सूडानमा सङ्कट

सूडानमा गत एक सातामा यति अधिक परिवर्तनहरू भएका छन् जो राष्ट्रपति उमर अल-बशिर अधीन तीन दशकहरूमा पनि भएको थिएन। कैयौँ महिनाहरू लगातार चलेको जन विरोध पश्चात् यसै महिनाको प्रारम्भतिर शासनमा बलपूर्वक परिवर्तन गरी राष्ट्रपति उमरलाई सत्ताबाट हटाइएको थियो।

सन् १९८९-मा सत्ता आफ्नो हातमा लिएपछि बशिर स्थायी रूपमा विद्यमान राष्ट्रिय सङ्कट माझ पनि अगाडि बढ्नमा सफल रहनुभएको थियो। सन् २०११-मा दक्षिण सूडानले स्वतन्त्रता प्राप्त गरेपछि सूडानले यसको भू-भागको एक-तिहाई अनि तेलबाट हुने आम्दानीको तीन-चौथाई गुमाएको थियो, तर त्यसताकाको प्रचण्ड गृह युद्धमा पनि उहाँ सत्तामा कायम रहनमा सफल हुनुभयो। दुइ दशकहरूसम्म यो देश अन्तर्राष्ट्रिय रूपमा अलग-थलग रहेको थियो अनि उहाँले यसलाई आफ्नो राजनीतिक लाभको लागि उपयोग गर्नुभयो। आफ्ना असफलताहरूको लागि उहाँले आफ्ना विदेशी विरोधीहरूलाई दोषी ठहर गर्नुभयो।

तर ११ अप्रेल उहाँको लागि महाप्रलयको दिन थियो। सूडानका अधिकांश मानिसहरूको लागि अहिले तुरून्तै गरिनुपर्ने कार्य हो, कठिन संघर्षहरूले जन्माएको आन्दोलनलाई ती नेताहरूबाट बचाएर राख्नु जसले यसलाई विफल तुल्याउनका लागि आफूले गर्नसक्ने सबै कुरोहरू गर्ने आशङ्का छ।

विरोध प्रदर्शनकारीहरूलाई केही आरम्भिक सफलता हात लागेको छ। उनीहरूले सङ्क्रमणकालीन सेना परिषदका स्वःनियुक्त प्रमुखलाई हटाउनमा सफलता प्राप्त गरेका छन् जो पुरानो शासनको अति नै निकट थिए। विरोध प्रदर्शनकारीहरूको प्रतिवादले गर्दा केवल एक दिनपछि उहाँलाई पदबाट हट्न पऱ्यो।

तर अगाडि योभन्दा विकट चुनौतीहरू उपस्थित छन्। यो कुरो स्पष्ट छ की आन्दोलनकारीहरूले सैनिक शासनबाट गैर-सैनिक शासनतर्फको सङ्क्रमणलाई सुगम बनाउनको लागि मार्ग प्रशस्त गर्ने प्रयास गर्नेछन् जसमा सूडानलाई शान्ति, स्थिरता एवम् समृद्धिको मार्गमा डोऱ्याउन सकियोस्। तर यो एक ठूलो चुनौती हो किनभने आन्दोलनका नेताहरू राजनीतिक दृष्टीले नयाँ साथै अपरिपक्व छन् अनि उनीहरूको मुकाबिला सेनाका षडयन्त्रकारी साथै धोकाबाज व्यक्तिहरू तथा पुरानो शासनका घनिष्ठहरूसित छ जसले हाल अस्तित्वमा रहेको सत्ता एवम् शासन प्रणाली र ढाँचालाई कायम राख्ने भरमग्दुर प्रयास गर्नेछन्।

सूडानले छिमेकी इजिप्ट अनि अन्य कैयौँ मुलुकहरूबाट शिक्षा ग्रहण गर्न सक्छ जहाँ सन् २०११-मा भएका जन-आन्दोलनहरूद्वारा सेनाका तानाशाह शासकहरूलाई हटाइएको थियो तर साधारण जनतालाई यसबाट कुनैप्रकारको सकारात्मक लाभ भएन।

बशिरलाई सत्ताबट हटाउनको लागि भएको आन्दोलनमा युवा, महिला र पेसावाल वर्गहरू तथा शहर एवम् ग्रामीण क्षेत्रका गरीब जनताले प्रमुख भूमिका खेलेका थिए अनि यसकारण सत्ता सङ्क्रमण समावेशी हुनु आवश्यक छ। यसमा आन्दोलनको राष्ट्रिय स्वरूपको प्रतिनिधित्व भएको हुनुपर्छ। आन्दोलनको नेतृत्व गर्नेहरूले आगामी चरणमा पनि त्यही भूमिका खेल्नुपर्नेछ किनभने सेना परिषदलाई मात दिनको लागि सडकहरूमा जनताको उपस्थिति आवश्यक छ। सङ्क्रमणलाई साँच्चै नै समावेशी बनाउने हो भने त्यसमा बशिरको राष्ट्रिय काँग्रेस पार्टीका कतिपय सदस्यहरूलाई पनि सामेल गर्नु आवश्यक छ।

सर्वाधिक महत्त्वपूर्ण के छ भने, यो सङ्क्रमण गैर-सैनिक नेतृत्ववादी हुनुपर्छ। एक सैनिक शासनको स्थानमा अर्को सैनिक शासन नआवोस् भनी सुनिश्चित गर्नको लागि यो आवश्यक छ। आगामी दिनहरूमा विभिन्न गुटहरूमा मतभेद उत्पन्न हुन सक्छ जसको परिणामस्वरूप हिंसा फैलिन सक्छ जो देशको स्थिरताको लागि सर्वाधिक ठूलो जोखिम हुनेछ। परिवर्तनको गति द्रूत तर व्याहारिक हुनुपर्छ। नागरिकहरूका अधिकारहरूमाथि लगाइएका प्रतिबन्धहरूलाई समाप्त गरिनुपर्छ, राजनीतिक स्वतन्त्रतालाई कायम गर्नुपर्छ, नयाँ संविधानको मसौदा तयार पार्नुपर्छ तथा स्वतन्त्र, निष्पक्ष एवम् विश्वसनीय चुनाउहरू सम्पन्न गराउनुपर्छ।

शान्ति एवम् स्थिरताका साथ न्यायलाई पनि सुनिश्चित गर्नु आवश्यक छ। बशिरको भविष्यको निर्णय निष्पक्षताका साथ अनि सावधानीपूर्वक गरिनुपर्छ। उल्लेखनीय छ, जन-संहार, युद्ध अपराध साथै मानवता विरूद्ध अपराधहरूको मामिलामा अन्तर्राष्ट्रिय आपराधिक अदालतमा बशिरको उपस्थिति वांछित छ। त्यहाँ उपस्थित आतङ्कका सर-सामग्रीहरू र ढाँचालाई नष्ट गर्नु पनि  आवश्यक छ। सुरक्षासित सम्बद्ध  ढाँचाको व्यापक सुधार एक अर्को आवश्यकता हो।

संयुक्त राज्य अमेरिका, यूरोपेली मुलुकहरू, जापान, भारत अनि अन्य मुलुकहरू लगायत अन्तर्राष्ट्रिय समुदायले सूडानको गैर-सैनिक नेतृत्वलाई सशक्त राजनीतिक, कुटनीतिक अनि आर्थिक समर्थन प्रदान गर्नमा मुख्य भूमिका खेल्ने खाँचो छ। सूडानको अर्थव्यवस्था लगभग पूर्ण रूपमा ध्वस्त हुनु नै त्यो झिल्का हो जसले आन्दोलनलाई दन्काएको थियो। अर्थव्यवस्थालाई पुनर्जीवित गर्नमा सूडानका अन्तर्राष्ट्रिय सहभागीहरूले मद्दत गर्न सक्छन्। द्विपक्षीय अनि बहुपक्षीय ऋणहरूमा छूट तथा प्रमुख दाताहरूबाट सहायताका वाचाहरू सूडानका नयाँ नेताहरूको लागि प्रेरक सिद्ध हुनेछन्।

यो एक यस्तो मोड हो, जहाँ आन्दोलन सुरक्षित छैन। सूडानको सैनिक एवम् सुरक्षाहरूसम्बन्धी शीर्षस्थ अधिकारीहरूको गुट अन्ततः आन्दोलनकारीहरूका महत्त्वकांक्षाहरूलाई निष्फल तुल्याउन सफल हुन सक्छ। तर अर्कोतिर सूडानका नागरिकहरूले धैर्य, साहस, अनुशासन र शान्तिपूर्ण प्रतिवादहरूको मद्दतले अहिलेसम्म परिवर्तनलाई आकार दिनमा सफलता प्राप्त गरेका छन्। उनीहरूलाई आफ्नो देशको असल भविष्य सुनिश्चित गर्ने अवसरले बोलाइरहेको छ।

आलेखः भारतका भूतपूर्व कुटनीतिज्ञ तथा वैश्विक अध्ययन संस्थानका अध्यक्ष,राजदूत अशोक सज्जनहार

अनुवादकः राजकुमार सिंह

वाचकः प्रणय सुब्बा