आतङ्कवादमाथि कार्यवाही गर्न पाकिस्तानलाई वाशिङ्गटनद्वारा आह्वान

अमेरिकी प्रशासनले एकपल्ट फेरि भनेको छ पाकिस्तानले आफ्नो भूमिबाट सञ्चालित हुने आतङ्कवाद तथा आतङ्की संगठनहरू विरूद्ध निश्चय नै ठोस एवम् व्यावहारिक कार्यवाही गर्नुपर्ने छ। एउटा अन्य अभियोग अन्तर्गत, वाशिङ्टनले पाकिस्तानलाई आतङ्कवादका अपराधीहरू विरूद्ध, “निरन्तर, व्यावहारिक तथा अपरिवर्तनीय” कार्यवाही गर्न भनेको छ, जबकि इस्लामाबादलाई के चेतावनी दिइएको छ भने “भारतमाथि फेरि आतङ्की आक्रमण” उसको लागि अत्यन्त समस्याजनक साबित हुनेछ। व्हाइट हाउसमा ट्रम्प प्रशासनका एकजना वरिष्ठ अधिकारीले पत्रकारहरूलाई के बताउनुभयो भने “हामी आतङ्कवादी समूहहरू खासगरि जैश-ए-मोहम्मद (जे.ई.एम) र लश्कर-ए-तोइबा (एल.ई.टी)-माथि नियन्त्रण गर्न पाकिस्तानद्वारा ठोस एवम् निरन्तर कार्यवाही गरिएको हेर्न चाहन्छौँ जसबाट क्षेत्रमा तनावको पुनः वृद्धि  नहोस भन्ने सुनिश्चित गर्न सकियोस्।”

अधिकारीले अझ के बताउनुभयो भने यी आतङ्की गुटहरूविरूद्ध पाकिस्तानद्वारा कुनै दीर्घम्यादी तथा इमानदारी प्रयास बिना फेरि कुनै अतिरिक्त आतङ्की आक्रमण भयो भने त्यो पाकिस्तानको लागि अत्यन्त समस्याजनक हुनका साथै त्यसले फेरि तनाव बढाउने छ, जो दुवै देशको लागि खतरनाक हुनेछ।

भारतीय लडाकू जेट विमानहरूद्वारा बालाकोट हवाइ आक्रमणपछि पाकिस्तानले चालेका पाइलाहरू सम्बन्धमा अधिकारीले भन्नुभएअनुसार अमेरिका र अन्तर्राष्ट्रिय समुदायले आतङ्की गुटहरूविरूद्ध “अपरिवर्तनीय एवम् निरन्तर” कार्यवाही गरिएको हेर्न चाहन्छन्। अधिकारीले अहिले नै पूर्ण मुल्याङ्कन गर्नु अलिकति चाँडो हुने बताउनुभयो।

अधिकारीले भन्नुभयो हालैमा, पाकिस्तानले केही “प्रारम्भिक” कार्यवाही थालेको छ। उनीहरूले केही आतङ्की गुटहरूका सर-सम्पत्तिहरूलाई अचलगर्नुका साथै केही गिरफ्तारीहरू गरेका छन्। अधिकारीले अझ भन्नुभएअनुसार  पाकिस्तानले जे.ई.एम.-का केही कार्यलयहरूमाथि प्रशासनिक नियन्त्रण कायम गरेका छन्।

तर वाशिङ्टनले स्पष्ट रूपमा अझै धेरै गरिएको हेर्न चाहन्छ। अमेरिकाले अपरिवर्तनीय कार्यवाही हेर्न चाहन्छ किनभने पूर्वमा जहिलेपनि कुनै गिरफ्तारीहरू गरिए, पाकिस्तानले केही महिनाहरू पछि नै ती व्यक्तिहरूलाई मुक्त गरीदिन्थ्यो। अधिकारीअनुसार आतङ्की नेताहरूलाई अझैपनि कहिलेकाहीँ देश वरिपरी यात्रा गर्ने तथा रैलीहरूको आयोजना गर्ने अनुमति दिइन्छ।

अमेरिकाले “अपरिवर्तनीय कार्यवाही” हेर्न चाहन्छ भनी दोहोऱ्याउँदै, व्हाइट हाउसका अधिकारीले पाकिस्तानमाथि दबाब हाल्न अमेरिकाले आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरू समक्ष कार्य गरिरहेको जानकारी दिनुभयो। “किनभने यी गुटहरू धेरै लामो समयदेखि आफ्ना कार्यहरूलाई सञ्चालित राख्नमा सक्षम भइरहेका छन्।”

पाकिस्तानका आर्थिक चिन्ताहरूपनि रहेका उल्लेख गर्नुहुँदै अधिकारीले के भन्नुभयो भने वित्तीय कार्यवाही कार्य बल (एफ.ए.टि.एफ) एउटा यस्तो तन्त्र हो जसले उनीहरूलाई आतङ्की गुटहरूविरूद्ध कार्यवाहीको आवश्यकता दर्शाउँछ। अधिकारीले भन्नुभयो, “अन्यथा उनीहरू प्रणाली भित्रै तथा एफ.ए.टि.एफ-बाट  ग्रे-लिस्टेड हुने  जोखिममा छन्”।

पाकिस्तानले के निर्णय लिनु आवश्यक छ भने उसले आफूलाई एउटा जिम्मेवार अन्तर्राष्ट्रिय सहयोगीको रूपमा हेरियोस्  तथा उपलब्ध सबै वित्तीय तन्त्रहरूसम्म उसको पहुँच होस् भन्ने चाहन्छ वा ती आतङ्कवादी गुटहरूविरूद्ध आवश्यक कदम चाल्नमा ऊ विफल बनिरहन  र आफूलाई अझ अलग-थलग भएको हेर्न चाहन्छ। वरिष्ठ प्रशासनिक अधिकारीले “विकल्प पाकिस्तानको हातमा रहेको” बताउनुभयो। जबकि दुइ दक्षिण एसियाली छिमेकी राष्ट्रहरूबीचको स्थिति खराब भइरहेको छ, दुवै देशका सेनाले अझै उच्च सतर्कता अपनाइरहेका छन् र यो अमेरिकाको लागि एउटा चिन्ताको विषय बनेको छ।

 अतः अमेरिकालाई के स्पष्ट थाह छ भने भारतमाथि फेरि अर्को आतङ्कवादी हमला हुन्छ भने स्थिति फेरि तीव्रताले बिग्रेको विश्वले महसूस गर्नेछ। अधिकारीअनुसार अमेरिकाले पाकिस्तानलाई के स्पष्ट गरेको छ भने कुनैपनि अतिरिक्त सैन्य कार्यवाही दुवै देशहरू एवम् क्षेत्रको लागि अस्वीकार्य रूपमा उच्च जोखिमपूर्ण हुनेछ। अधिकारीले आतङ्कवादीहरूको सुरक्षित अड्डाहरूको विषयमा ट्रम्प प्रशासनले “शुन्य सहिष्णुता नीति” अपनाएको बताउनुभयो। “भारतमा १४ फेब्रुअरीमा भएको आतङ्कवादी हमला, पाकिस्तानद्वारा कुनैपनि आतङ्कवादी समूहलाई शरण जारी राख्ने प्रावधानको एउटा प्रदर्शन थियो जो स्वीकारयोग्य नरहेको अधिकारीले बताउनुभयो।

चरम सङ्कटको बेला अमेरिका, नयाँ दिल्ली तथा इस्लामाबादमा भारतीय अनि पाकिस्तानी अधिकारीहरू दुवैका साथ भूस्तरमा लगातार सम्पर्कमा थिए। अधिकारीले  भारत-पाकिस्तान सम्बन्धमा उत्पन्न खतरनाक स्थितिलाई साम्यपार्न अमेरिकी अधिकारीहरू लगातार फोनमा सम्पर्कमा रहनुका साथै उनीहरू गम्भीर रूपले संलग्न भनी अमेरिकी अधिकारीले भन्नुभयो।

त्यसैले निर्णायक रूपले कार्य गर्ने दायित्व अब पाकिस्तानमाथि रहेको छ। आतङ्कवादको विषयमा इस्लामाबाद अब अन्तर्राष्ट्रिय समुदायद्वारा अलग-थलग हुने जोखिममा छ।

आलेखः कौशिक रॉय, अल इण्डिया रेडियोका सामरिक मामिला विश्लेषक

अनुवादक एवम् वाचकः सुभाष चौधरी