जापानमा रेयवा कालको सुरुआत

१ मई २०१९-का दिन जापानले नयाँ रेयवा काललाई अँगालेको छ किनभने सन् १८१७ यता पहिलोचोटी भएको एक ऐतिहासिक घटनाक्रममा जापानका जीवित सम्राटद्वारा राजत्याग गरिएपछि नयाँ सम्राट नारुहितो जापानको क्रिसनथेमम राजगद्दीमा विराजित हुनुभएको छ। जापानका १२६औँ सम्राट नारुहितोले उहाँका पिता अकिहितोबाट राजगद्दी सम्हाल्नुभएको हो जो युद्धपछिको शान्तिप्रेमी संविधान अन्तर्गत राज सम्हाल्ने जापानको पहिलो सम्राट हुनुहुन्थ्यो जुन संविधानले राजालाई राज्यको एक प्रतीकको रूपमा स्वीकार्दछ।

राजत्याग समारोहको आयोजना ३० अप्रेलका दिन शाही महलको पाइन च्याम्बरमा भएको थियो र त्यसपछि राज्यारोहण समारोह १ मईका दिन सम्पन्न भयो। सम्राट नारुहितोको सिंहासनारोहण समारोह अक्टूबरमा हुनेछ जसमा विदेशका गण्यमान्य अतिथिहरू उपस्थित हुनेछन्। राजत्याग समारोहमा जापानका प्रधान मन्त्री शिन्जो आबेले सम्राटप्रति उहाँले जापानी जनतालाई दिएको सेवाका लागि गहन कृतज्ञता व्यक्त गर्नुभयो अनि यो कुरामाथि जोड दिनुभयो कि जापानले आगामी दिनहरूमा शान्ति र आशाले परिपूर्ण भविष्यका लागि मेहनत गर्नेछ।

जापानी समाजमा नयाँ कालको नामकरण एउटा महत्त्वपूर्ण घटना हो। जापानले यो प्रणाली सन् ६४५ देखि प्रयोग गरेको हो जुनसमय तायका काल सुरु भएको थियो। कालका नामहरूले सम्राटको शासनकालको सयमावधिबारे बताउँदछन्। यसअघि, अप्रेल १ तारिख, जापानको मन्त्रीमण्डलले नयाँ कालको नाउँ रेयवा राख्ने निर्णय गरेको थियो जसको अर्थ हो ‘सुन्दर सद्भाव’। यो नाउँ जापानको सबैभन्दा प्राचीन कविता सङ्ग्रह मन्योशूबाट लिएको हो जसको सङ्कलन १,२०० वर्षभन्दा पहिला गरिएको थियो। नयाँ रेयवा काल सुरु हुनअघि तीन दशकसम्म हेयसी काल रहेको थियो जो सन् १९८९ सालमा सुरु भएर ३० अप्रेल २०१९-सम्म रह्यो। हेयसी कालअघि शोवा काल थियो जो सन् १९२६ देखि सुरु भएर सन् १९८९ सम्म, ६४ वर्ष कायम रहेको थियो। यो जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेको काल हो।

सम्राट अकिहितोले स्वास्थ्यसम्बन्धी समस्याका कारण राजपदबाट पछि हट्ने इच्छा जाहेर गरेपछि दुई शताब्दीको अवधिमा हुन गइरहेको पहिलो राजत्यागलाई सुगम बनाउनका लागि २०१७-मा जापानको संसद डायटले एक विशेष राजत्याग कानून पारित गरेको थियो। राजत्याग समारोहमा सम्राट अकिहितोले राज्यको एक प्रतीकको रूपमा उहाँको भूमिकालाई स्वीकारेकोमा र समर्थन गरेकोमा जापानी जनताप्रति आभार व्यक्त गर्नुभयो। तीन दशक जापानको सम्राटको रूपमा उहाँले आफ्नो भूमिकालाई सहानुभूतिपूर्वक निर्वाह गर्नुभयो अनि प्राकृतिक आपदाजस्तो कठिन समयलगायत राष्ट्रिय संकटको बेला उहाँ सदैव मानिसहरूसित रहनुभयो। उहाँले भारत-जापान सम्बन्ध मजबुत पार्नमा पनि योगदान गर्नुभयो। भारत र जापान बीच रहिआएको निकट र मैत्रीपूर्ण सम्बन्धको एक गवाहीको रूपमा २०१३-मा सम्राट अकिहितो र सम्राज्ञी मिशिको-ले दिल्ली र चेन्नईको भ्रमण गर्नुभएको थियो। सो भ्रमणले भारत-जापान कुटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठको स्मरणोत्सव मनायो। योभन्दा अघि सन् १९६०-मा क्राउन प्रिन्सको रूपमा उहाँले आफ्नी पत्निसित भारतको भ्रमण गर्नुभएको थियो।

हेयसी कालले जापानसामु मिश्रित अनुभवहरू प्रस्तुत गरेको छ अनि हेयसी कालबाट पाठ सिक्नु अति नै महत्त्वपूर्ण छ किन कि जापान अब नयाँ रेयवा कालमा प्रवेश गरेको छ। जापानी जनताले घाटाका दशकहरू महसूस गरे अनि परिसम्पत्तिका मूल्यमा बृहत् बढोतरी भएको पाए। जापानले विश्वमा एक सर्वाधिक ठूलो सकल ऋण-जीडीपी अनुपात चुनौतीको सामना गरिराखेको छ। साथै  यो अर्थव्यवस्थाले एक वृद्ध हुँदै गइरहेको समाजको तनाउलाई व्यवस्थित गर्नु पर्नेछ। रेयवा कालमा अगाडि बढ्दै जाँदा जापानले अर्थव्यवस्थाका ढाँचागत सुधारहरूमाथि ध्यान दिनु पर्नेछ। जापानले चौथो औद्योगिक क्रान्तिमा उसका अग्रिम प्रविधिहरूको अधिकतम प्रयोगमाथि ध्यान केन्द्रित गर्नेछ। महाशक्तिहरू बीच भू-सामरिक तवरमा प्रतियोगिता तीव्र हुँदै जाँदा जापानले शान्तिको क्षेत्रमा एक सक्रिय योगदानकर्त्ता, विश्वको एक साझा अभिभावक तथा उदारवादी अन्तर्राष्ट्रिय व्यवस्थाको समर्थकको रूपमा आफ्नो भूमिकालाई मजबुत पार्नु पर्नेछ। जापानले रेयवा कालमा पनि संयुक्त राज्य अमेरिकासितको गठबन्धनको मजबुतीकरणमा लगानी गर्न जारी राख्नेछ किनभने उत्तर कोरियाको परमाणु र प्रक्षेपास्त्र कार्यक्रमहरू अनि पूर्वी चीन सागरमा चीनका समुद्री गतिविधिहरूलाई ध्यानमा राखी उसले विश्वयुद्ध पछिको आफ्नो इतिहासमा अहिलेसम्मकै सर्वाधिक नाजुक सुरक्षा वातावरणको सामना गरिराखेको छ।  एकतिर आफ्नो सुरक्षा स्थितिको समीक्षा गरेर अनि अर्कोतिर संयुक्त राज्य अमेरिकाको अझ सक्रिय सहयोगी बनेर अनि हिन्दप्रशान्त क्षेत्रमा सहयोगीहरूको एक वैश्विक मूल्याधारित सञ्जाल बुनेर, जापानले दुवै, आन्तरिक सन्तुलन र बाह्य सन्तुलन गर्नमाथि ध्यान केन्द्रित गर्नेछ।

आलेख: पूर्व एवम् दक्षिण पूर्व एसिया मामिलाकी सामरिक विश्लेषक, डॉ. तित्ली बसु

अनुवाद: प्रणय सुब्बा