टिकाउ भविष्य निम्ति तयार मूल योजनालाई विश्वको स्वीकृति

विश्वले प्रदूषित, तीव्र गतिले तातिरहेको अनि ह्रास हुँदै गइरहेको ग्रह, पृथ्वीको सुरक्षा गर्ने सङ्कल्प लिएको छ अनि अधिक टिकाउ भविष्यतर्फ सङ्क्रमण निम्ति आधार तयार गरेको छ जहाँ पर्यावरणसित सम्बद्ध चुनौतीहरूसित निप्टिनको लागि नवोमेष तरिकाहरूको उपयोग गरिनेछ।

नेरोबी, केन्यामा भर्खरै सम्पन्न भएको राष्ट्र संघ पर्यावरण सम्मेलनको पाँच दिवसीय बैठकमा राष्ट्र संघका १७९ सदस्य राष्ट्रहरूले यो सङ्कल्प व्यक्त गरे। सम्मेलनको चौथो सत्रको सार तत्त्व थियो, ‘पर्यावरणसम्बन्धी चुनौतीहरूको नवोमेष समाधानहरू तथा टिकाउ उत्पादन एवम् उपभोग।’ मन्त्री महोदयहरूले परिवर्तन निम्ति एक साहसिक योजना प्रस्तुत गरे। उनीहरू पर्यावरण सङ्कटलाई धारण गर्न सकिने उपभोग र उत्पादनद्वारा निप्टाउन तथा उपयोग पश्चात् फ्याँक्ने प्लास्टिकहरूको उपयोगमा उल्लेखनीय कमी ल्याउनको लागि सहमत भए।

प्रतिनिधिहरूले संसाधन-दक्ष र अल्प-कार्बन अर्थव्यवस्थाहरूको लक्ष्य हासिल गर्नको लागि समन्वित पूर्ण जीवन चक्रमाथि आधारित दृष्टिकोणका साथ राष्ट्रिय संसाधन प्रबन्धनका रणनीतिहरूमा सुधार गर्ने प्रतिबद्धता जाहेर गरे।

राष्ट्र संघ पर्यावरण सम्मेलन-४-मा पर्यावरणसम्बन्धी वैश्विक चुनौतीहरूको समाधान निम्ति मस्यौदा प्रस्तावबारे चर्चा भयो अनि पछि मन्त्री स्तरीय उच्च तहको बैठकको सञ्चालन गरियो। बैठकमा राष्ट्र संघ पर्यावरण कार्यक्रम अन्तर्गत गरिने कार्यहरू तय गरिए तथा सन् २०२०-२०२१ निम्ति द्विवार्षिकी बजेट पारित गरियो।

सम्मेलनले २६ प्रस्ताव एवम् निर्णयहरूलाई पारित गऱ्यो। सम्मेलनले एक मन्त्री स्तरीय घोषणा पत्रलाई पनि पारित गऱ्यो जसमा सन् २०३०-सम्ममा केवल एकपल्ट उपयोग गर्नसकिने प्लास्टिक उत्पादनहरूको उपयोगमा उल्लेखनीय कमी गर्ने सङ्कल्प व्यक्त गरिएको छ। घोषणा पत्रमा सन् २०२५-सम्ममा राष्ट्र संघ पर्यावरण कार्यक्रमको वैश्विक पर्यावरण तथ्याङ्कसित सम्बद्ध रणनीतिलाई समर्थन गर्ने सङ्कल्प पनि जाहेर गरिएको छ। घोषणा पत्रमा भनिएको छ, “विश्वमा नाइट्रोजनको उपयोग दक्षताको हिसाबले कम्ती छ, जसको परिणामस्वरूप प्रतिक्रिया गर्ने नाइट्रोजन मार्फत् प्रदूषण बढिरहेछ अनि यसले गर्दा मानव स्वास्थ्यप्रति जोखिम बढिरहेछ, पारिस्थितिकी तन्त्र प्रभावित भइरहेछ, जलवायु परिवर्तन भइरहेछ अनि वायुमण्डलमा ओजनको सतहमा ह्रास भइरहेछ।” सिङ्गो-उपयोगको प्लास्टिक र टिकाउ नाइट्रोजन प्रबन्धनका प्रस्तावहरू भारतद्वारा प्रस्तुत गरिएका थिए।

विशेषज्ञहरूको भनाइअनुसार यी प्रस्तावहरूले नाइट्रोजनको सम्बन्धमा पनि ठीक कार्बन जस्तै अन्तर्राष्ट्रिय समन्वय स्थापित गर्नमा मद्दत पुऱ्याउने छन्। भारतद्वारा प्रस्तुत यो प्रस्ताव आफ्नो प्रकारको सर्वप्रथम प्रस्ताव हो जसमा भनिएको छ कि विश्वमा उत्पादित प्लास्टिकहरूको केवल एक सानो हिस्सालाई रिसाइकल गरिन्छ अनि शेष रहेको हिस्साले पर्यावरण र समुद्रमा जैव-विविधतालाई ठूलो क्षति पुऱ्याइरहेको छ।

बैठकमा महासागरहरू अनि नाजुक पारस्थितिकी तन्त्रको सुरक्षाको खाँचोमाथि ध्यान केन्द्रित गरियो। मन्त्रीहरूले समुद्रहरूमा फैलिएको प्लास्टिकको फोहोर तथा माइक्रो-प्लास्टिकसित सम्बद्ध कैयौँ प्रस्तावहरू पारित गरे। यसमा राष्ट्र संघ पर्यावरण कार्यक्रम अन्तर्गत एक बहु-सरोकारवाला मञ्च स्थापित गरेर मैला साथै माइक्रो-प्लास्टिकका फोहोरहरूलाई हटाउने दीर्घकालीन उपायहरूलाई तत्काल अपनाउनु पनि सामेल छ।

यो सम्मेलनमा ५,००० सहभागीहरू उपस्थित थिए, जसमध्ये पाँच राष्ट्र एवम् सरकार प्रमुख, १५७ पर्यावरण मन्त्रीहरू र उप-मन्त्रीहरू थिए, जो एक कीर्तिमान हो। प्रतिनिधिहरूमा वैज्ञानिकहरू, शिक्षाविदहरू, व्यापार प्रमुखहरू साथै नागरिक समाजका प्रतिनिधिहरू सामेल थिए।

अन्तिम घोषणामा गरिबी उन्मूलन, उपभोग र उत्पादनका टिक्न नसक्ने प्रणालीको सट्टा टिकाउ शैली अपनाउनु तथा प्राकृतिक संसाधनको प्रबन्धन नै सतत विकासका आवश्यक तत्त्वहरू तथा आर्थिक एवम् सामाजिक विकासका आधारहरू हुन् भनी पुष्टि गरिएको छ।

सम्मेलनमा कृषिका लचिला प्रणालीहरूको संवर्धनद्वारा टिकाउ खाद्य प्रणालीहरूलाई बढुवा दिने तथा प्राकृतिक संसाधनहरूको टिकाउ प्रबन्धन मार्फत् गरिबीसित निप्टिने प्रतिबद्धता पनि जाहेर गरियो।

सम्मेलनमा छैठौँ वैश्विक पर्यावरण दृष्टिकोणलाई प्रस्तुत गरियो। यो कार्यक्रम अन्तर्गत मानिसको स्वास्थ्य एवम् कल्याण तथा पर्यावरणको अवस्था बीच सम्बन्धहरूमाथि प्रकाश पारियो। ‘स्वस्थ ग्रह, स्वस्थ मानिस’ शीर्षक रिपोर्टलाई वैश्विक पर्यावरणको सर्वाधिक व्यापक मूल्याङ्कन ठहर गरियो। यसमा अनेकौँ विषयहरू, मुद्दाहरू तथा सम्भावित समाधानहरूलाई सामेल गरिएको छ।

दस्तावेजमा हामीले जे गरिरहेका छौँ त्यसलाई जारी राखिरहे के हुनेछ, अनि हाम्रो ग्रहलाई सही मार्गतर्फ डोऱ्याउनको लागि के-कस्ता कार्यवाहीहरू गरिनु आवश्यक छ जस्ता मुद्दाहरूको विस्तृत विश्लेषण गरिएको छ। यो रिपोर्टको उद्देश्य, सन् २०३०-सम्म सतत विकासको कार्यसूची तथा अन्तर्राष्ट्रिय सहमतिका पर्यावरणसम्बन्धी लक्ष्यहरू हासिल गर्न अनि पर्यावरणसित सम्बद्ध बहुपक्षीय सम्झौताहरूको कार्यान्वयनमा नीति निर्माताहरू र समग्रतामा मानव समाजलाई सहायता पुऱ्याउनु हो।

वैश्विक पर्यावरण रिपोर्टमा के चेताउनी दिइएको छ भने तत्काल कार्यवाही नगरिएको खण्डमा सन् २०५०-सम्ममा पानी र हावाको प्रदूषणले गर्दा लाखौँ मानिसहरूको अकाल मृत्यु हुनेछ। रिपोर्टमा भनिएको छ, “हामीले पर्यावरण सुरक्षाको कार्यलाई अति नै तीव्र गतिमा बढाउनु पर्नेछ, नत्र भने शताब्दीको मध्यसम्ममा एसिया, मध्य-पूर्व र अफ्रिकाका शहर एवम् क्षेत्रहरूका लाखौँ मानिसहरू अकाल मृत्युको शिकार बन्नेछन्।”

रिपोर्टमा यो पनि भनिएको छ कि ताजा पानीमा उपस्थित प्रदूषणले गर्दा रोगाणुरोधी तत्त्वहरूको विनाश हुनेछ अनि सन् २०५०-सम्ममा यो नै मृत्युको प्रमुख कारण बन्नेछ।

पर्यावरणसम्बन्धी विश्वको सर्वोच्च संस्थानले लिएका निर्णयहरूले यस सम्बन्धमा वैश्विक कार्यसूचीलाई निश्चित गर्नेछ अनि यहाँ कुन कुरो उल्लेखनीय छ भने, यस्तो सेप्टेम्बर महिनामा हुने राष्ट्र संघको जलवायुसम्बन्धी कार्यवाहीबारे शिखर बैठकको ठीक अघि हुनेछ।

आलेखके.भी. भेंकटसुब्रमनियन, वरिष्ठ पत्रकार

अनुवादकः राजकुमार सिंह

वाचकः विष्णुबहादुर गुरूङ्ग