कोरियाली प्रायद्वीपको सम्बन्धमा पुटिन-किम वार्तालाप

उत्तर कोरियाली नेता किम जोङ्ग उन-ले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्लादिभोस्टोक शहरमा भेट्नुभयो जो रसियाको पूर्वमा स्थित छ। यी दुइ नेताहरू बीच यो प्रथम भेटघाट थियो। मस्को अनि प्योङ्गयाङ्ग शीत युद्धको समयमा एका-अर्काको मित्र थिए अनि यसैले यो भेटघाटलाई अति महत्त्वपूर्ण ठहर गरिएको छ। रसियाले क्षेत्रमा आफ्नो प्रभावलाई बढाउनको लागि आफ्ना प्रयासहरूलाई तीव्र  पारिरहेछ अनि यो भेटघाट यसैको परिणाम हो। उत्तर कोरिया अनि संयुक्त राज्य अमेरिका बीच संलग्नताले रसियालाई मञ्चबाट पछि हट्नुपरेको थियो तर हालको यो भेटघाटले मस्कोलाई क्षेत्रको जटिल समस्याको समाधानको दिशामा पाइलो सार्ने अवसर, एकपल्ट फेरि, प्रदान गरेको छ।

रसियाली राष्ट्रपति पुटिन अनि उत्तर कोरियाली नेता किम बीच बैठक भइरहेको बेलामा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका बीच सैनिक अभ्यास पनि सुरु भयो जसले गर्दा प्योङ्गयाङ्ग क्रुद्ध भयो। यद्यपि, यो सैनिक अभ्यास ‘की रिजल्भ एण्ड फोल इगल’ नामक वार्षिक संयुक्त सैनिक अभ्यासको तुलनामा धैरे सानो थियो।

उत्तर कोरिया र संयुक्त राज्य अमेरिका बीच हनोइमा सम्पन्न वार्तालाप निष्फल रहेको हुनाले संयुक्त राज्य अमेरिकाले प्योङ्गयाङ्ग विरुद्ध ताजा प्रतिबन्धहरू थोपेको छ। हालमा उत्तर कोरियाले पनि संयुक्त राज्य अमेरिकाको आलोचनालाई निकै तीव्र पारेको छ।

सोवियत कालदेखि नै रसिया प्योङ्गयाङ्गको मित्र रहिआएको छ यद्यपि, दक्षिण कोरियासितको सम्बन्धलाई सन्तुलित तुल्याउने मस्कोका प्रयासहरूको फलस्वरूप, यी दुइ राष्ट्रहरू बीचको सम्बन्धमा उकाली ओराली पनि देखिएको छ। वर्तमान अलग-थलग परेको प्योङ्गयाङ्ग प्रशासनलाई चीनसहित मस्कोको समर्थन प्राप्त छ किनभने यसो नगरे क्षेत्रीय अनि वैश्विक स्तरमा शान्ति एवम् सुरक्षाको लागि ठूलो जोखिम उत्पन्न हुनेछ।

यद्यपि, प्रतिबन्धहरूलाई हटाउनभन्दा पहिले कोरियाली प्रायद्वीपलाई परमाणु हतियारहरूदेखि मुक्त बनाउने संयुक्त राज्य अमेरिकाको नीतिलाई मस्कोको पनि समर्थन प्राप्त छ। पोहोर रसियाली विदेश मन्त्री सर्गेइ लावरोभले प्योङ्गयाङ्गद्वारा परमाणु निरस्त्रीकरणको सट्टा चरणबद्ध तरिकाले प्रतिबन्धहरूलाई हटाउने आह्वान गर्नुभएको थियो। रसिया बलको प्रयोग जस्तो एकतर्फे कार्यवाही नभएर वार्तालापलाई समर्थन गर्छ। रसियाले कोरियाली प्रायद्वीपको मुद्दालाई सुल्झाउन ‘६ पक्षहरू’-को बैठकलाई समर्थन गरेको थियो, जुन बैठक अहिले ठप्प छ। रसिया पूर्ण परमाणु निरस्त्रीकरणको पक्षमा छ। यद्यपि, रसियाले यो पनि बुझेको छ कि कुनै ठोस ग्यारेन्टी बिना प्योङ्गयाङ्गलाई उसका सबै परमाणु हतियारहरूको त्याग गर्न लगाउने वाशिङ्गटनको माग सवर्था अव्यवहारिक हो।

पुटिन-किम बैठकको कार्यसूची, कोरियाली प्रायद्वीपसित सम्बद्ध मामिलाहरूलाई सुल्झाउन एवम् रसिया र उत्तर कोरिया बीच द्विपक्षीय सम्बन्धहरूलाई विकसित गर्नको लागि चर्चाहरू गर्नु थियो। बैठक पश्चात् राष्ट्रपति पुटिनले भन्नुभयो, उत्तर कोरियाली नेता परमाणु निरस्त्रीकरणको पक्षमा हुनुहन्छ। यद्यपि, सबैभन्दा पहिले उहाँ प्योङ्गयाङ्गको सुरक्षा सुनिश्चित गर्नको लागि देशका राष्ट्रिय हितहरूको सम्बन्धमा ग्यारेन्टी चाहनुहुन्छ। उहाँले अगाडी भन्नुभयो, अध्यक्ष किम यो कुरो राम्ररी बुझ्नुहुन्छ कि यस्तो तब मात्रै हुन सक्छ जब उत्तर कोरियाका सहभागीहरू, मुख्य रूपमा संयुक्त राज्य अमेरिका, रचनात्मक वार्तालापमा संलग्न हुनका लागि तयार हुन्छन्। श्री पुटिनले दक्षिण कोरियालाई उत्तर कोरियासित संलग्न हुँदा संयुक्त राज्य अमेरिकाबाट अधिक स्वतन्त्र रहने आग्रह गर्नुभयो।

उत्तर कोरियाली नेताले भन्नुभयो, संयुक्त राज्य अमेरिकाका नीतिहरूको कारणले गर्दा, सन् २०१८-को सकारात्मक उपलब्धि पश्चात् प्रायद्वीपको स्थिति जस्ताको तस्तै छ। उहाँले भन्नुभयो, प्राद्वीपको शान्ति एवम् सुरक्षा संयुक्त राज्य अमेरिकाका भावी अडानहरूमाथि पूर्णतया निर्भर गर्नेछ। उहाँले यो पनि भन्नुभयो, कि त्यतिञ्जेल उत्तर कोरियाले स्वयंको सुरक्षा गर्न जारी राख्नेछ जसमा देशको सुरक्षामाथि कुनैप्रकारको खतरा उत्पन्न नहोस्।

क्रेमलिनले दुवै नेताहरू बीच भएको कुराकानी रचनात्मक रहेको जानकारी दिएको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि रसियाली राष्ट्रपति पुटिनका प्रयासहरूको सराहना गर्नुभएको छ। मस्कोको लागि यो बैठक महत्त्वपूर्ण थियो किनभने यो बैठकले रसियाको छविलाई एक यस्तो देशको रूपमा स्थापित गर्नमा मद्दत पुऱ्यायो जसले विवादमा संलग्न भू-राजनीतिलाई राम्ररी बुझ्छ। यो बैठकले मस्कोको क्षेत्रमा राष्ट्रिय हितहरूको सुरक्षा गर्नमा पनि मद्दत पुऱ्यायो किनभने अमेरिकासित प्योङ्गयाङ्गको निकटताले रसियाली हितहरूमाथि जोखिम उत्पन्न गर्ने सम्भावना छ।

विशेष गरी, आर्थिक क्षेत्रमा मस्कोबाट केही छुटहरू प्राप्त गर्ने प्रयासहरू गरेर प्योङ्गयाङ्गले रसिया अनि संयुक्त राज्य अमेरिका बीच विद्यमान तनाउपूर्ण सम्बन्धहरूबाट लाभ उठाएको छ। रसियासितको सर-सहयोगले प्योङ्गयाङ्गलाई चीनमाथि उसको निर्भरतालाई घटाउनमा सहायता गर्न सक्छ।

रसिया अनि उत्तर कोरियाका नेताहरू बीच सम्पन्न बैठक सफल रह्यो किनभने दुवै देशहरूले अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी, संयुक्त राज्य अमेरिका र चीनलाई यो सङ्केत दिएका छन् कि उनीहरूले समाधान खोज्ने दिशामा कार्य गरिरहेका छन्।

भारतले घटनाहरूलाई ध्यानपूर्वक हेरिरहेको छ। नयाँ दिल्लीले एक शान्तिपूर्ण साथै स्थिर कोरियाली प्रायद्वीपको आशा राखेको छ किनभने क्षेत्रीय सुरक्षाको लागि यो औधी महत्त्वपूर्ण छ।

आलेखः रसिया मामिलाका सामरिक विश्लेषक, डॅ. इन्द्राणी तालुकदार

अनुवादः राजकुमार सिंह

वाचकः रञ्जना खवास