सशक्त सरकारको लागि भारतको मतदान

भारतका ९० करोडभन्दा अधिक मतदाताहरूले भारतीय जनता पार्टी, भाजपाको नेतृत्ववादी राष्ट्रिय लोकतान्त्रिक गठबन्धनलाई निर्णायक जनादेश दिएका छन्। ३५ वर्षको इतिहासमा भारतीय संसदको तल्लो सदन, लोकसभामा कुनै सिङ्गो पार्टीले ३०३ सीटहरूमा विजय प्राप्त गरेको यो प्रथम अवसर हो। प्रधान मन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुनुभएको छ अनि यसपाली उहाँले राष्ट्रिय सुरक्षा र विकासको मुद्दा उठाउनुभएको थियो।

१७औँ लोकसभाको लागि सात चरणहरूमा भएका चुनाउहरूमा भारतीय मतदाताहरूले सबैतिरबाट भाजपा-लाई समर्थन दिए। पार्टीको अति नै कम उपस्थिति रहेको पश्चिम बङ्गाल र तेलङ्गाना जस्ता राज्यहरूमा पनि भाजपाले उल्लेखनीय संख्यामा सीटहरू जित्नमा सफलता प्राप्त गऱ्यो। भारतीय राष्ट्रिय काँग्रेस नेतृत्ववादी विपक्षी पार्टीहरू मतदाताहरूको समर्थन जुटाउनमा असफल रहे। यसबाहेक, धेरै मतदाताहरू प्रधान मन्त्री मोदीले बितेका पाँच वर्षहरूमा गर्नुभएको कामहरूद्वारा औधी प्रभावित थिए।

बितेका पाँच वर्षहरूमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारले १३३ विकासात्मक परियोजनाहरू सुरू गऱ्यो। स्वच्छता, खाना पकाउने ग्यास, सब्सिडीहरूको उचित भुक्तानी, विशाल संख्यामा भारतीयहरूको ब्याङ्कमा खाता खोल्नु जस्ता तृणमूल स्तरका मामिलाहरूमा सरकारका अग्रसरताहरूलाई मानिसहरूले सकारात्मक ढङ्गमा लिए।

राष्ट्रिय सुरक्षाको मुद्दामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारले सशक्त पाइलाहरू साऱ्यो। आतङ्कवादप्रति शून्य सहिष्णुताको स्पष्ट सन्देश सरकारद्वारा दिइयो। भारतीय सुरक्षा बलहरूले आतङ्कवादको अनिष्ट विरूद्ध मुकाबिलामा ठूलो सफलता अर्जित गरे। विशेषगरी, भारतको जम्मू एवम् काश्मीर राज्यमा घिन लाग्दो शिर उठाउने सीमा पारिबाट सञ्चालित आतङ्कवादको मुकाबिलामा यी बलहरूको सफलता उल्लेखनीय छ। पुलवामा आतङ्की हमला पश्चात् पाकिस्तान अधिकृत कश्मीरका बालाकोट, चकोटी र मुजफ्फराबाद स्थित जैश-ए-मोहम्मदका शिविरहरूमा भारतका प्रत्याक्रमणहरू आधारभूत परिवर्तनको सङ्केत थियो। मोदी सरकार भारतीय वायु सेनाका विङ्ग कमान्डर अभिनन्दन वर्तमानलाई रिहा गराउनमा पनि सफल रह्यो जसको विमान पाकिस्तानी भूमिमा दुर्घटनाग्रस्त भएको थियो।

प्रधान मन्त्री मोदी भारतको परराष्ट्र नीतिलाई एक नयाँ बल र दिशा दिनमा पनि सफल हुनुभयो। भारतका पूर्वेली छिमेकी राष्ट्रहरूसित सामञ्जस्य स्थापित गर्नमा उहाँको ‘पूर्वोन्मुखी कार्य नीति’-को भूमिका महत्त्वपूर्ण रहेको छ। डोकलाम गत्यावरोधको सफल समाप्ति, संयुक्त्त राज्य अमेरिका, रसिया, चीन, सउदी अरब, इरान र इजरायलसित सम्बन्धहरू गहिरो हुँदैजानु यस्ता उपलब्धिहरू हुन् जसले भारतीय जनतालाई औधी प्रभावित गऱ्यो।

सन् २०१९-को चुनाउ वास्तवमा महत्त्वाकांक्षी मतदान थियो। जाति, धर्म, भाषा अनि लिङ्गको कुनै परवाह नगरी मतदाताहरूले श्री मोदीको समर्थनमा भोट थिए। मतदाताहरू एक असल जीवन व्यतीत गर्न चाहन्छन् अनि उनीहरूको विचारमा श्री मोदी जस्तो नेताले मात्रै यसलाई उपलब्ध गराउन सक्छ।

अब भारतीय प्रधान मन्त्रीको सामुन्ने अझ कठिन कार्य छ। निर्धन व्यक्त्तिहरूका भोजन, नगदीको समर्थन, घर अनि शौचालय जस्ता आधारभूत आवश्यकताहरूलाई पूरा गरिएको छ, अनि अब उनीहरूका आकांक्षाहरू पनि बढेर जानेछन्।

भारत मध्यम आय भएका मुलुकहरूको वर्गमा प्रवेश गरिरहेछ, जहाँ प्रति व्यक्ति आय लगभग २,००० डलर छ। उपभोक्त्ताहरूको उद्भव भइरहेको वर्गको महत्त्वाकांक्षा उच्च छ। रोजगारको लागि ग्रामीण र सहरी युवाहरू बीच प्रतिस्पर्धा हुनेछ।

भारतीय अर्थव्यवस्थालाई पनि अगाडि धकेल्ने खाँचो छ। बितेका पाँच वर्षहरूमा परिवेश अहानिकारक नै रह्यो। खाद्य पदार्थका मूल्यहरूमा केही वृद्धि भयो। हाल वैश्विक आर्थिक मन्दीको जोखिम सामुन्ने उपस्थित छ। मूल्यको क्षेत्रमा तनाउका सङ्केतहरू देखिएका छन्, वैश्विक युद्ध वा वास्तविक युद्ध नै सुरु हुने सङ्केतहरू पनि प्राप्त भएका छन्।

आगामी सरकारले ध्यान दिनुपर्ने प्रमुख क्षेत्र हो, रोजगारहरूको सिर्जना। लाखौँको संख्यामा बेरोजगारहरू छन् अनि सबैलाई रोजगार उपलब्ध गराउनु सजिलो छैन। ‘कौशल भारत’ अनि ‘मुद्रा ऋण’ योजना जस्ता परियोजनाहरूलाई अझ बढी समर्थनको खाँचो छ। शिक्षा अनि निर्माण-उत्पादन क्षेत्रमाथि बल दिने आवश्यकता छ।

कर प्रणालीमा सुधारको खाँचो छ, जीएसटी सुरु गरिएको छ तर यसलाई अझ सरल बनाउने आवश्यकता छ। मानिसहरूको क्रय क्षमता साथै सरकारको राजस्वमा वृद्धि गर्नु आवश्यक छ अनि यो एक कठिन कार्य हो।

आज मानिसहरूको महत्त्वाकांक्षा सन् २०१४ भन्दा धेरै बढेर गएको छ। प्रधान मन्त्री मोदीसित समस्याहरूलाई समाधान गर्ने तथा भारतलाई एक अग्रणी अर्थव्यवस्था बनाउने सङ्कल्प र इच्छाशक्त्ति छ भनी भारतीयहरूको विश्वास छ। भारतका मतदाताहरूले आगामी पाँच वर्षहरूमा भारतले एक नयाँ उचाइँलाई छुनेछ भनी आशा राखेका छन्।

पाकिस्तानका प्रधान मन्त्री इमरान खान लगायत विश्वका धेरै नेताहरूले प्रधान मन्त्रीलाई बधाई दिएका छन् अनि असल विश्व व्यवस्थाको निर्माण निम्ति उहाँसित मिलेर काम गर्ने इच्छा प्रकट गरेका छन्।

आलेख: राजनीतिक समीक्षक, प्रोफेसर शिवाजी सरकार

अनुवादः राज कुमार सिंह

वाचन:  प्रणय सुब्बा