भोकमरीको गम्भीर समस्याले गर्दा विश्वका १० करोडभन्दा बढी मानिसहरू अझै प्रभावित

खाद्य सुरक्षाको समस्या विश्वव्यापी रूपमा एउटा ठुलो चुनौती बनिरहेको छ। बढ्दो जनसङ्ख्या, आयस्तामा वृद्धि, बदलिँदो खानपान, पानीको बढ्दो अभाव, भोजनको अभाव, सिंचाइ प्रक्रियामा कमी, भूमि कटानको बढ्दो समस्या, जलवायु परिवर्तन र जल आरक्षहरू पग्लने घटनाहरूले खाद्य सुरक्षा सुनिश्चित गर्ने दिशामा तगारो तेर्साइरहेका छन्। यस्ता समस्याहरूले खासगरी उदीयमान अर्थव्यवस्थाहरूलाई मर्कामा पारिराखेका छन्।

विश्वभरिमा उत्पादन भइरहेको भोजन, सबैको पेट भर्नका लागि पर्याप्त हुँदाहुँदै पनि विशाल सङ्ख्यामा मानिसहरू खाद्यको अभावले छटपटाइ रहनु भनेको निकै अचम्मको कुरा हो। भोकमरी र गरीबीको समस्या कम पार्ने तथा खाद्य सुरक्षा र पौष्टिकताको स्तर बढाउने दिशामा निकै प्रगति नभएको पनि होइन। उत्पादकतामा वृद्धि तथा प्राविधिक स्तरमा भएको उन्नतिले बढी प्रभावकारी संसाधनको प्रयोग र खाद्य सुरक्षाको क्षेत्रलाई सुधार गर्ने दिशामा ठुलो योगदान पनि गरि नै राखेका छन्। तर चिन्ताका कारण भने यथावत नै छन्।

सन् २०१८-मा विश्वभरि देखिएको गम्भीर खाद्य सङ्कटबारे सम्पूर्ण विश्वलाई समेटेर तयार पारिएको ताजा प्रतिवेदनमा ५३ देशका ११ करोड ३० लाख मानिसहरूले यो समस्याको सामना गरेका बताइएको छ। यसका अतिरिक्त, प्रतिवेदनले अरू ४२ देशका १४ करोड ३० लाख मानिसहरू भोकमरीको भुँवरीमा फँस्ने सँघारमा पुगेका बताएको छ। सन् २०१८-मा जलवायु तथा प्राकृतिक विपदाका कारण थप २ करोड ९० लाख मानिसहरू भोजनको गम्भीर समस्यामा फसेका थिए।

उक्त प्रतिवेदनले खाद्य असुरक्षाका सम्बन्धमा विश्वको अत्यन्त नाजुक स्थितिको रूपरेखा प्रस्तुत गरेको छ। भोकमरीको गम्भीर समस्या झेलिरहेका कुल मानिसहरूको लगभग दुई तिहाइ अंश त आठ देशहरू- अफगानिस्तान, कंगो लोकतान्त्रिक गणराज्य, इथियोपिया, नाइजेरिया, दक्षिणी सुडान, सुडान, सिरिया र यमनमै छन्। १७ देशहरूमा भोकमरीको समस्या उस्तै रहेको वा बढेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ।

विश्वमा भोकमरीको सिकार भएका कुल मानिसहरूमध्ये आधाभन्दा बढी त अफ्रिकामा बसोवास गर्दछन्। यो समस्याले गर्दा सबैभन्दा बढी पूर्वी अफ्रिका, त्यसपछि दक्षिणी अफ्रिका, पश्चिमी अफ्रिका र साहेलका मानिसहरू प्रभावित भएका पाइएको छ। भोकमरीले गर्दा आलसतालस भएका मानिसहरूको बसोवास हुने विश्वको कुल क्षेत्रफलमध्ये २४ प्रतिशत अंशले मध्यपूर्वका सात देश वा भौगोलिक इलाकाहरूलाई समेटेको छ। यो प्रतिशत, दक्षिण तथा दक्षिण पूर्व एसियाका चार देशहरू म्याँमार, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानमा गरी १३ प्रतिशत रहेको छ। बाँकी पाँच प्रतिशत हिस्साले युक्रेन, ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रलाई समेटेको छ।

युरोपेली संघ, राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफ. ए. ओ.), र राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लु. एफ. पि.)- ले यही हप्ता ब्रसेल्समा संयुक्त रूपमा उक्त प्रतिवेदन पेस गरेका थिए।

खाद्य असुरक्षाका समस्याहरूलाई जटिल बनाउने कारकहरूमा जलवायुसम्बन्धी विपदा, आर्थिक क्षेत्रमा उथलपुथल, अस्थिरता, द्वन्द्व र विस्थापनका समस्याहरू प्रमुख हुन्। यी कारकहरूले निरन्तर रूपमा जीवन-यापनका क्षेत्रमा तगारो तेर्साएर मानव जीवनलाई सङ्कटमा पार्दै आएका छन्। खाद्यको गम्भीर सङ्कट उत्पन गराउने प्राथमिक कारक अर्थव्यवस्था धराशायी हुनु नै थियो र बुरुन्डी, सुडान अनि जिम्बाब्वे यसका ज्वलन्त उदाहरण हुन्।

सन् २०१९-का लागि खाद्य असुरक्षा तथा कुपोषणबारे पूर्वानुमान गर्दै उक्त प्रतिवेदनले द्वन्द्व तथा असुरक्षाको भावना खाद्य सुरक्षा सङ्कट उत्पन्न गर्ने प्रमुख कारक बनिरहने सम्भावना व्यक्त गरेको छ। प्रतिवेदनमा द्वन्द्व, स्थानीय इलाकाहरूमा असुरक्षाको भावना वा राजनैतिक उथलपुथलले आर्थिक अस्थिरता वा विकास दरमा मन्दी ल्याउन सक्छ भनिएको छ।

मौसमको मारले गर्दा यो वर्ष विश्वका कैयौँ अञ्चलहरूमा कृषि तथा घरपालुवा जनावरहरूको उत्पादनमाथि गम्भीर असर पर्ने सम्भावना छ र यही कारकले खाद्य सुरक्षाका क्षेत्रमा सङ्कट उत्पन्न गर्न सक्छ। प्रतिवेदनले, यी परिस्थितिका कारण जीवन-यापनको स्तरमा गिरावट, मुद्राको त्वरित अवमूल्यन र खाद्य सङ्कट समाधान गर्ने दिशामा प्रभावकारी उपाय अपनाउन सरकारहरूसँग आवश्यक संसाधनहरूको अभाव हुने चेतावनीसमेत दिएको छ।

अब यस्तो गम्भीर पूर्वानुमान गरिए तापनि, यसबाट पार पाउने कुनै उपाय के होला भन्ने प्रश्न उठ्छ। एउटा सशक्त, स्थिर तथा भोकमुक्त विश्व सिर्जना गर्नका लागि उक्त प्रतिवेदनले द्वन्द्व समाप्त गर्ने, महिलाहरूलाई सशक्त बनाउने, बच्चाहरूलाई पोषण तथा शिक्षा प्रदान गर्ने, ग्रामीण क्षेत्रमा पूर्वाधारहरूको विकास गर्ने र सामाजिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउनु पर्ने आवश्यकतालाई औँलाइएको छ। यसका अतिरिक्त, द्वन्द्व रोकथाम तथा दिगो शान्ति सुनिश्चित गर्ने दिशामा मद्दत गरेर मानिसहरूको जीवन तथा आजीविका सुरक्षित गर्न सकिने, संरचनात्मक संवेदनशीलता अर्थात् परिवारमा आयस्ता, शिक्षा, स्वास्थ्य स्याहार तथा अन्य बुनियादी सुविधाहरूको अभाव दूर गरेर यी समस्याको समाधान गर्न सकिने छ भन्दै प्रतिवेदनले आशाको किरण देखाएर वक्तव्यको बिट मारेको छ।

खाद्य सङ्कट अत्यन्त गम्भीर र जटिल बन्न सक्ने हुनाले यस्ता समस्याहरू उत्पन्न नहोऊन् भन्नाका खातिर नवीनतम उपायहरू अपनाएर समाधान तथा रोकथाम गर्ने मार्ग खोज्नु अत्यन्त आवश्यक छ। प्रतिवेदनले खाद्य सङ्कटका क्षेत्रमा मानवीय तथा विकासोन्मुख खण्डमा कार्य गर्ने सबै सरोकारवालाहरूबिच एकीकृत सोच तथा कार्यको आवश्यकता हुनु पर्छ भन्ने कुरामा आलोकपात गरेको छ। प्रतिवेदनले औँल्याएका तथ्यहरूले मानवीय खाँचो तथा त्यसका प्रमुख कारणहरूको समाधान खोज्ने दिशामा रोकथाम, तयारी र प्रतिक्रिया दिने प्रक्रियामा मिलेर काम गर्नु अत्यन्त जरुरी छ भन्ने कुरा सुनिश्चित गर्ने सशक्त आह्वान  गरेका छन्।

खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक जोस ग्राजिआनो दा सिल्भाले प्रभावित तथा संवेदनशील अवस्थामा बसोवास गरिरहेका मानिसहरूलाई सङ्कटबाट निकाल्नका लागि हामीले मानवीय सहायता, विकासोन्मुख कार्य तथा शान्ति- यी तीनवटै लक्ष्यलाई सँगै लिएर काम गर्नु अत्यन्त जरुरी छ भन्नुभयो। उहाँको भनाइमा, जीवनहरू जोगाउनका लागि हामीले आजीविका सुरक्षित गर्नु पनि उत्तिकै आवश्यक छ।

आलेख: वरिष्ठ पत्रकारके. भि. भेंकटसुब्रमणियम

अनुवाद एवम् वाचन: दीपक पौडेल