के सिरियामा दाएशको अस्तित्व समाप्त?

२४ मार्च, सन् २०१९-मा संयुक्त राज्य अमेरिकाद्वारा समर्थित सिरियाली लोकतान्त्रिक बलहरू, एसडीएफ-ले उत्तर-पूर्व सिरियाको सुन्दर यूफ्रेट्स उपत्यकाको मध्यमा अवस्थित शहर, बाधोज-माथि उनीहरूको कब्जा भएको घोषणा गरे। अक्टुबर, सन् २०१७-मा राजधानी रक्कामाथिको कब्जा गुमाएपछि त्यो युद्धरत राष्ट्रमा यो दाएश अर्थात् आईएस-को अन्तिम चौकी थियो।

सबैभन्दा पहिले इराकमा सन् २००४-मा दाएशको गठन अल-कायदाको एक शाखाको रूपमा भएको थियो अनि सन् २००६-मा यसले स्वयंलाई स्वतन्त्र ‘इराक इस्लामी राष्ट्र’-को रूपमा स्थापित गऱ्यो। यो आतङ्की गुटले सिरियाली विद्रोहको परिणामस्वरूप सुरु भएको गृह युद्धबाट लाभ उठाउँदै त्यो देशमा आफ्ना पखेटाहरू फिँजायो अनि विशाल भूभागहरूमाथि कब्जा गऱ्यो। सन् २०१४-मा मोसुलमाथि कब्जा जमाएपछि दाएशको नेता, अबु बक्र अल-बगदादीले स्वयंलाई ‘केलिफ’ अर्थात् मोहम्मदको उत्तराधिकारी घोषित गऱ्यो साथै इराक इस्लामी राष्ट्र र विस्तार, आईएसआईएल अथवा दाएशको स्थापनाको घोषणा पनि गऱ्यो। यसको तत्काल पश्चात् दाएश आतङ्की गुटले मध्य-पुर्व तथा उत्तर अफ्रिका क्षेत्रमा अन्य धेरैलाई उसको अनुकरण गर्नको लागि प्रेरित गऱ्यो।

दाएशले विदेशका हजारौँ लडाकुहरूलाई आकर्षित गऱ्यो अनि विश्वका विभिन्न भागहरूमा ‘लोन वुल्फ एट्याक्स’ अर्थात् एक व्यक्तिले गर्ने हमला-लाई प्रेरित गऱ्यो। यसका अत्याचारहरू, साम्प्रदायिक कार्य-सूची तथा महिलाहरूप्रति बर्बरताले गर्दा क्षेत्रीय शक्तिहरू साथै समग्र विश्व यस गुटबारे सोच्न तथा यसको विषाक्त सङ्कल्प विरूद्ध मुकाबिला निम्ति रणनीति तय गर्न बाध्य भए। दाएशलाई परास्त  गर्नको लागि सिरियामा दुइ भिन्ना-भिन्नै गठबन्धनहरूले सैन्य कार्यवाही सुरू गरे। रसिया, ईरान र सिरियाको बशर अल अस्सद प्रशासनको गठबन्धनमा सामेल भयो तथा संयुक्त राज्य अमेरिका कुर्दहरूसित सामेल भयो अनि एसडीएफ-को गठन गर्नमा मद्दत गऱ्यो।

सन् २०१६-को अन्त्यतिर कुर्दिश एसडीएफ-ले विभिन्न मोर्चाहरूमा दाएश विरूद्ध सैन्य कार्यवाहीहरू सुरू गऱ्यो तथा संयुक्त राज्य अमेरिका बलहरूले हवाई हमलाहरूद्वारा यसमा सहयोग पुऱ्यायो। अक्टोबर, सन् २०१७-मा सिरियामा दाएशको राजधानी रक्का-को पतन, एसडीएफ-को सर्वप्रथम ठूलो उपलब्धि थियो अनि कतिपय वाधा-विघ्नहरू उपस्थित भएता पनि अन्ततः दाएश आतङ्की गुटलाई परास्त गर्नमा एसडीएफ सफल भयो।

हुन त, दाएश पराजित भएको छ तर सिरियाली कुर्दहरूको भविष्य अनिश्चित छ। कुर्द बलहरू दाएश विरूद्ध लडाइँमा सर्वाधिक प्रभावशाली लडाकूहरूमध्ये एक सिद्ध भएका छन्। हाल सिरियाको सम्पूर्ण उत्तर-पूर्वेली भागमा एसडीएफ-को नियन्त्रण छ अनि यसले आफ्नो नियन्त्रण भएका क्षेत्रहरूमा एक वास्तविक स्वायत्त क्षेत्रको प्रभावकारी ढङ्गमा स्थापना गरेको छ, जसलाई ‘रोजावा’ भनिन्छ। कुर्दहरूले सिरियाली लोकतान्त्रिक परिषद मार्फत लोकतान्त्रिक ढङ्गमा कार्य गर्नसक्ने क्षमतालाई प्रदर्शित गरेका छन् अनि एसडीएफ-को रूपमा उनीहरू एक प्रभावशाली लडाकू बल भएर सामुन्ने प्रकट भएका छन्। जे होस, अब दाएश पश्चात्-को सिरियामा एक राजनीतिक समाधान खोज्ने चुनौती छ। स्थिति औधी जटिल छ अनि कुर्दहरूको सामुन्ने गम्भीर चुनौतीहरू उपस्थित भएता पनि उनीहरूले सिरियाको भविष्य सुरक्षित बनाउनको लागि अस्सद शासनसित मिलेर कार्य गर्ने ईच्छा जाहेर गरेका छन्।

अस्सद शासन सम्पूर्ण सिरियामा सम्प्रभुता स्थापित गर्न चाहन्छ। यो संयुक्त राज्य अमेरिका समर्थित कुर्दहरू अनि रसिया र ईरान समर्थित अस्सद शासन बीच विवादको विषय बन्न सक्छ। रसिया अनि ईरान, दुवैले सिरियालाई पूर्णतया आफ्नो नियन्त्रणमा लिने सिरियाली प्रशासनको अडानप्रति स्पष्ट रूपमा आ-आफ्नो समर्थन व्यक्त गरेका छन्, तर मॉस्को-को तुलानमा तेहरानले कुर्दहरूलाई कुनै प्रकारका छूटहरूको घोर विरोध गरिरहेको छ।

उत्तर पश्चिम सिरियामा युद्धको तीव्रतामा कमी ल्याउनमा प्रमुख भूमिका खेल्ने टर्की, मुक्त सिरिया सेना, एफएसए लगायत अरब-प्रभुत्व भएको विपक्षको ठूलो समर्थक रहेको छ, अनि यो देश पनि कुर्दहरूलाई कुनै प्रकारको छूटको विरोधमा छ। अङ्काराले एसडीएफ, विशेष गरी, यसको एक घटक, जन-सुरक्षा एकांश, वाईपीजी-लाई टर्कीको सुरक्षा निम्ति एक खतराको रूपमा हेर्छ किनभने टर्कीको कुर्दिस्तान कामदार पार्टी, पीकेके नामक प्रतिबन्धित पृथकतावादी गुटसित वाईपीजी-को निकटको सम्बन्ध छ। राष्ट्रपति डोनल्ड ट्रम्प अधीन संयुक्त राज्य अमेरिकाले उत्तरेली सिरियामा सैन्य उपस्थिति निम्ति आनाकानी गरिरहेछ अनि यसले गर्दा कुर्दहरूको लागि विकल्पहरू सीमित भएर जान सक्छ।

वैश्विक साथै क्षेत्रीय शक्तिहरू मिलेर सबै प्रमुख स्थानीय सरोकारवालाहरूका भावनाहरूको उपेक्षा नगरी सिरियाको लागि एक राजनीतिक समाधान निकाल्नु आवश्यक छ। दाएश समाप्त हुनु सिरियाको लागि राम्रो हो, तर सिरिया निम्ति एक राजनीतिक समाधान निकाल्ने प्रश्न जस्ताको तस्तै छ। विचार-विमर्शहरूद्वारा समाधान ननिकालिएको खण्डमा, दाएशका रहल पहलहरूले अतीतमा झैं उनीहरूका आतङ्की कृत्यहरूलाई पुनः जीवित गर्ने मार्गहरू प्राप्त गर्न सक्छन्।

आलेखः पश्चिम एसिया मामिलाहरूका सामरीक विश्लेषक, डॅ.  मोहम्मद मुद्दस्सिर कमर

अनुवादः राज कुमार सिंह

वाचकः रञ्जना खवास