अफगानिस्तानमा राष्ट्रपति चुनाव फेरि स्थगित

अफगानिस्तानको स्वतन्त्र चुनाव आयोगकी प्रमुख हवा आलम नूरिस्तानीले भन्नुभएको छ कि मत्रपत्र व्यस्थित गर्न र पोहोर अक्टूबरमा सम्पन्न संसदीय चुनावको बेला उत्पन्न भएका समस्याहरूलाई सम्बोधन गर्न अधिकारीहरूलाई बढ्ता समय दिनका लागि मुलुकको राष्ट्रपति चुनावलाई अझै दुई महिना पछाडि सारिएको छ, र यो चुनाव अब यसै वर्षको सेप्टेम्बर २८ तारिख हुनेछ।

खासगरी यो राष्ट्रपति चुनाव अप्रिलमा हुनु थियो तर पछि यसलाई जुलाई २० तारिखसम्मका लागि स्थगित राखिएको थियो। गजनी प्रान्तमा राष्ट्रपति चुनावसँगै जिल्ला-परिषद र संसदीय चुनावका मतदानहरू पनि एकैसाथ हुनेछन्। अफगानिस्तानको चुनाव आयोगले थप यो कुरा बताएको छ कि उनीहरू मतदान व्यवस्था गर्न तब मात्र सक्षम हुनेछन् जब काबुल सरकार र अन्तर्राष्ट्रिय समुदायलगायत यस चुनावमा संलग्न अन्य सरोकारवालाहरूले उनीहरूलाई आवश्यक कोष प्रदान गर्ने छन्। अक्टूबर २०१८-मा संसदीय चुनाव पनि केही महिनको विलम्बपछि भएको थियो अनि सो मतदानमा चुनावकर्मी र वोटिङ्ग सामग्रीहरूको कमी जस्ता थुप्रै समस्याहरू देखा परेका थिए। यस्तो भनाइ छ कि “निर्वाचन कानूनका नियमहरू राम्ररी कार्यान्वयन गर्न, पारदर्शिता सुनिश्चित गर्न साथै मतदाताहरूलाई पञ्जीकरणका लागि अतिरिक्त समय दिनका लागि” यस चुनावलाई सेप्टेम्बरमा सारिएको हो।

अफगानिस्तानको सुरक्षा स्थितिमा अहिलेसम्म पनि कुनै सुधार आएको छैन। हालैका वर्षहरूमा तालिबानको शक्ति प्रचुर मात्राले वृद्धि भएको छ जुन शक्ति उनीहरूले प्रतिष्ठान विरोधी गतिविधिहरूबाट हासिल गरेका हुन्। तालिबानले हाल अफगानिस्तानका ग्रामीण र पहाडी क्षेत्रका विशाल हिस्सामाथि नियन्त्रण गर्दछ भने गनी सरकारको नियन्त्रण अधिक आबादी भएका सहरी इलाकाहरूमाथि रहेको छ। अमेरिकी सरकारको एउटा रिपोर्टअनुसार हालसाल काबुल सरकारले अफगानिस्तानको केवल ५६ प्रतिशत भूभागमाथि नियन्त्रण गर्दछ। द्वन्द्वमा आम नागरिकहरूको हताहत बढेकोबढेकै छ अनि विद्रोहीहरूले मुलुकका दुर्गम इलाकाहरूमा लगातार कब्जा गर्न जारी रहेको छ जहाँ कतिपय मामिलामा त उनीहरूले  साना-राज्यहरू नै स्थापित गरेका छन्।

यो १७ वर्षे युद्ध समाप्त गर्ने दिशामा अनेक कुटनीतिक प्रयासहरू भएको बावजुद हालैका महिनाहरूमा सुरक्षाको स्थिति झन खराब हुँदै गएको छ। त्यहाँ अर्को एउटा चिन्ताको विषय के छ भने अफगानिस्तान जस्तो ठाउँलाई सम्भवत: अन्तर्राष्ट्रिय आतङ्की संगठहरू हुर्कने एउटा थलोको रूपमा प्रयोग गर्न सक्छ। कट्टरपन्थी अतिवादी गुटहरू हतास भइ नेटो फौज नभएको, उथलपुथल अवस्थामा रहेको र कुनै स्पष्ट नेतृत्व नरहेको अफगानिस्तान जस्तो ठाउँको खोजी रहेका छन्। क्षेत्रमा पश्चिम एसियाबाट इस्लामिक स्टेट (आईएस) आतङ्कीहरूको आगमनलाई क्षेत्रको सुरक्षा स्थितिलाई झन बिगार्ने एउटा कारकको रूपमा हेरिएको छ। संयुक्त राज्य अमेरिका र तालिबानबीच वार्तालाप भइराखेको भएतापनि अफगान अधिकारीहरूले उनीहरूलाई वार्ताबाट पर सारेकोमा निराशा प्रकट गर्दै भनेका छन् कि यसले काबुल सरकारको वैधानिकतालाई कमजोर बनाउँदछ। तर तालिबान काबुल सरकारलाई एक कठपुतली सरकार मान्दछ। यसै महिनाको आरम्भमा दोहामा सम्पन्न वार्तालाप पश्चात वार्तालापमा वशिङ्गटनको अगुवाई गर्नुहुने संयुक्त राज्य अमेरिकाका विशेष दूत जालमे खलिलजादले भन्नुभयो कि यस पाली “वास्तविक फड्को” लगाइए तापनि सैनिक फिर्तीको सम्बन्धमा भनेचाहिँ कुनै एक निश्चित समयसीमामाथि सम्झौता हुन सकेन।

अफगानिस्तानको सुरक्षालाई प्रभावित पार्नसक्ने अर्को एउटा महत्त्वपूर्ण कारक हो सीरियाको साम्प्रदायिक युद्धबाट शिया लडाकाहरूको घर फिर्ती। इरानले हजारौँ शिया अफगानीहरूलाई प्रशिक्षित गरी सीरियाको साम्प्रदायिक युद्धमा घातक सैनिकको रूपमा तैनाथ गरेको छ जसलाई फतेमियोन लाडाकाहरू भनिन्छ। हजारौँ पूर्व फतेमियोन लडाकाहरू अफगानिस्तान फिर्ता भइराखेका छन् जहाँ उनीहरू पुन: एकीकृत हुने प्रयास र जीवनयापनका लागि संघर्ष गरिराखेका छन्। उनीहरू सम्भवत: अफगान सुरक्षा फौजद्वारा लखेटिनु पर्छ कि भन्ने भयमा जीनव बिताइराखेका छन्। यी लडाकाहरूले अब के गर्ने छन् त भन्ने कुरा अफगानी अधिकारीहरूको विचारमाथि निर्भर गर्दछ किनभने शियाहरूको घोषित संरक्षक इरान र विश्वभर दीर्घकालदेखि सुन्नी विचारधारको प्रायोजन गर्दै आएको सउदी अरब बीच अफगानिस्तान अर्को एक विशाल रणभूमि बन्नसक्छ भन्ने डरले ती अफगानी अधिकाहरूलाई निरन्तर सताइराखेको छ।

गुटीय विभाजन जसले गर्दा १९९०-को दशकमा अफगानिस्तानमा विध्वंसकारी गृह युद्धको जन्म भएको थियो, त्यस विभाजनलाई परोक्ष युद्ध गर्न खोजीरहेका विदेशी ताकतहरूले आफ्नो वशमा लिएका थिए। त्यहाँ उत्पन्न चिन्ताको एउटा नयाँ विषय के हो भने अफगानिस्तानको शिया अल्पसंख्यक समुदायमाथि खासगरी इस्लामिक स्टेटप्रति वफादार रहिआएका सुन्नी चरमपन्थीहरूद्वारा भइराखेको हमलामा तीव्र बढोतरी, जसका कारण त्यस मुलुकमा आफ्नो हस्तक्षेप बढाउने निहुँ पनि इरानले पाइसकेको छ। अफगानिस्तानमा पूर्व लडाकाहरूको पुनर्एकीकरण स्थायी शान्तिका लागि एउटा प्रमुख कारणतत्त्व बन्न सक्छ। हालैका दिनहरूमा इस्लामिक स्टेटको अफगान शाखाले शिया हजारा समुदायलाई लक्ष्य बनाउदै आतङ्की हमलाहरू गर्न थालेको छ।

आलेख: डक्टर स्मिता, अफगानिस्तान-पाकिस्तान मामिलाकी सामरिक विश्लेषक

अनुवादक एवम् वाचक: प्रणय सुब्बा