रसिया-चीन-भारत बैठक: बृहत् समन्वयको दिशामा

रसिया, भारत तथा चीन (आरआईसी)-का विदेश मन्त्रीहरूको १६औँ बैठक चीनको वूझेनमा सम्पन्न भयो। यस बैठकको १५औँ संस्करण भारत र चीनबीच डोकलाम गतिरोधपश्चात डिसेम्बर २०१७-मा नयाँ दिल्लीमा भएको थियो। नोभेम्बर २०१८-मा ब्यूनस आयर्समा जी२० शिखर सम्मेलनको छेकमा पनि तीन मुलुकका नेताहरूले बैठक गरेका थिए।

आरआईसी-का विदेश मन्त्रीहरूको १६औँ बैठकमा आतङ्कवादका खतरा छलफलको मुख्य विषय थियो। पाकिस्तानले आफ्नो भूभागमा आतङ्कवाद हुर्किराखेको तथ्य अस्वीकार गरेको कुरालाई अनि पाकिस्तानबाट उत्पन्न भइराखेका आतङ्की गतिविधिहरू विरुद्ध कुनै ठोस कारबाही गर्न पाकिस्तान विफल भएको कुरालाई यस बैठकमा भारतकी परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले रेखाङ्कित गर्नुभयो। उहाँले चीन र रसियाका विदेश मन्त्रीहरूलाई पाकिस्तानअधिकृत कश्मीर (पीओके)-को बालाकोट क्षेत्रमा जैश-ए-मोहम्मदका आतङ्की शिविरहरूमाथि भारतीय वायुसेनाद्वारा गरिएको हवाई हमलाबारे अवगत गराउनुभयो।

आरआईसी-ले संयुक्त वक्तव्यमा आतङ्कवादका सबै प्रारूपको भर्त्सना गरेको छ। आतङ्की गुटहरूलाई राजनैतिक एवम् भूराजनैतिक लाभका लागि प्रयोग एवम् समर्थन गर्दै गरेको,  अनि आतङ्की गतिविधिलाई अन्जाम दिने वा समर्थन गर्ने व्यक्तिहरूलाई जवाफदेही ठहऱ्याउनु पर्ने कुरामाथि पनि संयुक्त वक्तव्यले जोड दिएको छ। यसले स्पष्ट सङ्केत दिन्छ कि आतङ्कवादविरुद्ध लडाइँमा रसिया र चीन दुवैले भारतको समर्थन गर्दछ। “आतङ्कवाद हुर्कने थलो नष्ट पार्न नीतिमा निकट समन्वय” गर्नका लागि पनि तीन मुलुकहरू सहमत भए। निकट नीति समन्वय एवम् व्यवहारिक सहयोगमार्फत आतङ्कवादविरुद्ध संयुक्तरूपमा लड्नु पर्ने आवश्यकतालाई दोहऱ्याउदै चीनका विदेश मन्त्रीद्वारा जारी वक्तव्यलाई यसै परिप्रेक्ष्यमा हेर्नु पर्दछ। यो, भारतका लागि एकदमै महत्त्वपूर्ण घटनाक्रम हो किनभने जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरलाई राष्ट्र संघमा अन्तर्राष्ट्रिय आतङ्की घोषित गरी प्रतिबन्ध लगाउने भारतको प्रयासलाई हालसम्म चीनले बाधित गर्दै आएको छ।

आरआईसी शिखर सम्मेलनको संयुक्त वक्तव्यले तीन मुलुकहरूबीच बढ्दो सहयोग र त्यहाँ एक-अर्काका चिन्ताका विषयहरूप्रति बोध भएको सङ्केत पनि दिँदछ। भारत-चीन सम्बन्धले २०१७-मा डोकलाम गतिरोधदेखि अप्रैल २०१८-मा वूहानमा अनौपचारिक शिखर बैठक हुँदै यहाँसम्मको दूरी तय गरेको छ। चीनका विदेश मन्त्री वाङ्ग यि पनि भारत र चीन बीचको सांस्कृतिक सम्बन्ध संवर्धन गर्न डिसेम्बर २०१८-मा नयाँ दिल्ली आउनुभएको थियो। भारतले आफ्ना विकल्पहरूमाथि विचार-विमर्श गर्दै आएको छ र चीनसितको सम्बन्धलाई सन्तुलन गर्ने प्रयास गरेको छ। द्विपक्षीय सम्बन्ध सुधार्नमा ढिलाइ भए त्यहाँ जोखिमहरू उत्पन्न हुनसक्छन् भन्ने कुरा एसियाका दुवै महाशक्तिहरूले राम्ररी बुझ्दछन्।

भारत साथै चीन र रसियाका लागि आरआईसी बैठक अति नै महत्त्वपूर्ण रहेको छ तथा यो बैठक झन् धेरै प्रासङ्गिक बनेको छ। यी मुलुकहरूले ब्रजील, रसिया, भारत, चीन एवम् दक्षिण अफ्रीकाको समूह ब्रिक्स, ईस्ट एसिया समिट तथा शाङघाइ सहयोग संगठन जस्ता मञ्चहरूमा एक-अर्कालाई सहयोग गर्दछन् भने आरआईसी-ले उनीहरूलाई आपसी चिन्ताका विषयहरूमा आफ्ना विचारहरू साझा गर्ने एक विशेष मञ्च प्रदान गर्दछ। आरआईसी भारतका लागि आफ्नो बुँदा राख्ने एउटा महत्त्वपूर्ण मञ्च हो। क्षेत्रीय एवम् बहुपक्षीय स्तरमा मुलुकहरूसित रहेको भारतको सहभागिता र संलग्नताले उसको सामरिक शक्तिलाई दर्शाउँछ।

चीनका लागि, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) वर्तमान विदेश नीतिको मुख्य विषय रहिआएको छ। विगतका महिनाहरूमा बीआरआई-माथि प्रचुर ध्यान दिइएको छ। बीआरआई-को व्यापक आलोचना भइराखेकै माझ चीनका लागि चीन-अगुवाइवाला पूर्वाधार एवम् सम्पर्कता पहलको विश्वसनीयता बढाउन अति नै महत्त्वपूर्ण छ। भारत र जापान मात्रै दुई प्रमुख एसियाली अर्थव्यवस्थाहरू हुन् जो चीनको बीआरआई-को पक्षमा छैनन्। रसिया बीआरआई-मा सक्रियरूपमा सहभागी बनिराखेको छ। त्यसर्थ बीआरआई-मा सामेल गराउनका लागि अरू मुलुकहरूलाई सम्झाउन र बुझाउन चीनले हरेक मञ्चको प्रयोग गरिराखेको छ।

रसिया, चीन र भारत बीच मजबुत द्विपक्षीय सम्बन्ध रहेको छ। भारतले दुवै मुलुकहरूसित अनौपचारिक शिखर बैठकहरू गरेको छ। आरआईसी-ले तीन मुलुकका नेताहरूलाई आपसी चिन्ताका विषयहरू छलफल गर्ने एउटा अवसर प्रदान गर्दछ। क्षेत्रमा तीन विशाल मुलुकहरू भएको हुनाले, बृहत युरेसियाली क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न आरआईसी त्रिपक्षीय संलग्नता अति नै महत्त्वपूर्ण छ।

आलेख: साना हशमी, चिनियाँ एवम् युरोपेली मामिलाकी सामरिक विश्लेषक

अनुवाद एवम् वाचन:  प्रणय सुब्बा