निगरानी सामर्थ्यमा सुधार निम्ति अन्तरिक्षमा भारतको नयाँ आँखा

बुधबार बिहान सठीकताका साथ प्रक्षेपण गरिएको भारतको नवीनतम पृथ्वी पर्यवेक्षण उपग्रह रिस्याट-२बी  अर्थात् ऱ्याडार इमेजिङ्ग सेटेलाइटले मुलुकका सीमानाहरूको चौबिसौँ घण्टा र सबै मौसमहरूमा प्रभावी निगरानी गर्न सक्ने भएकाले यसबाट मुलुकको जासुसी क्षमतामा प्रयाप्त वृद्धि हुनेछ। ६१५ किलोग्राम तौल भएको रिस्याट-२बी को कार्यावधि ५ वर्षको हुनेछ।

यस उपग्रहलाई विद्रोहीहरूको घूसपैठ रोक्न तथा आतङ्ककारी विरोधी अभियानहरू चलाउने दिशामा सीमानामाथि निगरानीको लागि प्रयोग गरिने छ। दिउँसो चित्रहरू संकलन गर्न सक्ने तर राती र बादल लागेको अवस्थामा अप्रभावी रहने पारम्परिक उपग्रहहरू विपरित रिस्याट-२बी सिन्थेटिक एपारेचर ऱ्याडारबाट सुसज्जित एउटा ऱ्याडार इमेजिङ्ग उपग्रह हो र यसले दिन-रात र बादल लागेको अवस्थामा समेत ऱ्याडारको प्रयोग मार्फत् पृथ्वीको पर्यवेक्षण गर्न वा यसलाई अनुभव गर्न सक्छ। रिस्याट-२बी मा जडान गरिएको एक्स-ब्याण्ड सिन्थेटिक एपारेचर ऱ्याडारले जमीनमा रहेको कुनै पनि वस्तुको आकार, बनावट, गतिविधि र परिवर्तन सरहका थप विवरणहरू प्रदान गर्न सक्छ।

रिस्याट-२बी का अतिरिक्त ध्रुवीय उपग्रह प्रक्षेपण वाहन पी एस एल भी-सी ४६ ले स्वदेशमै विकसित अन्य दुइ महत्त्वपूर्ण पे-लोडहरू पनि लिएर गएको थियो, जो हुन-एउटा स्वदेशमै विकसित किफायती विक्रम प्रसेसर र अर्को कम खर्चिलो आन्तरिक दिशानिर्देशन प्रणाली र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन, इसरोका अध्यक्ष डॅ. के सिवानले भन्नुभए अनुसार यसले भावी प्रक्षेपण अभियानहरूमा क्रान्ति ल्याउने छ। इसरोका भावी प्रक्षेपणहरूमा चण्डीगढस्थित सेमिकन्डक्टर परिसरमा विकसित यस विक्रम प्रसेसरको नै नियन्त्रण रहने छ।

रिस्याट शृङ्खलाका उपग्रहहरू, इसरोका सबै मौसममा पृथ्वीको पर्यवेक्षण गर्न सक्ने प्रथम उपग्रहहरू हुन्। यस पूर्व भारतका पर्यवेक्षण उपग्रहहरू मुख्य रूपले अप्टिकल र स्पेक्ट्रल सेन्सरहरूमाथि निर्भर रहने गरेका थिए जसलाई अन्धकार र बादलबाट बाधा पुग्थ्यो। सबै मौसममा पर्यवेक्षण गर्न सक्ने यस विशेषताले गर्दानै ऱ्याडार इमेजिङ्ग उपग्रहहरू सुरक्षा बलहरू र आपदा राहत एजेन्सीहरूको लागि खास हुन गएका छन्। रिस्याट-२बी ले संरचनाहरू र नयाँ बंकरहरूलाई समेत ठम्याउन र कहिले काहीँ त तिनीहरूको गन्ती समेत गर्न सक्छ। यस किसिमको तथ्याङ्क यी निकायहरूको लागि उपयोगी हुने गर्छ किनभने यिनीहरूलाई बादल लागेको तथा पानी परेको बेला र अन्धकारमा समेत धरातलीय स्थितिका चित्रहरू चाहिन्छन्।

भारतमा ऱ्याडार इमेजिङ्गलाई बालीको अडकल लगाउने काममा समेत प्रयोग गरिन्छ। किनभने भारतको मुख्य बाली ‘खरिफ’ अर्थात् वर्षे बाली हो जो मई महिना र सेप्टेम्बर महिना बीच हुने गर्छ र त्यसबेला पानी पर्नका साथै आकाश सामान्य रूपले मेघाच्छादित रहन्छ। रिस्याट तथ्याङ्क, वन्याकरण, माटो, भूमिको प्रयोग, भू-तत्व विज्ञान र बाढी तथा आँधीबेरीको समयमा समेत प्रयोग गरिन्छ।

रिस्याट-२बी दश वर्षमा भारतको तेस्रो ऱ्याडार इमेजिङ्ग उपग्रह हो। प्रारम्भिक रिस्याटहरूमाथि काम चली राखेकै अवस्थामा नोभेम्बर २००८-को मुम्बई हमला पछि यी उपग्रहहरूको प्रक्षेपण योजनामा संशोधन गर्नु पऱ्यो र इसरोले रिस्याट-१ अगावै रिस्याट-२ प्रक्षेपित गर्ने निर्णय गऱ्यो। रिस्याट-१ मा प्रयोग गरिने स्वदेशी सी-ब्याण्ड सिन्थेटिक एपारेचर ऱ्याडार तयार नहुनु नै यसको कारण थियो। रिस्याट-२ मा इजरायली वैमानिकी उद्योगको एक्स-ब्याण्ड सेन्सर प्रयोग गरिएको थियो। तसर्थ रिस्याट-२ को प्रक्षेपण २००९ मा गरिएको थियो भने रिस्याट-१ को २०१२-मा।  यी दुवै उपग्रहहरूले आ-आफ्ना कार्यावधि पूरा गरेका छन्। रिस्याट-२बी ले रिस्याट-२ को स्थान लिने छ।

पृथ्वी तथा भारतीय क्षेत्रको अन्तरिक्ष आधारित पर्यवेक्षण बढाउनको लागि इसरोले ऱ्याडार इमेजिङ्ग उपग्रहहरूको एउटा शृङ्खला प्रक्षेपित गर्ने योजना गरेको छ। इसरोको सन् २०१९-मै मात्र चार अथवा पाँच वटा यस किसिमका उपग्रहहरू पठाउने योजना छ।

पी एस एल भी-को नवीनतम सफल प्रक्षेपणबाट इसरोको प्रमुख कार्यबल बनेका यी रकेटहरूको अत्याधिक निर्भरयोग्यता फेरी एकपल्ट प्रदर्शित भएको छ। पी एस एल भी-सी ४६ पी एस एल भी रकेटहरूको १४-औँ उडान थियो। अहिलेसम्म गरिएका ४८ प्रक्षेपणहरूमा यस रकेटले मात्र दुइ पल्ट विफलताहरूको सामना गर्नु परेको छ। सन् १९९३-मा यसको पहिलो विकासमूलक उडान विफल भएको थियो। सेप्टेम्बर २०१७-मा पी एस एल भी-सी ३९-ले कुनै बाधा बिनानै आफ्नो उडान पूरा गर्दै कक्षमा पुगे पछि यसको हिट शिल्ड नखुले पछि दिग निर्देशन उपग्रह आई आर एन एस एस-लाई कक्षमा स्थापित गर्न सकिएन। सन २००८-मा भारतको प्रथम चन्द्रमा अभियान चन्द्रयान-१ र २०१३-मा भारतको प्रथम मंगल अभियानमा पनि पी एस एल भी-कै प्रयोग गरिएको थियो।

भारतको दोस्रो चन्द्रमा अभियान चन्द्रयान-२ यसै वर्ष जुलाईमा पठाउने कार्यक्रम छ। चन्द्रमाको दक्षिणी ध्रुव निकट एउटा ‘रोभर’ अर्थात् वाहन ओराल्ने योजना रहेको यो अभियान एउटा कोशेढुङ्गा साबित हुनेछ।

आलेखः वरिष्ठ विज्ञान समीक्षक, बिमान बसु

अनुवादक एवम् वाचकः महेन्द्र नाथ उपाध्याय