द्विपक्षीय सम्बन्धहरूलाई मजबुत बनाउनको लागि भारतका राष्ट्रपति कोविन्दको क्रोएसिया यात्रा

भारतका राष्ट्रपति राम नाथ कोविन्द अनि उहाँकी धर्मपत्नी दक्षिण-पूर्वेली यूरोपमा अवस्थित एक सानो देश, क्रोएसियाको सरकारी यात्रामा जानुभएको थियो। क्रोएसियासित भारतका सम्बन्धहरू एक पुरानो ऐतिहासिक समीकरणको हिस्सा हो। यो त्यस समयको कुरो हो जब नयाँ दिल्ली, अविभाजित युगोस्लाभियाको राजधानी बेलग्रेड साथै काइरो अनि जकार्ता असंलग्न आन्दोलनको एक हिस्सा थिए। शीत युद्धको समयमा यो आन्दोलनले वैश्विक राजनीतिमा एक भिन्नै दृष्टिकोण प्रदान गरेको थियो। सन् १९४५-देखि सन् १९९२-सम्म क्रोएसिया ती छः गणराजहरूमध्ये एक थियो जुन गणराज्यहरू मिलेर युगोस्लाभिया बनेको थियो। सन् १९९२-मा अस्तित्वमा आएको क्रोएसियाको कुनै भारतीय राष्ट्रपतिद्वारा गरिएको यो प्रथम सरकारी यात्रा थियो।

भारत अनि क्रोएसिया बीच धेरै लामो समयदेखि सांस्कृतिक सर-सम्पर्कहरू रहिआएका छन्। गुरुदेव रविनद्रनाथ टेगोरले सन् १९२६-मा क्रोएसियाको भ्रमण गर्नुभएको थियो अनि यसको अतिरिक्त गोवा स्थित सेन्ट ब्लेज गिर्जा क्रोएसियाको डुब्रोभनिकमा भएको मूल गिर्जाकै एक प्रतिरूप हो, जो सन् १६६७-को भूकम्पमा ध्वस्त भएको थियो। डुब्रोभनिक अनि गोवा बीच निकटताको कारण थियो, मसालाको व्यापार। जगरेब विश्वविद्यालयको भारतीय विद्या विभागको छः दशकहरूभन्दा अधिकको लामो इतिहास छ अनि त्यहाँ एक दशकअघि भारतीय सांस्कृतिक सम्बन्ध परिषदका हिन्दी चेयरको स्थापना गरिएको थियो।

भारतले सन् १९९२-मा स्वाधीन भएको नयाँ राष्ट्र, क्रोएसियालाई मान्यता प्रदान गरेको थियो। आफ्नो यात्राको समयमा राष्ट्रपति कोविन्दले जगरेब विश्वविद्यालयमा ’भारत-क्रोएसिया सम्बन्धहरू अगाडि बढ्ने मार्ग’ विषयमा एक भाषण दिनुभयो। उहाँले भन्नुभयो कि भारतका दोस्रो राष्ट्रपति अनि उहाँका लब्ध प्रतिष्ठ पूर्वाधिकारी, डाक्टर सर्वेपल्ली राधाकृष्णननले अक्टोबर सन् १९६५-मा विश्व विद्यालयको भ्रमण गर्नुभएको थियो। राष्ट्रपति कोविन्दले संस्कृत चेयरलाई स्थापित गर्नुभयो अनि हिन्दी चेयरको नवीकरण गर्नुभयो। दुइ देशहरूका भाषाहरू, संस्कृति एवम् इतिहासको अध्ययन गरेर उनीहरूलाई निकट ल्याएकोमा उहाँले विश्विद्यालयको प्रशंसा गर्नुभयो।

हुन त, क्रोएसियामा बसोबासो गर्ने भारतीयहरूको संख्या धेरै कम्ती छ, तर जगरेबमा भारतीय समुदायद्वारा आयोजित स्वागत समारोहमा भारतका राष्ट्रपतिले त्यहाँ बसोबासो गर्ने भारतीयहरूको प्रशंसा गर्नुहुँदै भन्नुभयो, “तपाइँहरू त्यो चस्मा हुनुहुन्छ जस मार्फत क्रोएसियालीहरूले भारतलाई हेर्छन् अनि तपाइँहरूको यहाँ प्राप्त सफलताले यस देशमा भारतको सकारात्मक छवि निर्माण गर्नमा ठूलो योगदान पुऱ्याएको छ।” यसबाहेक, उहाँले उनीहरूलाई भारतको आर्थिक वृद्धिबाट लाभ उठाउने अनि भारतमा लगानी गर्ने आमन्त्रण दिनुभयो। राष्ट्रपति महोदयले उहाँको सम्मानमा आयोजित समारोहमा उहाँले दिनुभएको भाषणको स्मरण गर्नुभयो र पोहोर फिफा विश्वकपमा क्रोएशियाको उत्कृष्ट प्रदर्शनको उल्लेख गर्नुभयो। उहाँले के भन्नुभयो भने विश्वकपको फाइनल पुग्ने टीमले धेरै भारतीयहरूमाथि नमेटिने छाप छोडेको छ।

भारतको परराष्ट्र मामिला मन्त्रालयअनुसार क्रोएशियासित भारतको व्यापार मामुली छ। यसकारण यो यात्राले यसमा वृद्धिमाथि बल दिनेछ। द्विपक्षीय व्यापारमा विस्तार निम्ति कतिपय महत्त्वपूर्ण क्षेत्रहरूमा वस्त्र, छाला, औषधी, कफी, चियापत्ति, साथै औद्योगिक एवम् विद्युत यन्त्रहरू सामेल छन्। भारत-क्रोएशिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति कोविन्दले भन्नुभयो, “व्यापार र लगानीमा वृद्धिका अपार सम्भावनाहरू छन् साथै नवाचार, अनुसन्धान तथा स्टार्ट-अप सहभागिताका अवसरहरू पनि धेरै छन्”। उहाँले “भारतमा निर्माण गर, स्वच्छ भारत, स्टार्ट-अप भारत अनि डिजिटल भारत”-सित सम्बद्ध परियोजनाहरूमा भाग लिनको लागि क्रोएशियालाई आमन्त्रण दिनुभयो। योसितै उहाँले यो पनि भन्नुभयो, “पर्यटन र शहरी पूर्वाधार जस्ता क्षेत्रहरूमा हामी क्रोएशियाबाट केही सिक्नको लागि इच्छुक छौँ”। क्रोएशियाको अवस्थितिले भारतको लागि दक्षिण-पूर्व युरोपसित अधिक सम्बन्ध विकसित गर्ने ठूलो अवसर उपलब्ध गराउँछ।

भारतका राष्ट्रपतिले के दोहऱ्याउनु भयो भने नयाँ दिल्लीले लोकतन्त्र, बहुवाद अनि शान्तिको प्रबल समर्थन गर्छ अनि वैश्विक स्तरमा बहुवादलाई समर्थन, वैश्विक शासनलाई मजबुत बनाउने र अन्तर्राष्ट्रिय नियम एवम् कानूनहरूको पालनाको जोरदार वकालत गर्छ।

जगरेब विश्व विद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुँदै, राष्ट्रपति कोविन्दले महात्मा गान्धीको विचारधाराको उल्लेख गर्नुभयो अनि भन्नुभयो, “ज्ञान र शिक्षा सम्पूर्ण मानव जाति एक हो भनी बुझ्ने र सत्यको महान शक्तिलाई जान्ने साधनहरू हुन्”। भारतले राष्ट्रपिता महात्मा गान्धीको १५०औँ जयन्ती यही २ अक्टूबरमा मनाउनेछ अनि क्रोएशियाका जनतालाई उपहारको रूपमा जगरेबमा उहाँको अर्ध-प्रतिमाको अनावरण गरिनेछ।

आलेख: जवाहरलाल नेहरू विश्वविद्यालयको यूरोपेली अध्ययन केन्द्रका अध्यक्ष एवम् जिन मोनेट चेयर, प्रोफेसर उम्मु सलमा बाबा

अनुवादकः राजकुमार सिंह

वाचकः प्रणय सुब्बा