भारतको चन्द्रयान-२ अभियान प्रक्षेपण गरिने

भारतको दोस्रो चन्द्र अभियान चन्द्रयान-२ यो वर्षको जुलाई महिनामा प्रक्षेपण गरिने योजना छ। इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन, इसरो अर्थात् भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनअनुसार यसमा देशभरका विभिन्न अनुसन्धान संस्थानहरूद्वारा विकसित १३ पेलोडहरू पठाइनेछन् जसले विभिन्न किसिमका वैज्ञानिक प्रयोगहरू गर्नेछन् र तथ्याङ्क सङ्ग्रह गर्नेछन्। ३.८ टन वजनको यो अन्तरिक्ष यानमा तीन मोड्युलहरू छन् – अर्बिटर, ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान)। जुलाई ९ देखि १६ तारिख बिचको समयमा चन्द्रयान-२-का साथ जानका लागि सबै मोड्युलहरूले तयारी गरिरहेका छन्। इसरो-अनुसार यो चन्द्रमामा सेप्टेम्बर ६ तारिखमा ओर्लने अपेक्षा छ। अर्बिटरले चन्द्रमाको सतहबाट १०० किलोमिटरको दूरीमा परिक्रमा गर्नेछ, जबकि ल्यान्डर (विक्रम) चन्द्रमाको दक्षिणी ध्रुवनजिक विस्तारो अवतरण गर्नेछ, अनि रोभर (प्रज्ञान)-ले आफ्नै स्थानबाट प्रयोगहरू गर्नेछ।

चन्द्रयान-१-ले ठुलो सफलता हासिल गरेको थियो। यसले चन्द्रमाको सतहमा पानी रहेको खोज गरेको थियो, अनि यसले पाँचवटा विदेशी पेलोडहरू लिएर गएको थियो जसमध्ये तीन युरोपका र दुई अमेरिकाका थिए। चन्द्रयान-२ तकनिकी रूपले उन्नत छ र यो चन्द्रमाका लागि सबैभन्दा उन्नत अभियानहरूमध्ये एक हो।

इसरो-का अध्यक्ष डक्टर के. सिवानले भन्नुभएअनुसार विक्रम नामक पाँच खुट्टे वाहन ल्यान्डर सेप्टेम्बर ६ तारिखमा चन्द्रमामा वा त्यसको वरिपरि अवतरण गर्नेछ, अनि प्रज्ञान नामक रोबोटिक रोभरले चन्द्रमाको वरिपरिको जमीनको अन्वेषण गर्नेछ। प्रज्ञान चन्द्रमाको सतहमा ३०० देखि ४०० मीटरसम्म गुड्नेछ। प्रज्ञानले चन्द्रमामा १४ पृथ्वी दिवस बिताउनेछ र विभिन्न वैज्ञानिक प्रयोगहरू गर्नेछ तथा अर्बिटरको माध्यमले १५ मिनेट भित्र पृथ्वीमा तथ्याङ्कहरू र चित्रहरू पठाउनेछ। यो ३,८०० किलोग्रामको अन्तरिक्ष यानमा एउटा अर्बिटर सामेल छ जसले चन्द्रमाको परिक्रमा १०० मिटरको दूरीबाट गर्नेछ।

इसरो-का अध्यक्ष डक्टर के. सिवानले भन्नुभएअनुसार खासगरि चन्द्रमाको दक्षिणी ध्रुव नजिक चुनिएको अवतरण स्थलका लागि चाहिने विस्तारो अवतरणको जटिलताको कारण  चन्द्रयान-२ इसरोद्वारा आजसम्म गरिएको सर्वाधिक जटिल अभियान हो। तुलनाको दृष्टिले चन्द्रयान-१-लाई मून इम्पेक्ट प्रोब (एम.आइ.पि.) अर्थात् चन्द्रमामा प्रभावको जाँचमा विस्तारो अवतरणका लागि तयार गरिएको थिएन। इसरो-ले जनवरीमा के भनेको थियो भने, “हामी यस्तो स्थलमा अवतरण गर्न गइरहेका छौँ जहाँ कोही पनि गएको छैन र त्यो स्थल हो – चन्द्रमाको दक्षिणी ध्रुव… यो अपरिचित क्षेत्र हो।” चन्द्रयान-२ अभियान करिब १० वर्षअघिको चन्द्रयान-१-को एक उन्नत प्रारूप हो। चन्द्रयान-१-मा भारतका पाँच, युरोपका तीन, अमेरिकाका दुई र बुल्गारियाको १ मिलाएर जम्मा 11 पेलोडहरू थिए, अनि यो अभियानलाई चन्द्रमाको सतहमा पानी रहेको खोज गरेको श्रेय जान्छ।

भारतले चन्द्रमाको सतहमा चन्द्रयान-२-लाई सफलतापूर्वक अवतरण गर्छ भने यो यस्तो गर्ने चौथो मुलुक बन्नेछ। भारत विश्वमा रसिया, अमेरिका र चीनपछि यस्तो चौथो मुलुक बन्न चाहिरहेको छ जसले चन्द्रमामा अन्तरिक्ष यान अवतरण गरेका छन्। अप्रिल १२ तारिखमा इजरायलको बेरेशीट अन्तरिक्ष यान चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएको भए यो चौथो स्थान झण्डै इजरायलले हात पारिसक्ने थियो। तर, यो सजिलो हुने छैन किनभने बेरेशीट-ले यस्तो सपाट सतहमा अवतरण गर्ने प्रयास गरेको थियो जो लाभाको ठोसीकरणका कारण बनेको थियो जसलाई सी अफ सेरेनिटी भनिन्छ। यो एक यस्तो सपाट सतह हो जसमाथि सूर्यको ताप बढी हुन्छ, तर चन्द्रयान-२ दक्षिणी ध्रुवमा अवतरण गर्दैछ र चीनबाहेक अरू कुनै मुलुकले त्यहाँ अवतरण गर्ने प्रयास गरेको छैन।

यहाँ के याद राख्नु पर्दछ भने यो जनवरी महिनामा चीनले आफ्नो चाङ्ग’ए ४ अन्तरिक्ष यानलाई अर्कोतिर टाढाको स्थलमा अवतरण गरेको थियो जसलाई ‘डार्क साइड’ अर्थात् ‘अन्ध्यारो पक्ष’ भनिन्छ। यो स्थल पृथ्वीबाट अर्कोतिर फर्केको हुनाले अनि तुलनात्मक रूपले अपरिचित स्थल रहेको हुँदा यसलाई यस्तो नाम दिइएको हो।

चन्द्रयान-२-को सफलता इसरो-को सफलताको मुकुटमा एक अर्को मोति हुनेछ। भारतको अन्तरिक्ष सङ्गठनले अन्तरिक्ष प्रक्षेपणको क्षेत्रमा एक प्रमुख खेलाडीको रूपमा आफ्नो एक बेग्लै स्थान बनाइसकेको छ। चन्द्रयान-२ अभियानले यसका उपलब्धीहरूलाई अझ बढाउनु सुनिश्चित छ।

आलेखः पत्रकार योगेश सूद

अनुवादक एवम् वाचकः विष्णुबहादुर गुरुङ्ग