दक्षिण एसियामा कट्टरतावाद मौलाउने जोखिम

गत २१ अप्रिलका दिन अर्थात् इस्टर सन्डेका अवसरमा आठ आत्मघाती बम हमलाकारीहरूले श्रीलंकाका कोलम्बो, नेगोम्बो र बट्टिकलोवामा रहेका गीर्जाघर तथा होटेलहरूमा हमला गरी ३८ विदेशी नागरिकलगायत २५० भन्दा बढी मानिसहरूको ज्यान लिए। यसमा अचम्मको कुरा के देखियो भने, आइसिस अर्थात् इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया नामक आतङ्की सङ्गठनलाई यस घटनाको जिम्मेवारी लिन दुई दिनभन्दा धेरै समय लाग्यो। उक्त जघन्य कृत्यको जिम्मेवारी लिँदै सार्वजनिक गरिएको भिडियोमा सातजना हमलाकारी र उनीहरूको नेतृत्व गर्ने जहरान हाशिमलाई, आइसिस प्रमुख अबु बकर अल बगदादीप्रति वफादार रहने संकल्प व्यक्त गरिरहेका देखाइएको छ।

यस घटनापछि श्रीलंकाली अधिकारीहरूले ७० भन्दा बढी संदिग्ध व्यक्तिहरूलाई हिरासतमा लिएका छन्। कोलम्बोमा खानतलासीका क्रममा हमलाकारीहरूमध्ये कुनै एकजनाकी पत्नीले  कथित रूपमा आफ्ना दुई नानीहरूसहित स्वयमलाई विस्फोट गराएर ज्यान दिएको खबर छ। दुई फरक स्थानमा कम्तीमा अरू दुई विस्फोटक सामग्री निष्क्रिय पारियो।

प्रारम्भिक रिपोर्टहरूमा, यी हमलाहरूको मास्टरमाइन्ड बट्टिकलोवाको कट्टनकुडी निवासी जहरान हाशिम रहेको खुलासा भएको थियो। अत्यन्त गरीब परिवारमा जन्मेको हाशिम युवा अवस्थादेखि नै कट्टरतावादतर्फ ढल्कनाले स्थानीय मुस्लिम समुदायबाट टाढिए जत्तिकै थियो। त्यसपछि उ कट्टनकुडीबाट कथित रूपमा मालदीभ्स गयो र त्यहाँ केही समयसम्म बसेको खबर छ। घरबाट यसरी बाहिरको आफ्नो यात्रामा उ दक्षिण भारत पनि गएको थियो।

कट्टरतावादी विचारधारामा डुबेको जहरान, पछि कट्टनकुडी फिर्ता भयो र उसले त्यहाँ तौहीद मस्जिद स्थापना गरी आफ्ना सलाफी उपदेशहरू दिन थाल्यो। एक दृढ वक्ताको धनी जहरान युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जालहरूको प्रयोग गरी आफ्ना सैयौँ प्रशंसकहरू भेला पार्न सफल भयो र उ युवाहरूमाझ निकै लोकप्रिय बन्न पुग्यो। उसको लोकप्रियताको अनुमान कुन कुराले लगाउन सकिन्छ भने भारतीय अधिकारीहरूले केही महिनाअघि तमिलनाडुमा अवस्थित आइसिसका ठेगानामा खानतलासी गर्ने क्रममा पक्रा परेका केही संदिग्धहरूले आफू हाशिमका चोटिला प्रवचनहरूबाट प्रभावित भएका स्वीकार गरेका थिए!

सलाफी इस्लामको प्रचार गर्ने उद्देश्यसहित जहरानले सन् २०१५ मा नेसनल तौहीद जमात (एन. टि. जे.)- स्थापना गरेको थियो। यद्यपि जहरानका कट्टरतावादी विचारधाराका कारण जमातमा चाँडै विभाजन भयो। जहरानको नेतृत्वाधीन यही छुट्टिएको जमातमाथि श्रीलंकामा भएका यी हमलाहरू गराएको आरोप छ।

जहरानको समूहमाथि बौद्ध प्रतिमाहरू भत्काएको आरोप लागेपछि यही वर्षको जनवरी महिनामा सुरक्षा फौजले खानतलासी गर्दा यो समूहको अड्डा मध्य श्रीलंकाको पुट्टलम भन्ने ठाउँमा भेट्टाइयो। सोही क्रममा कट्टरतावादी साहित्यका साथै विस्फोटक सामग्री तथा डेटोनेटरहरू पनि जफत गरिएको थियो। कतिपय मानिसहरूलाई हिरासतमा लिएर पछि रिहा गरियो र सो घटनालाई बेवास्ता गरियो। यसका अतिरिक्त भारतको गुप्तचर विभागले  आतङ्ककारीहरू इस्टरका अवसरमा गीर्जाघरहरूमा हमला गराउने योजना बनाउँदै छन् भन्ने आशङ्का व्यक्त गर्दै अलर्ट पनि जारी गरेको थियो। तर यस्तो महत्त्वपूर्ण जानकारी श्रीलंकाली सरकारका विभागहरूमा कारबाहीको प्रतीक्षामा अल्मलिनु भनेको अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो। एलटिटिइ मास्सिएपछि उत्पन्न सन्तुष्टिको भावनाले नै सायद यस्ता जोखिमहरूविरुद्ध राज्यलाई तयार पार्ने दिशामा श्रीलंकाली सरकारसामू तगारो तेर्सायो होला।

जहरान सामान्य परिवारको भए तापनि यो समूहका अन्य सदस्यहरू सम्पन्न परिवारका थिए। तीमध्ये दुईजना, इनशान र इल्हाम, प्रसिद्ध मसला व्यापारी मोहम्मद युसुफ इब्राहिमका छोरा थिए। अब्दुल लतिफ जमिल मोहम्मद नामक अर्को सदस्यले ब्रिटेन र अस्ट्रेलियामा एरोस्पेस इन्जिनियरिङ अध्ययन गरेको थियो। उक्त आत्मघाती दलमा जहरानको भाइ पनि थियो भन्ने आशङ्का छ।

श्रीलंकामा भएको यस घटनाले, कट्टरतावादले यो क्षेत्रलाई फेरि घेर्न थालेको स्पष्ट पारिदिएको छ। दक्षिण एसियाका धेरैजसो देशहरू यही समस्याले ग्रसित छन् र यसैको परिणामस्वरूप समुदायहरू एक अर्काका शत्रु बन्दै गइरहेका छन्। अस्तित्व नै छैन भन्ने ठहर भएको  कुनै तत्त्वले पनि हिंसा फैलायो भने त्यसको असर विनाशकारी भएको देख्न पाइन्छ।

निकै लामो समयदेखि श्रीलंकामा फरक धर्महरूबिच वैमनस्यता फैलिएको महसुस भइरहको छ। घृणा र भयको वातावरणले क्षेत्रलाई घेर्न थालेपछि कट्टरतावादी तत्त्वहरूका लागि आफ्नो दुनो सोझ्याउने सुहाउँदो वातावरण बन्दै गइरहेको छ। भारत, बाङ्ग्लादेश अनि नेपालमा समेत समुदायहरू कट्टर बनेर एक अर्कामाथि हमला गरिराखेका छन्। मालदीभ्समा त अतिवादमा आधारित रुढिवादी समाज विकसित पनि भइरहेको छ। अफगानिस्तान र पाकिस्तानमा यस्ता घटना दैनिक क्रियाकलाप नै भइसकेका छन्। आतङ्कवादविरुद्ध निर्णायक कारबाही गर्ने रणनीति बनाउने कार्यमा अल्झिरहेका राज्यहरूको फाइदा उठाउँदै यी तत्त्वहरू निष्फिक्री भई आफ्ना कुटिल योजनालाई सार्थक बनाउँदै छन्। त्यसैले, इस्टर सन्डेका दिन भएका जस्ता त्रासदीहरूलाई रोक्नका लागि राज्यहरूले निरन्तर निगरानी तथा तत्काल कारबाही गर्ने दिशामा ठोस उपाय गर्नु अत्यन्तै जरुरी छ।

 आलेख: रक्षासम्बन्धी अध्ययन तथा विश्लेषण संस्थानको दक्षिण एसियाली केन्द्रका वरिष्ठ फेलो तथा संयोजक, डा. अशोक बेहुरिया

अनुवाद : दीपक पौडेल