिया दिइरहेको छ। उरीमा निर्मम आतङ्की हमलापछि भारतले प्रथम सर्जिकल स्ट्राइक गरेको थियो। पाकिस्तानी सेनाका प्रवक्ता एवम् अन्तर सेना जन सम्पर्क विभाग, आईएसपिआर-का महानिदेशकले आफ्नो ट्विट सन्देश मार्फत पाकिस्तानी वायु सेनाले ठीक समयमा प्रभावी जवाफ दिएको बताएका छन्। तर पाकिस्तानमा काम गर्ने विदेशी मिडिया संगठनहरूले बालाकोट, चकोटी र मुजफ्फराबादमा भारतीय हवाई हमला भएको स्वीकारेका छन्। बिबिसि उर्दु समाचारले सबैभन्दा पहिले बालाकोट नजिक बस्ने केही वासिन्दाहरूसित कुराकारी गऱ्यो जसले हमलाको पुष्टि गरेका थिए।

तर आईएसपिआर-का महानिदेशकले दिएको जानकारीमा भारतीय वायुसेनाका विमानहरू तीन दिशातर्फ उडेको बताइएको छ। पहिलो विमान बहवालपुर, दोस्रो सियालकोट र तेस्रो गह्रौ विमान मुजफ्फराबादतिर उडेको बताइएको छ। महानिदेशका अनुसार तेस्रो विमानलाई पाकिस्तानको वायु सेनाले चुनौती दिएपछि भारतीय विमानले चार बमहरूको पेलोड खसालेर फिर्ता भयो र खैबर पख्तुनख्वा प्रान्त स्थित बालाकोटमा खस्यो।

यो कारबाहीले भारतीय सुरक्षा बलको कारबाही क्षमताको पुष्टि गरेको छ। भारतको जम्मू कश्मीर राज्यमा शान्ति खलबलाउन र नियन्त्रण रेखा नजिक आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा आतङ्की शिविरहरू निर्माण गर्नका लागि पाकिस्तानको गोप्य प्रयासलाई विफल पार्नका लागि गैर-सैनिक पूर्व कारबाही गरेर भारतीय सुरक्षा बलले यस कारबाहीबाट आफ्नो क्षमताको पुष्टि गरेको छ। यो कारबाही एकातिर पाकिस्तानी सेनाको परिचालन तत्परता र अर्कोतिर परमाणु विकास गरिरहेको दाबी विरूद्ध पनि थियो।

पुलवामा हमलापछि अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानी भूमिदेखि बाहिर सञ्चालित पाकिस्तान प्रायोजित आतङ्की गुटहरूद्वारा गरिने उक्साउने कारबाहीको जवाफ दिने भारतको अधिकारलाई मान्यता दिएकोले पाकिस्तानको छद्म युद्धलाई सक्रियताका साथ जवाफ दिनका लागि भारतको संकल्प र मनोबल बढेको छ।

अब पाकिस्तानले यस मामिलामा युद्धको आवाज उठाएर थप संकट बढाउनेछ कि भन्ने हेर्नु बाँकी छ। विश्वमा इस्लामाबादको छवी धमिलो पार्नमा भारतले चालेको पाइलामा एउटा ठूलो सफलता हासिल भएको छ।

आलेख: डा.अशोक बेहुरिया, संयोजक, साउथ एसियन सेन्टर, आईडिएसए

वाचन एवम् अनुवादः रञ्जना खवास