सुधारका दिशामा भारत-अमेरिका सम्बन्धहरू

भारतमा अमेरिकाका पूर्व राजदूत रोबर्ट ब्ल्याकविलले देशका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले भारततर्फ अमेरिकी राष्ट्रपतिका नीतिअन्तर्गत गर्नुभएका पहलहरूलाई ‘बि-प्लस’ बताउँदै दुई देशबिचका सम्बन्धहरूको उच्च मूल्याङ्कन गर्नुभएको छ। जुन समयमा यो मूल्याङ्कन गरियो, त्यसलाई अत्यन्त महत्त्वपूर्ण भन्दा अत्युक्ति नहोला, किनभने राष्ट्रपति डोनल्ड ट्रम्प हाल दोस्रो कार्यकालका लागि चुनाव प्रचार गर्दै हुनुहुन्छ भने भारतको वर्तमान सरकार पनि दोस्रो कार्यकालका लागि चुनाव प्रक्रियामार्फत अघि बढिरहेको छ। ब्ल्याकविल नेतृत्वाधीन विदेश नीतिसम्बन्धी परिषदले आफ्नो विशेष प्रतिवेदनमा, ट्रम्पका विदेश नीतिहरूमाथि एक नजर लगाउँदा जस्ता देखिन्छन्, तीभन्दा धेरै गतिला छन् भनेको छ। प्रतिवेदनमा, भारतसँग दिगो तरिकाले सामरिक सम्बन्धहरू प्रवर्धन गरेकोमा राष्ट्रपति ट्रम्पलाई श्रेय दिनु पर्छ भन्ने कुरा पनि उल्लेख गरिएको छ।

अमेरिकी प्रतिवेदनलाई एकातिर राखेर भारतका विदेश नीतिबारे भारतका विद्वानहरूले निष्पक्ष तरिकाले गरेका सामान्य मूल्याङ्कनमा, भारतले अमेरिकासँगका सामरिक साझेदारी अघि बढाउने दिशामा हासिल गरेको उपलब्धिलाई हेर्दा दुई देशबिचको सम्बन्ध ‘बि- प्लसबाट बढेर ए’ मा पुग्ने धेरै सम्भावना रहेका बताएका छन्।

ब्ल्याकविलको अभिमत के छ भने, २१-औँ शताब्दीको सुरुदेखि नै उकालो लाग्न थालेको भारत-अमेरिका सम्बन्धलाई अझ मजबुत पार्ने दिशामा भइरहेका पहलहरूका लागि राष्ट्रपति ट्रम्पले श्रेय पाउनु पर्छ। भारतलाई अत्याधुनिक प्रविधि तथा सैन्य उपकरण प्रदान गर्नु, अमेरिकाको नयाँ भारत-प्रशान्त सागरीय रणनीतिको प्रमुख साझेदारका रूपमा भारतलाई सामेल गर्नु, दक्षिण एसियाका सम्बन्धमा अमेरिकी रणनीतिहरूमा भारतको दर्जा बढाउनु तथा हतियार प्रदान गर्ने सिलसिलामा भारतलाई नेटो सदस्य र एसियाका अन्य सहयोगी देशहरूको समान प्रमुखता दिनु र सेनाका विभिन्न अङ्गहरूसँग द्विपक्षीय अभ्यासहरूको सङ्ख्या बढाउनु भनेका अत्यन्त सकारात्मक घटनाक्रम हुन्। ब्ल्याकविलका विचारमा यी नयाँ घटनाक्रमहरूले अमेरिकी राष्ट्रिय हितहरूको संरक्षणमा ठुलो मद्दत पुऱ्याउने छन्।

यद्यपि, जलवायु परिवर्तन, महसुलसम्बन्धी नीति, एच१बि भिसा मुद्दा, द्विपक्षीय व्यापारका सम्बन्धमा जिएसपि प्रणालीबारे ट्रम्प प्रशासनको नकारात्मक रवैयाका बावजुद ब्ल्याकविलले अमेरिकासँग सामरिक साझेदारीलाई दिगो बनाउनेतर्फ भारतले गरेको प्रयासलाई सामान्य मात्र श्रेय दिनुभएको छ।

विश्वव्यापी रूपमा शान्ति, व्यवस्था तथा स्थिरता कायम गर्ने दिशामा भारत र अमेरिकालाई एउटै विचारधारामा सहमत गराउने मार्गमा तेर्सिएका तगारोहरू पन्साउन विभिन्न समयका अमेरिकी राष्ट्रपति तथा भारतीय प्रधान मन्त्रीहरूलाई धेरै हम्मे-हम्मे परेको हो। अमेरिकाले गठबन्धन र भारतले असंग्लनताका नीति बनाउन आ-आफ्ना रणनीति तयार गर्दा भारत-अमेरिकाबिचका सम्बन्ध विपरीत दिशामा परिचालित भएका दिनदेखि नै सम्बन्धहरू सपार्न निकै लामो समय पार भइसकेको छ।

ट्रम्प प्रशासनका व्यापार, लगानी तथा जलवायुसम्बन्धी नीतिले भारतलाई निकै असर पारेको छ; तैपनि भारत-अमेरिका सामरिक सम्बन्धहरूको महत्त्व तथा यसमा निहित बृहत् परिदृश्यलाई ध्यानमा राखेर भारतले धेरै संयम अपनाएको छ।

भारतले आर्थिक मतभेदहरूको स्थिति सम्हाल्नका लागि बृहत् स्तरमा संयम तथा सुझबुझ देखाउँदै कुनै मुद्दालाई पनि अमेरिकासँगका साझेदारीको मार्गमा अडचन आउन नदिएको कुरालाई ध्यानमा राखेर अमेरिकी वार्ताकारहरूले पनि द्विपक्षीय सहयोगलाई मजबुत बनाउनका लागि ट्रम्प प्रशासनमाथि दिगो तथा अझ राम्रो आर्थिक सहयोग प्रवर्धन गर्न दुवै देशको हित हेर्नु पर्छ भन्ने कुरा बुझाउँदै दबाव दिनु पर्ने छ।

अन्य देशहरूसँग अमेरिकाका गोप्य सामरिक लक्ष्यहरू रहेका आर्थिक नीति, वर्तमान अमेरिकी प्रशासनले बुझ्नै नसकेको प्रतीत हुन्छ। राष्ट्रपति ट्रम्प अन्य देशहरूसँगका सामरिक हितहरूलाईसमेत बेवास्ता गरी घरेलु व्यावसायिक हितहरूतर्फ बढी ध्यान दिनुहुन्छ। अमेरिकाका रणनीतिकारहरू पनि निश्चित रूपमा यो कुरा जान्दछन् र यसैको परिणामस्वरूप श्री ट्रम्पको पहिलो कार्यकालका दुईजना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले आफ्नो पदबाट राजिनामा दिइसकेका छन्।

विश्वभरिका अमेरिकाका कैयौँ सहयोगी तथा सामरिक साझेदारहरूलाई ट्रम्प प्रशासनसँग सहकार्य गर्न गाह्रो भइरहेको छ र भारत पनि यसमा अछुतो छैन। प्यारिस जलवायु सम्झौता, इरान परमाणु सम्झौता तथा इरान र रसिया दुवैका लागि भौगोलिक प्रतिबन्धहरूको सम्बन्धमा अतिरिक्त नीति अपनाउनेबारे सम्झौताबाट ट्रम्प प्रशासन पछि हट्नाले उत्पन्न कठिन परिस्थितिहरूका बावजुद सही तरिकाले स्थिति सम्हालेकोमा भारतका प्रधान मन्त्रीलाई पूर्ण श्रेय दिनु जरूरी छ।

लामो समयदेखि वाशिङ्गटनका मित्र र सहयोगी रहिआएका देशहरूका लागि प्रतिकूल ठहरिने केही नीति अपनाउने कार्यमा राष्ट्रपति ट्रम्प अघि बढ्नु हुन्थ्यो भने उहाँका विदेश नीतिहरूले अझ धेरै समर्थन हासिल गर्ने थिएहोला। यसका विपरीत, भारतमा व्यक्त गरिएका निष्पक्ष विचारहरूले नयाँ दिल्लीलाई राष्ट्रिय सुरक्षासम्बन्धी नीति तथा विश्वका अन्य देशहरूसँगका सम्बन्धहरू सम्हाल्ने दिशामा कौशल प्रदर्शन गरेकोमा सम्भवतः पूर्ण श्रेय दिएका छन्।

आलेख: जवाहरलाल विश्वविद्यालयको अमेरिकी अध्ययन

केन्द्रका प्रो. भाइस चान्सलर तथा चेयरम्यानचिन्तामणि महापात्र

अनुवाद तथा वाचन: दीपक पौडेल