तेस्रो चरणका चुनाउमा विशाल संख्यामा मतदाताहरूको सहभागिता

३००-भन्दा अधिक निर्वाचन क्षेत्रहरूमा विश्वको सर्वाधिक विशाल चुनाउ प्रक्रिया समाप्त भएको छ। भारतमा चुनाउहरूको तेस्रो चरण पूरा भइसकेको छ अनि यस चरणमा १८ करोड ८५ लाख मतदाताहरूमध्ये ६६ प्रतिशत मतदाताहरूले भारतीय संसदको तल्लो सदनका ११६ प्रतिनिधिहरू चुन्नको लागि मतदान गरे। हाल भइरहेका लोकसभा चुनाउहरूका जम्मा सात चरणहरूमध्ये तीन चरणहरू पूरा भइसकेका छन् अनि भारतीय निर्वाचन आयोगले यी तीनै चरणहरूको सञ्चालन सुगमतापूर्वक गरेको छ।

भारतका मतदाताहरूले जम्मा ५४३ सीटहरूमध्ये ३०३ संसदीय निर्वाचन क्षेत्रहरूको लागि मतदान गरिसकेका छन्। बाँकीका चरणहरूको लागि चुनाउ प्रचार धूमधामले चलिरहेको छ तथा विभिन्न राजनीतिक दलहरूका स्टार प्रचारकहरूले आ-आफ्ना उम्मेदवारहरूको समर्थनमा जोरसोरले प्रचार गरिरहेका छन्।

तेस्रो चरणको चुनाउमा ११६ संसदीय निर्वाचन क्षेत्रहरूको लागि जम्मा १६४० उम्मेदवारहरू मैदानमा थिए। विशाल संख्यामा उम्मेदवारहरूले चुनाउ लड्नुले, निश्चित रूपमा, भारतको जीवन्त एवम् सहभागितामूलक लोकतन्त्रको शक्तिलाई प्रदर्शित गरेको छ। ६६ प्रतिशत मतदाताहरू मतदान निम्ति उपस्थित हुनु, लोकतन्त्र प्रति मानिसहरूको गहिरो आस्थाको प्रतीक हो। तेस्रो चरणको मतदान १४ राज्यहरू अनि २ केन्द्र शासित  प्रदेशहरूमा फैलिएको थियो अनि त्यहाँ एकाबिहानैदेखि मानिसहरू मतदान निम्ति लाइनमा खडा हुनथालेका थिए।

तेस्रो चरणको चुनाउको लागि दुइ लाखभन्दा अधिक मतदान केन्द्रहरू स्थापित गरिएका थिए। ‘हरेक मत मूल्यवान छ’ यो कथन त्यतिबेला सत्य प्रमाणित भयो जब चुनाउ आयोगले गुजरात राज्यको गिर जंगल स्थित बनेज गाउँमा एकमात्र मतदाताको लागि मतदान केन्द्र स्थापित गऱ्यो। उल्लेखनीय छ, यो जंगल एसियाली सिंहहरूको लागि प्रसिद्ध छ।

भारतको पश्चिममा स्थित राज्य, गुजरातका सबै २६ लोकसभा सीटहरूको लागि मतदान भइसकेको छ। ‘ईश्वरको आफ्नो देश’ कहलाइने तथा बाक्लो जंगल र अप्रवाही जलक्षेत्रको लागि विश्व प्रसिद्ध केरल राज्यका सबै २० संसदीय निर्वाचन क्षेत्रहरूको लागि पनि मतदान भइसकेको छ। यसबाहेक, बिहार, उत्तर प्रदेश, कर्नाटक, गोवा, त्रिपुरा, महाराष्ट्र, ओडिशा, पश्चिम बंगाल, दादरा एवम् नगर हवेली तथा दमन एवम् दीवमा पनि मतदानहरू भए। कर्मचारी आदि व्यवस्था तथा सुरक्षा कारणहरूको गर्दा बिहार, उत्तर प्रदेश अनि पश्चिम बंगालमा बाँकीका चार चरणहरूमा पनि मतदान हुनेछ।

जम्मू एवम् कश्मीर राज्यको अनन्तनाग संसदीय निर्वाचन क्षेत्रमा तेस्रो चरणमा आंशिक मतदान भयो। यो निर्वाचन क्षेत्रमा बाँकीका दुइ चरणहरूमा मतदानलाई पूरा गरिनेछ। संयोवश, अनन्तनाग, सुरक्षा कारणहरूले गर्दा तीन चरणहरूमा मतदान पूरा गरिने एकमात्र लोकसभा सीट हो।

हाल चलिरहेका चुनाउहरूमा आदर्श आचार संहिताको पालनालाई सुनिश्चित गर्ने दिशामा चुनाउ आयोगले कठोर कार्यवाहीहरू गरेको छ, जो प्रशंसनीय छ। हुन त,  कतिपय स्थानहरूमा कतिपय राजनीतिक दलहरूले मतदाताहरूलाई प्रभावित पार्ने प्रयासहरू गरेका छन्, तर मतदाताहरूलाई लोभ्याउन वा आकर्षित गराउन पूर्णतया मनाही छ। तेस्रो चरणको चुनाउ समाप्त भइञ्जेल चुनाउसित सम्बद्ध सतर्क कर्मीहरूले देशभरिबाट ३,१०० करोड रुपियाँ जफत गरेका छन्।

निर्वाचन आयोगले आदर्श आचार संहिताको उल्लंघन गर्ने राजनीतिक नेताहरूलाई पनि बक्सिएको छैन। चुनाउ आयोगले सही पाइलाहरू सार्दै उल्लंघन गर्न नसकिने आदर्श आचार संहिताको पालना नगर्ने विभिन्न राजनीतिक  दलहरूका कतिपय प्रमुख नेताहरूलाई केही दिनहरूको लागि चुनाउ प्रचार गर्नमाथि रोक लगायो। जाति एवम् धर्मको नाउँमा भोट माग्नु आर्दश आचार संहिताको गम्भीर उल्लंघन हो।

हाल चलिरहेका चुनाउहरूमा मतदाताहरूको उत्साह प्रशंसनीय साथै हेर्नलायक छ। चुनाउका प्रथम तीन चरणहरूमा युवा मतदाताहरूको उत्साह उल्लेखनीय छ। मतदाताहरू बीच भाव-भंगिमाले पूर्ण चर्चा भएको देखियो, जसले यो दर्शाउँछ कि मतदाताहरू सम्बद्ध जानकारीहरूबारे राम्ररी अवगत छन् अनि यो भारतको भविष्यको लागि, निश्चित रूपमा, राम्रो हो।

लाखौंको संख्यामा सुरक्षाकर्मीहरू तथा मतदान कर्मचारीहरू मैदानमा उनीहरूको अथक परिश्रम निम्ति प्रशंसाको पात्र बनेका छन्। उनीहरूको प्रतिबद्धताले गर्दा नै चुनाउहरूको सुगम सञ्चालन सम्भव भएको हो।

बाँकी रहेका २४० लोकसभा सीटहरूको लागि चार चरणका चुनाउहरू हुनु बाँकी नै छ। अन्तिम चरणको चुनाउ १९ मईमा हुनेछ। सन् २०१९-को लोकसभा चुनाउको परिणाम २३ मईमा मतगणना पश्चात् घोषित गरिनेछ। त्यतिञ्जेल मतदान हुने निर्वाचन क्षेत्रहरूमा धुमधामका साथ चुनाउ प्रचारहरू गरिने छन्।

आलेख: द न्यू इण्डियन एक्सप्रेसका वरिष्ठ एवम् प्रमुख संवाददाता, मनिष आनन्द

अनुवादः राज कुमार सिंह

वाचन:  विष्णुबहादुर गुरुङ्ग