युक्रेनको इतिहासमा एउटा नयाँ अध्याय

युक्रेनको राजनैतिक इतिहासमा एउटा ठूलो कोसेढुङ्गाको रूपमा हाँस्य कलाकारबाट राजनीतिज्ञ बनेका भोलोदीमिर जेलेनस्कीले मुलुकको राष्ट्रपति चुनाव विपुल मतले जित्नुभएको छ। ७३ प्रतिशतभन्दा बढी मतले चुनाव जितेका यहूदी कुलका मूल-रसियाभाषी जेलेनस्की युक्रेनको अहिलेसम्मकै सबैभन्दा युवा राष्ट्रपति बन्नुहुनेछ।

राष्ट्रपतिको रूपमा जेलेनस्कीको निर्वाचनले कलाकारितालाई वास्तविक जीवनमा पनि उतार्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गरेको छ। जेलेनस्कीले एउटा टेलिभिजन सिरिजमा क्रान्तिकारी राष्ट्रपतिको भूमिका खेल्नुभएको थियो र उहाँ अब वास्तविक जीवनमा राष्ट्रपतिको रूपमा देश चलाउन आउनुहुनेछ। राजनैतिक क्षेत्रमा अनुभवहीन जेलेनस्कीले आफ्नो उम्मेदवारीको घोषणा चुनाव हुनुभन्दा केवल चार महिना अघि गर्नुभएको थियो तथा उहाँले आफ्नो राजनीतिक पार्टी त झन् त्योभन्दा ढिलो स्थापित गर्नुभएको थियो।

युक्रेनको चुनावी परिणामले राजनैतिक क्षेत्रमा अनुभवहीन उम्मेदवारहरू लोकवाद र प्रतिष्ठान-विरोधी भावनाहरूमाथि सवार भइ विजयी बनिराखेको बढ्दो वैश्विक प्रवृत्तिलाई व्यापकरूपमा दर्शाएको छ। ‘गिर्जाघर, सेना र भाषा’-का नारामार्फत राष्ट्रभक्त्तिलाई आफ्नो मुख्य रणनीति बनाउनुहुने वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई कडा टक्कर दिँदै जेलेनस्कीले २०१४-को ‘मैदान’ क्रान्तिलाई लिएर मानिसहरूमा बढिरहेको निराशालाई आफ्नो मुद्दा बनाउनुभयो। व्यापक भ्रष्टाचार, घस्रिदो आर्थिक विकास तथा रसियासितको विद्यामान टकराउले लगातार युक्रेनको राष्ट्रिय चेतना विरुद्ध वर्चस्व बनाउन जारी छ।

निरन्तरता र परिवर्तनका तत्वहरूलाई सामेल गरिएको जेलेनस्कीको चुनावी घोषणापत्रले घरेलु सुधारहरूलाई प्राथमिकता दिने कुरामाथि मात्रै होइन तर एक अधिक सन्तुलित विदेश नीतिलाई अङ्गीकार गर्नमाथि पनि जोड दिएको थियो। हाल जारी मुलुकको पश्चिमी रुझानलाई निरन्तरता दिने साथै डोनेटस्क र लूहानस्क जस्ता पूर्वी क्षेत्रहरूमा लडाइँ अन्त्य गरी रसियासित शान्ति सम्झौता गर्ने जस्ता विषयहरू घोषणापत्रमा सामेल थिए।

संक्रमणको अवस्थामा रहेको युक्रेनका लागि राष्ट्रपतिपदमा जेलेनस्कीको निर्वाचनले आगामी दिनहरूमा केकस्ता घटनाक्रमहरू सामुन्ने ल्याउने छन् त्यसले यस राजनीतिक परिवर्तनको सफलतालाई नाप्ने छन्।

यहाँ यो उल्लेख गर्नु आवश्यक छ कि जेलेनस्कीमा संस्थागत जगको कमी छ। यसले युक्रेनजस्तो संसदीय लोकतन्त्रमा उहाँका मुख्य एजेन्डाहरूलाई कमजोर तुल्याउन सक्छ। राष्ट्रपतिसित मुलुकका रक्षा र विदेश नीतिहरूलाई दिशा प्रदान गर्ने सिङ्गो शक्ति छ तर घरेलु सुधारहरूलाई राजनैतिक विपक्षीले रोक्का लगाउन सक्छ जो अहिले युक्रेनको संसद, राडामा बहुमतमा छ। त्यस्तैगरी, मीडिया र बैंकिङ्ग क्षेत्रका कुलीन वर्गसित जेलेनस्कीको निकट सम्बन्धका कारण मुलुकको राजनैतिक ढाँचाप्रति सन्देह उत्पन्न भएको छ फलस्वरूप राजनीति र कारोबार माझको रेखा एकपटक फेरि विकट रूपमा धमिलिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अप्रसिद्ध सुधारहरू र रसियाली प्रतिबन्धहरूले युक्रेनको आर्थिक जीवनरेखालाई काटिदिएका छन् र यसले मुलुकको अर्थव्यवस्था सुधार्ने निर्वाचित राष्ट्रपतिका प्रयासहरूलाई जटिल बनाउन सक्छ। साथै युक्रेन पूर्व र पश्चिम क्षेत्रमा विभाजित पनि छ। यी प्रतिद्वन्द्वी क्षेत्रीय भू-सामरिक हितहरूमाझ सन्तुलन बनाइराख्नका लागि निपुण कौशलको खाँचो पर्दछ।

तथापि, रसियाभाषी पूर्वी क्षेत्रलगायत युक्रेनव्यापी समर्थनप्राप्त एक उम्मेदवार भएतापनि राजनैतिक जग नभएकोले गर्दा जेलेनस्कीको सत्ता अति नै नाजुक छ। यो चोखो जितले मुलुकको घरेलु तथा विदेश नीतिका एजेन्डाहरूलाई पुनरुद्धार गर्ने अवसर प्रदान गरेको छ। अक्टूबरमा हुने संसदीय चुनावले युक्रेनको राजनीतिलाई अर्थपूर्ण दिशा दिने उहाँको दायरालाई अझ निर्धारित गर्नेछ।

यसैबीच रसियासितको तनावपूर्ण सम्बन्ध एक चुनौती बन्न जारी छ। जेलेनस्कीले रसियाली जातिका मतदाताहरूप्रति अधिक मिलापकारी अडान लिनुभएको थियो तर उहाँको कुल विदेश नीतिको खाकाले मस्कोको बृहत् सामरिक आकलनलाई चुनौतीहरू दिनसक्छ। यी चुनौतीहरूमा क्राइमियालाई वापस गर्ने र पश्चिमसित नजिकिने माग सामेल छन्। मिन्स्क सम्झौता, जसलाई रसियाले क्रियान्वित गर्ने घोषणा गरेको छ, पृथकतावादीहरूका लागि अस्वीकार्य रहेको छ र यो, जेलेनस्कीका लागि एक राजनीतिक मुद्दा बन्नेछ। “राष्ट्रपति पुटिनले श्री जेलेनस्कीलाई बधाई दिँदैगरेको वा एकसाथ मिलेर काम गर्ने सम्भावनाबारे कुरा गरिहाल्नु चाहिँ साह्रै छिटो हुनेछ” भनी क्रेमलिनका प्रवक्ताले दिएको चलाकीपूर्ण बयानले वर्तमानमा एक-अर्काप्रति उनीहरूको सामरिक दृष्टिकोणमा विशाल दरार रहेको कुरालाई रेखाङ्कित गर्दछ। सायद जेलेनस्कीको निर्वाचनलाई दीर्घकालीन संघर्षविराम र कैदीहरूका आदानप्रदान जस्ता भरोसा निर्माण गर्ने उपायहरूमार्फत टकराउ दूर गर्ने एक अवसरको रूपमा प्रयोग गर्न सक्छ।

एक मित्र राष्ट्र हुनको नाताले भारत किइभ र मस्को दुवै उनीहरू बीच रहेका मतभेदहरूलाई समाधान गरी शान्ति र विकासको मार्गमा हिँडेको चाहन्छ, जो युक्रेनका लागि अति नै महत्त्वपूर्ण छ।

टेलिभिजनको काल्पनिक जीवनबाट वास्तविक जीवनमा राष्ट्रपतिको भूमिका खेल्न आएका युक्रेनका नव-निर्वाचित राष्ट्रपति जेलेनस्कीसित युक्रेनको अपार क्षमता विकास गर्ने अवसर रहेको छ।

आलेख: राजोर्षी राय, अनुसन्धान विश्लेषक, आईडीएसए

अनुवाद एवम् वाचन: प्रणय सुब्बा