वैज्ञानिक प्रगतिको दिशामा भारतको फड्को

भारतले विज्ञान र प्रौद्योगिकीको क्षेत्रमा वर्तमान समयमा तीव्र प्रगति गरेको छ। यसको ध्यान अब मूलभूत अनुसन्धानबाट व्यावहारिक अनुसन्धानतिर सर्दैछ। अब मूल जोड विज्ञान र प्रौद्योगिकीलाई प्रयोगशालाहरूबाट निकालेर समाजका समस्याहरूको समाधान गर्नमा र वैज्ञानिक मनोवृत्तिलाई पुनर्जीवित गर्नुमाथि छ। स्वतन्त्रतापछि भारतको सबैभन्दा मूल विषय राष्ट्रलाई प्रगतिको मार्गमा खासगरि खाद्य एवम् राष्ट्रिय सुरक्षाका मूलभूत आवश्यकता पूर्तिको मार्गमा  अग्रसर गराउनु थियो। तसर्थ, तत्कालीन प्रधान मन्त्री लालबहादुर शास्त्रीले “जय जवान, जय किसान”-को प्रसिद्ध नारा दिनुभयो। उहाँका उत्तराधिकारी अटल बिहारी बाजपेयीले त्यसमा “जय विज्ञान” थप्नुभयो। अब, देशले यसलाई एक पाइलो अगाडि बढाउँदै “जय अनुसन्धान” थपेको छ र यसरी अनुसन्धानलाई राष्ट्रिय एजेन्डाको शीर्षमा राखेको छ।

शीर्ष स्तरको वैज्ञानिक निकाय प्रधान मन्त्रीको विज्ञान, प्रौद्योगिकी र नवाचार सल्लाहकार परिषदको पुनर्गठनले भारतलाई उदीयमान एवम् तीव्र गतिले बदलिँदो वैश्विक विज्ञान एवम् प्रौद्योगिकी पारिस्थिकीय प्रणालीमा लैजाने राष्ट्रिय अठोट परिलक्षित हुन्छ। भारतले सन् 2030-सम्ममा विज्ञान एवम् प्रौद्योगिकीको हिसाबले शीर्ष तीन मुलुकहरूमा स्थान हासिल गर्नका लागि एउटा अत्यन्तै महत्त्वाकाङ्क्षी लक्ष्य निर्धारित गरेको छ। यो त्यति सजिलो छैन। तर भारतको गतिलाई हेर्दा यो असम्भव पनि छैन।

जेहोस्, केही नवोन्मेषहरूलाई छोडेर विज्ञानको क्षेत्रमा प्रगति यसलाई प्राप्त संसाधनहरूको हिसाबले यसको सार्वजनिक वचनबद्धताबमोजिम हुन सकेको छैन। अनुसन्धान एवम् विकासमाथि सकल व्ययको हिसाबले यो विगत दशकमा तेब्बर भएको छ। तर भारतीय विज्ञान समुदाय सर सि.भि. रमन, जगदीशचन्द्र बोस, श्रीनिवास रामानुजन अथवा मेघनाद साहाद्वारा प्रदान गरिएको नेतृत्वको स्तरमा आउन सकेन।

भारतीय विज्ञान अब पानी, ऊर्जा, स्वास्थ्य, पर्यावरण, जलवायु, कृषि, खाद्यका क्षेत्रहरूमा महत्त्वपूर्ण चुनौतीहरूको समाधानका लागि कार्य गर्दैछ जो प्रधान मन्त्रीको विज्ञान, प्रौद्योगिकी र नवाचार सल्लाहकार परिषदको जनादेशबमोजिम हो।

परिषदले नौ भविष्योन्मुखी क्षेत्रहरू जस्तै क्वान्टम फ्रन्टियर, कृत्रिम बुद्धिमता, राष्ट्रिय जैव-विविधता, इलेक्ट्रिक मोबिलिटी, मानव स्वास्थ्यका लागि जैव-विज्ञान, फोहोरबाट स्वास्थ्य, गहिरो समुद्रमा खोजी कार्य,  नयाँ भारत नवाचारका लागि विकासमा वृद्धि छोटकरीमा अग्नी-का लागि मिशन मोडमा राष्ट्रिय नीतिहरू तयार गर्नेछ।  यी क्षेत्रहरूमा प्रगतिले देशलाई तीव्र गतिले बदलिइरहेको विश्व व्यवस्थामा वैश्विक रूपले प्रतिस्पर्धात्मक बनाउने छ।

मूलभूत विज्ञान र व्यावहारिक विज्ञानको मिश्रण तयार गर्नका लागि दृष्टिकोणमा फेरबदल गरिएको छ। मिशनोन्मुखी योजनाहरू व्यवहार र समाधान विज्ञान पहलहरूका विस्तृत उदाहरणहरू हुन्।

कृषि क्षेत्रमा हालैको समयका विज्ञान एवम् प्रौद्योगिकी हस्तक्षेपले ग्रामीण अर्थव्यवस्था जस्तै किसानहरूका लागि कृषि-मौसमसम्बन्धी सल्लाहहरूमाथि व्यापक प्रभाव पारेको छ। समयमा मौसमको जानकारीहरूले खेतीसम्बन्धी कार्यहरूलाई मद्दत पुऱ्याएका छन् जसको परिणामस्वरूप राष्ट्रिय सकल घरायसी उत्पादनमा 50,000 करोड रुपियाँ सम्मको सकारात्मक आर्थिक प्रभाव परेको छ। मौसम र समुद्रसम्बन्धी अनुमान सेवाको गुणस्तरमा उल्लेखनीय सुधार भएको छ। भारतद्वारा दुइटा नयाँ सुपर कम्प्युटरहरू – ‘प्रत्युश’ र ‘मिहिर’ जडान गरिएको छ जसको संयुक्त क्षमता 6.8 पेटा फ्लप्स छ, र यसरी देशसित अहिले विश्वमा सर्वोत्तम मौसमको अड्कल काट्ने प्रणाली छ।

भारतले जैव इन्धनको प्रयोगलाई घटाउने बाचा मारेको छ, र नयाँ ऊर्जा मिश्रणमा स्वच्छ ऊर्जाको उच्च प्रतिशत सामेल छ। हाम्रा वैज्ञानिक संस्थानहरूद्वारा स्वेदशमानै कैयौँ प्रौद्योगिकीहरू विकसित गरिएका छन्। भारतको पहिलो जैव-इन्धन सञ्चालित विमानले अगस्ट 2018-मा देहरादूनदेखि नयाँ दिल्लीसम्मको उडान भरेर इतिहास रच्यो। भारतीय वायुसेनाले यो वर्षको गणतन्त्र दिवस परेडमा जैव-इन्धनद्वारा ए.एन.-32 परिवहन विमान उडाएर इतिहास रच्यो। देश अब कच्चा तेलको विकल्पको रूपमा पर्याप्त मात्रामा उपलब्ध कार्बनयुक्त ठोस अवशिष्ट, तरल अवशिष्ट र मेथेन तथा कार्बन डाइअक्साइडको वातावरणीय उत्सर्जन जस्ता वैकल्पिक स्रोतहरूबाट ऊर्जा उत्पादन गर्ने प्रौद्योगिकी विकसित गरेर आयातित तेलमाथिको निर्भरता कम गर्ने परियोजनामा कार्यरत छ।

अन्तरिक्षको क्षेत्रमा भारत विश्वमा अग्रणी छ। कुनै समयमा प्रौद्योगिकी प्रतिबन्धको व्यवस्थाबाट भारत पीडित रहेको थियो। तर अब कैयौँ मुलुकहरू भारतको प्रमाणित एवम् सस्तो पर्ने अन्तरिक्ष अभियानहरूसम्बन्धी विशेषज्ञतामाथि निर्भर छन्। सामाजिक रूपले प्रासङ्गिक क्षेत्रहरूमा अन्तरिक्ष अनुसन्धान र यसको व्यावहारिक प्रयोगमा हालैका विकासहरू स्वतन्त्र भारतको इतिहासमा अद्वितीय छन्।

समग्रतामा विज्ञानले हाम्रो राष्ट्रिय प्राथमिकताहरूमा पुनर्प्रवेश गरेको छ, र जुनप्रकारको ध्यान र दिशा अख्तियार गरिएको छ त्यसबाट भारतलाई यो क्षेत्रमा अग्रणी बनाउने लक्ष्य असाध्य छैन।

आलेखः वरिष्ठ  विज्ञान समीक्षक एन. भद्रन नायर

अनुवाद एवम् वाचनः विष्णुबहादुर गुरुङ्ग