एससीओ-का विदेश मन्त्रीहरूको बैठक

परराष्ट्र मामिला मन्त्री सुषमा स्वराज शाङ्घाइ सहयोग संगठन (एससीओ)का विदेश मन्त्रीहरूको बैठकमा भाग लिन यो साताको प्रारम्भमा किर्गिजस्तानको बिश्केक जानुभएको थियो। वर्तमान सरकारका परराष्ट्र मामिला मन्त्रीको रूपमा उहाँको यो अन्तिम विदेश यात्रा थियो। भारतीय आम चुनावको परिणाम घोषित हुन ठीक एक दिनअघि भएको उहाँको भ्रमणले एससीओ भारतका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको देखाउँछ। भारतीय नेताहरूले अहिलेसम्म एससीओ बैठकहरूमा समर्पित भावनाका साथ भाग लिँदै आएका छन्। प्रधान मन्त्री नरेन्द्र मोदीले सन् २०१५मा रसियाको उफामा सम्पन्न १५औँ एससीओ शिखर सम्मेलनदेखिकै यस बैठकमा भाग लिँदै आउनुभएको छ।

पोहोर चीनमा श्रीमती स्वराज, रक्षा मन्त्री निर्मला सीतारमन तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आ-आफ्ना एससीओ बैठकहरूमा भाग लिनुभयो। यी बैठकहरूले डोकलाम गतिरोध पश्चात चिनियाँ समकक्षीहरूसित संलग्न हुने मञ्च प्रदान गरे साथै एक बहुपक्षीय व्यवस्थामार्फत मध्य एसिया र रसियासम्मको पहुँच बनाउने अवसर पनि प्रदान गरे। २०१९को एससीओ बैठकको छेकमा भारतीय परराष्ट्र मामिला मन्त्रीले चिनियाँ विदेश मन्त्री वङ्ग यिइलाई पनि भेट्नुभयो अनि वूहान अनौपचारिक शिखर वार्ताको बेला सहमति जनाइएका सिद्धान्तहरूलाई अगाडि बनाउनु पर्ने महत्त्वमाथि जोड दिनुभयो।

भारत एससीओमा पूर्ण सदस्यको रूपमा जून २०१७मा सामेल भएको थियो। भारत र पाकिस्तानको सदस्यतापछि एससीओले युरेसियाव्यापी आकार लिइराखेको छ अनि यसको पहुँच अब भारतीय उपमहाद्वीपसम्म बनेको छ। एससीओ बैठकहरू भित्रै अनेक स्तरहरूमा नियमित अन्तर्क्रियाहरू कैयौँ दृष्टिकोणमा भारतका लागि महत्त्वपूर्ण रहेका छन्।

एससीओमा भारतको सदस्यताले उसको ‘कनेक्ट सेन्ट्रल एसिया’ नीतिलाई गति प्रदान गरेको छ। एससीओमा अफगानिस्तान र इरान पर्यवेक्षकहरू हुन्। आफ्नो सम्बोधनमा श्रीमती स्वराजले अफगानिस्तानमा शान्ति वार्ताको सुचारू सञ्चालन सुनिश्चित गर्ने भारतको प्रतिबद्धातालाई दोहऱ्याउनुभयो। उहाँले ‘एससीओ अफगानिस्तान कन्ट्याक्ट ग्रुप’ प्रक्रियालाई भारतको पूर्ण समर्थन प्रदान गर्नुभयो। उहाँले यस कन्ट्याक्ट ग्रुपको भावी कार्यको मस्यौदा कार्यढाँचा शीघ्र पूरा गर्न आह्वान गर्नुभयो। क्षेत्रीय सरोकारवालाहरूको सुसंगत समर्थन र सामूहिक प्रयासहरूबिना यो प्रक्रिया कुटिल रहनेछ अनि कुनैपनि समाधान लामो समयसम्म टिक्ने छैन। भारतले एससीओलाई अफगानिस्तानमा शान्ति प्रक्रियाका लागि क्षेत्रीय सहयोग प्रदान गर्ने एक मञ्चको रूपमा हेर्दछ।

एससीओमा भारतको समाविष्ट आतङ्कवाद विरुद्ध क्षेत्रीय लडाइँका लागि अति नै महत्त्वपूर्ण छ। फेब्रुअरी २०१९मा भएको पुलवामा हमला पश्चात् भारत आतङ्कवाद विरुद्धको लडाइँमा अझ धेरै सक्रिय बनेको छ। एससीओको अङ्ग, क्षेत्रीय आतङ्क-प्रतिरोधी ढाँचा (आरएटीएस) तीन अनिष्टहरू; आतङ्कवाद, पृथकतावाद तथा अतिवादसित निप्टिनका लागि स्थापित गरिएको थियो। भारतले  एससीओको ‘शान्ति मिशन’ नामक वार्षिक आतङ्करोधी अभ्यासमा भाग लिएको छ। भारतका लागि, एससीओमा सामेल हुने मुख्य उद्देश्यहरू मध्ये एक हो क्षेत्रमा आतङ्क-प्रतिरोधी प्रयासहरूलाई मजबुत पार्नु।

भारत सम्पर्कतालाई मजबुत पार्न अनि क्षेत्रको शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि काम गर्न प्रतिबद्ध छ। परराष्ट्र मामिला मन्त्रीले अन्तर-क्षेत्रीय सम्पर्कता साकार बनाउने दिशामा भारत प्रतिबद्ध रहेको पुनर्पुष्टि पनि गर्नुभयो। उहाँले बताउनुभयो कि भारतको प्रतिबद्धता देख्न सकिन्छ किनभने भारत अन्तर्राष्ट्रिय उत्तर-दक्षिण परिवहन करिडोर, चाबहार बन्दरगाह, अश्गाबात सम्झौता तथा भारत-म्यानमार-थाइल्यान्ड त्रिपक्षीय राजमार्ग जस्ता सम्पर्कता परियोजनाहरूमा संलग्न रहेको छ। यद्यपि वर्तमान प्रारूपमा चीनको बेल्ट एवम् रोड अग्रसरता भारतका विदेश नीति प्राथमिकताहरूका लागि एक चुनौती रहिआएको छ। भारतले समावेशी, सतत तथा पारदर्शी अग्रसरताको माग गर्दैआएको छ अनि मुलुकहरूलाई सार्वभौमिकता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूलाई सम्मान गर्न अग्रह गरेको छ।

एससीओले भारतलाई केवल मध्य एसियाली मुलुकहरूसित मात्र होइन तर एसियाका दुई विशाल देश रसिया र चीनसित पनि संलग्न हुने मञ्च प्रदान गरेको छ। युरेसियाली क्षेत्रले आतङ्कवाद, सम्पर्कताको कमी, क्षेत्रीय शान्ति र स्थिरता तथा सुस्त क्षेत्रीय आर्थिक समन्वय जस्ता चुनौतीहरूको सामना गरिराखेको छ। यी सबै प्रमुख बाधाहरू हुन्। एससीओसित भारतको मजबुत संलग्नताको भविष्य उज्जवल रहेको छ किनभने यी उद्देश्यहरूले नै भारतलाई एससीओमा सामेल हुने प्रेरणा दिएका हुन्।

यतिका वर्षहरूमा एससीओले आफुलाई एक मजबुत क्षेत्रीय समूहको रूपमा स्थापित गरेको छ। यसले मुलुकहरूलाई विविध हितहरूका साथ संवादमा संलग्न हुने एउटा मञ्च प्रदान गर्दछ। भारत यसप्रति कृतज्ञ हुँदैआएको छ अनि एससीओको तत्त्वाधानमा रहेका मुलुकहरूसित सक्रिय ढंगमा संलग्न भइराखेको छ।

आलेख: चिनियाँ एवम् युरेसियाली मामिलासम्बन्धी सामरिक विश्लेषक, सना हाशमी

अनुवाद: प्रणय सुब्बा