श्रृंखलाबद्ध बम विस्फोटहरूले गर्दा श्रीलङ्कामा शान्ति भङ्ग

द्वीप राष्ट्रका सबै गिर्जाघरहरूमा यीशु बौरि उठेको खुशीमा मनाइने चाड ईस्टर सण्डेको प्रारम्भ शान्तिपूर्ण ढङ्गमा भएको थियो तर बिहान बित्दा-नबित्दै श्रीलङ्का घातक आतङ्कवादी हमलाहरूको शिकार बन्यो। हमला राजधानी कोलोम्बोको एक गिर्जाघरबाट सुरु भयो अनि त्यसको केही मिनेट पश्चात् त्यँहादेखि २५० किलोमिटर टाढा पूर्वेली तटमा स्थित बाट्टिकलुआ शहरको एक अर्को गिर्जाघरमा बम विस्फोट भयो। त्यसपछि एक अर्को चर्च तथा कोलोम्बोको तीन लक्जरी होटलहरू बम आक्रमणको लक्ष्य बने। द्वीप राष्ट्रको जम्मा जनसंख्याको लगभग ६ प्रतिशत क्याथलिक छन् अनि तिनीहरूले ईस्टरको प्रार्थनामा भाग लिइरहेको बेलामा गिर्जाघरहरूमा आक्रमण गरिए।

सबै लगाएर, ६ घण्टाको छोटो अवधिमा जम्मा ८ बम विस्फोटहरू भए। २९०-भन्दा अधिक मानिसहरूको मृत्यु भयो अनि अन्य ५००-भन्दा अधिक मानिसहरू घाइते भए। श्रीलङ्कामा भएको अहिलेसम्मको यो सर्वाधिक घातक आक्रमण हो। मर्नेहरूमा ६ भारतीयहरू बाहेक युरोप र अमेरिकाका अनेकौँ पर्यटकहरू सामेल छन्। धेरैलाई यो आतङ्की हमलाले २६ नोभेम्बर, सन् २००८-को मुम्बई आतङ्की हमलाको याद दिलायो। यो हमलामा विदेशी आतङ्कवादीहरूले प्रतिष्ठित ताज महल होटललाई शिकार बनाएको थिए।

अधिकांश पर्यटकहरूले हमलाहरूको सही समन्वय र अचूक प्रहारमाथि प्रकाश पारे। यी आक्रमणहरूमा कतिपय अन्तर्राष्ट्रिय आतङ्की गुटहरू पनि सामेल भएको अनुमान लगाइँदैछ। अहिलेसम्म कुनैपनि आतङ्की गुटले यी हमलाहरूको जिम्मेवारी लिएको छैन्। श्रीलङ्काली प्रहरीअनुसार उनीहरूलाई जिहादी उग्रवादी गुटहरूका गतिविधिहरूबारे गुप्त सूचना प्राप्त भएको थियो तर उनीहरू कार्यवाही गर्नमा असफल रहे।

श्रीलङ्काली प्रधान मन्त्री रनिल विक्रमासिंघेले पनि यो कुरो स्वीकार गर्नुभयो कि उहाँको सरकारलाई आक्रमणमा संलग्न हुनेबारे केही जानकारी छ, तर जाँचहरू पूरा नभइञ्जेल यसबारे विस्तारपूर्वक बताउन मनाही गर्नुभयो।

कोलोम्बो बाहिर एक सुरक्षित घरमा छापा मार्दा भएको गोलीबारीमा तीन सुरक्षाकार्मीहरूको पनि मृत्यु भयो। दिनको अन्तसम्म सुरक्षा बलहरूले केरकार निम्ति ८ संदिग्ध व्यक्तिहरूलाई समात्नमा सफलता पाए। गिर्जाघरहरूमा भएका हमलाहरू मध्ये कम्तीमा पनि एक हमलामा आत्मघाती बम आक्रमणकारी सामेल भएको अनुमान लगाइएको छ।

विश्वभरीका सरकार अनि नेताहरूले कोलोम्बो आक्रमणको तीव्र भत्सर्ना गरेका छन् अनि श्रीलङ्कीहरूसित एकसाथ खडा रहने वचन दिएका छन्। भारतले आतङ्की हमलाको तीव्र भत्सर्ना गर्दै श्रीलङ्कासित एकजुटता व्यक्त गरेको छ। भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले श्रीलङ्काली राष्ट्रपति सिरिसेना तथा प्रधान मन्त्री विक्रमासिंघेसित कुराकानी गर्नुभयो। श्री मोदीले आक्रमणलाई निर्मम एव् जघन्य बताउनुभयो। उहाँले भन्नुभयो, भारत श्रीलङ्कालाई सबैप्रकारको सहायता गर्न तयार छ। भारतका विभिन्न राजनीतिक पार्टीका नेताहरूले श्रीलङ्कामा भएको आक्रमणहरूको भत्सर्ना गरेका छन्।

श्रीलङ्कामा गरिएको श्रृङ्खलाबद्ध विस्फोटको उद्देश्य अधिकतम प्रभाव जमाउनु थियो अनि यसकारण आतङ्कीहरूले सहज शिकारलाई चुने। आतङ्कीहरूले क्षेत्रका मुलुकहरू अनि विशेष गरी पश्चिमेली मुलुकहरूलाई सन्देश दिन चाहन्थे। कोलोम्बो बाहेक श्रीलङ्काको पूर्वेली तट स्थित बाट्टिकलुआलाई शिकार बनाएर शायद आतङ्कवादीहरूले उनीहरूको पहुँचको विस्तार परिधिको बारेमा जानकारी दिएका हुन्। अधिकतम अन्तर्राष्ट्रिय प्रभाव जमाउने उद्देश्यले आतङ्कीहरूले होटलहरूमा आक्रमण गरेका हुन्। होटलहरूमा गरेका बम विस्फोटहरूको उद्देश्य द्वीप राष्ट्रको पर्यटन उद्योगलाई क्षति पुऱ्याउनु हो, जो त्यस देशको अर्थव्यवस्थाको प्रमुख स्रोत हो। ईस्टर सण्डेको प्रार्थना सभामा आक्रमण गरेर आतङ्कीहरू शायद त्यस देशमा धार्मिक विभाजनको सिर्जना गर्न चाहन्छन्।

कतिपय दृष्टिले आईतबारको आतङ्की हमला तीन वर्षअघि ईस्टरको दिन लाहोरमा गरिएको आक्रमण समान छ। लाहोर आक्रमणमा ७५ व्यक्तिहरूको मृत्यु भएको थियो। पाकिस्तान सही शिक्षा ग्रहण गर्ने काममा सुस्त रहिआएको छ अनि अहिलेसम्म आतङ्कवाद विरूद्ध निर्णयात्मक कार्यवाही गर्नमा असफल रहेको छ। यसको परिणामस्वरूप, जब पनि वैश्विक आतङ्कवादको चुनौतीको सामना गर्नको लागि एकसाथ खडा हुने प्रश्न आउँछ तब पाकिस्तान निर्णयात्मक कार्यवाही गर्नबाट पछि हट्छ। जे होस, कोलोम्बोबाट यसपाली आएको सन्देश यसभन्दा अधिक स्पष्ट हुनसक्दैन थियो। दक्षिण एसियाको कुनैपनि देश आतङ्कीहरूको पहुँचबाट बाहिर छैन। यो घातक दैत्यको सामना गर्ने एकमात्र तरिका हो, दृढताका साथ एकजुट भएर खडा हुनु। क्षेत्रका कुनैपनि सरकारले यस सन्देशको उपेक्षा गर्छ भने उसले ठूलो खतरा मोल लिनेछ, जसको जिम्मेवार ऊ स्वयम् हुनेछ।

आलेखः एम.के. टिक्कु, राजनीतिक समीक्षक

अनुवादकः राजकुमार सिंह

वाचकः रञ्जना खवास