अमेरिका-भारत अनि इरानसम्बन्धी छूट

यसै साताको सुरुआतमा संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले इरानबाट तेलको आयातका लागि दिएको छूटलाई अब नवीकृत गर्ने छैन भनी घोषणा गर्नुभएको थियो। छूट नवीकृत नहुनाले भारत, चीन तथा संयुक्त राज्य अमेरिकाका सहयोगीहरू; जापान, दक्षिण कोरिया र टर्की नराम्ररी प्रभावित हुनेछन्। वर्तमानमा छूटप्राप्त तीन मुलुकहरू; इटली, ग्रीस तथा ताइवानले आफ्ना आयातलाई घटाएर शून्य पारेका छन्।

अमेरिका “इरान परिमाणु सम्झौता”-बाट बाहिरिएपछि ट्रम्प प्रशासनले इरानलाई आर्थिक र कुटनीतिक रूपमा अलगथलग पार्न पाइलाहरू सारिराखेको छ। यो छूट नोभेम्बर २०१८-मा भारत र अन्य मुलुकहरूलाई १८० दिनका लागि प्रदान गरिएको थियो। यो म्याद मई २ तारिख समाप्त हुनेछ। संयुक्त राज्य अमेरिकाबाट यस्तै किसिमको घोषणा आउनेछ भनी सबैको अपेक्षा थियो। भारतको परराष्ट्र मामिला मन्त्रालयले भनेको थियो कि भारत ‘संयुक्त राज्य अमेरिका प्रशासनसित संलग्न हुन जारी रहनेछ’, र यसले उक्त विषयमाथि छलफल हुँदैगरेको सङ्केत दिँदछ। भारतले अमेरिकी पदाधिकारीहरूसित लगातार वार्ता गरिराखेको थियो अनि छूटलाई जारी राख्ने दिशामा काम गर्दै थियो। वार्ता भइराखेकै बेलामा भारतले इरानेली तेलका विकल्पहरू खोज्नमाथि पनि काम गरेको छ। पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्रालयले स्पष्ट गरेको छ कि कच्चा तेलको पर्याप्त आपूर्ति सुनिश्चित गर्न त्यहाँ ठोस योजनाहरू छन् जसलाई अन्य राष्ट्रहरूबाट आयात गर्न सक्छ। भारतीय तेल निगमेले भनेको छ रिफाइनरहरूले विभिन्न स्रोतहरूबाट कच्चा तेल आयात गर्दछन् र विगत केही महिनामा उनीहरूले वैकल्पिक आपूर्ति स्रोतहरूको सूची तयार पारेका छन्।

सउदी अरब, युएई तथा पेट्रोलियम निर्यात मुलुकहरूको संगठन (ओपेक)-ले भारतलाई आश्वस्त पारेका छन् कि उनीहरूले भारतमा तेलको कमी हुनदिने छैनन्। यी आश्वसहरूका बावजुद अन्तर्राष्ट्रिय तेलका मूल्यहरू बढिराखेका छन्। यी मूल्यहरू छ: महिनाको अवधिमा सबैभन्दा उच्चमा पुगेका छन्। तेलका मूल्यहरूमा भएको वृद्धिले भारतका वित्तीय एवम् चालू खाता घाटामाथि दबाउ पर्न सक्छ र मुद्रास्फीति अझ धेरै बढ्न सक्छ किनभने उच्च मूल्य  अन्तत: उपभोक्ताले बेहोर्नु पर्नेछ। इरानबाट खरिद गरिने सर्तहरूमा नै कच्चा तेल खरिद्न भारतले पश्चिम एसियाका आफ्ना साझेदारहरूसित कुराकानी गरिराखेको छ। भारतले वार्षिक अनुबन्धका सर्तहरूमाथि पनि जोड दिइरहेको छ जो भारतका लागि स्पट अनुबन्धको तुलनामा बढी किफायती हुनेछ।

भारत चीनपछि इरानेली तेलको दोस्रो सर्वाधिक ठूलो खरिदकर्त्ता हो र यो, भारतको कुल कच्चातेल आयातको ११ प्रतिशत हिस्सा हो, जसले इरानलाई इराक र अरबपछि भारतको तेस्रो सर्वाधिक ठूलो तेलको आपूर्तिकर्ता बनाउँदछ। भुक्तानसम्बन्धी सर्तहरू भारतको पक्षमा छन् जसअन्तर्गत नयाँ दिल्लीले तेलको भुक्तानी भारतीय रुपियाँमा भारतीय बैंकमार्फत गर्दछ। त्यसपछि त्यो पैसा इरानले औषधी र खाद्य वस्तु आदि जस्ता महत्त्वपूर्ण सामग्रीहरू किन्नका लागि प्रयोग गर्दछ।  संयुक्त राज्य अमेरिकाले के भनेको छ भने इरानले खातामा जमा कोषको प्रयोग गर्न जारी राख्न सक्नेछ तर भारतले सो खातामा अब उपरान्त पैसा जम्मा गर्न सक्ने छैन।

भारतीय पदाधिकारीहरूले भनेका छन् कि यो मामिलामाथि ‘स्पष्टता’ थोरै मात्र रहेको छ। भारतले कतिपय पीडा पनि भोग्नसक्छ किनभने रिफाइनरहरू इरानेली कच्चा तेलको खास प्रकारका लागि मात्रै सक्षम छन्।

भारतले यो प्रतिबन्ध उल्लंघन गऱ्यो भने उसले अर्को प्रतिबन्धको सामना गर्नसक्छ जसमा भारतीय कम्पनीहरू र व्यक्तिविशेषहरूमाथि अन्तर्राष्ट्रिय स्विफ्ट (बैंकिङ्ग ट्रान्सफर) प्रणालीको प्रयोगमा प्रतिबन्ध लगाइनसक्छ तथा उनीहरूले जरिमानास्वरुप संयुक्त राज्य अमेरिकालाई केही धनराशी समेत तिर्नुपर्नेछ। यसैकारण भारतीय कम्पनीहरूले इरानसित संलग्न हुनदेखि आफुलाई टाढा राखेका छन्।

ऊर्जा आपूर्ति बाहेक भारत-इरान सम्बन्ध पनि जोखिममा रहेको छ। इरानले भारतलाई अफगानिस्तान र मध्य एसियासम्म पुग्ने महत्त्वपूर्ण मार्ग प्रदान गर्दछ, जुन मार्ग पाकिस्तानद्वारा बाधित गरिएको छ। चाबहार बन्दरगाह परियोजनाहरू यस प्रतिबन्धबाट प्रभावित हुने छैनन् तर भारतका लागि अत्यन्तै महत्त्वपूर्ण रहेका यी परियोजनाहरूमाथि इरानले आफ्नो रुचि घटाउन सक्छ। चिनियाँ अधिकारीहरूले बताएका छन् कि चीनले ‘संयुक्त राज्य अमेरिकाको एकतर्फे प्रतिबन्ध’-को निरन्तर विरोध गर्दै आएको छ। टर्कीले पनि भनेको छ कि उसले यी प्रतिबन्धहरूलाई खारेज गर्दछ। भारतले मध्यम मार्ग लिएको छ किनभने भारतका चिन्ताहरूलाई अर्थात् पाकिस्तान समर्थित आतङ्कवादका मामिलालाई सम्बोधन गर्ने दिशामा अमेरिकाले गरेका प्रयासहरू सराहनीय छन्।

कतिपय विषयहरूमा भारत र इरान बीच मतभेदहरू रहेतापनि भारतले संयुक्त राज्य अमेरिका र इरान दुवैसित स्थिर सम्बन्ध कायम राखेको छ।

आलेख: डक्टर स्तुति ब्यानर्जी, अमेरिका मामिलासम्बन्धी सामरिक विश्लेषक

अनुवाद एवम् वाचन: प्रणय सुब्बा