भारतको वैश्विक शक्ति बन्ने यात्रा

निर्णय लिने विषयमा उच्च मापदण्ड स्थापित गर्ने कुरामा कसैले पनि प्रधान मन्त्री नरेन्द्र मोदीको बराबरी गर्न सक्दैन। यो त्यसबेला स्पष्ट भयो जब उहाँले भन्नुभयो, उहाँको दोस्रो सरकारले, नयाँ ऊर्जाका साथ एउटा नयाँ भारत बनाउन एउटा नयाँ यात्रा सुरु गर्नेछ। संसदको केन्द्रीय कक्षमा प्रधान मन्त्रीले दिनुभएको बयान, २०२२-सम्ममा सबैको सपनाको भारत निर्माण गर्ने उहाँको कथन अनुरुप रहेको छ। यो सपना, आगामी तीन वर्षमा सबै भारतीयहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा, आवास तथा अन्य आधारभूत सुविधाहरू प्रदान गर्नु मात्र नभएर, देशलाई वैश्विक स्तरमा शीर्षस्त उचाईमा पुऱ्याउनु पनि रहेको छ।

प्रधान मन्त्रीले एउटा नयाँ नारा दिनुभएको छ र यो हो –‘नारा’ (NARA-राष्ट्रिय महत्त्वाकांक्षा तथा क्षेत्रीय आकांक्षा)। व्यापक अर्थमा ‘नारा’ निकट भविष्यमा विकसित राष्ट्र बन्ने भारतको इच्छा अनुरूप पनि छ। यो नवाचार एवम् वैज्ञानिक ज्ञानको केन्द्र बन्ने भारतको रोडम्याप अनुरुप छ। विश्वमा एउटा शक्तिशाली आवाज बन्ने देशको रणनीतिसित पनि यो मेल खान्छ।

यद्यपि, यो सपना साकार हुनपुर्व भारतले उज्ज्वला, आयुष्मान भारत र अन्य जनमुखी योजनाहरूको विस्तार गर्नुपर्नेछ। यी कल्याणकारी कार्यक्रमहरू सँगै भारतले आफ्नो  अर्थव्यवस्थाका पाङ्ग्राहरूको गति पनि अझै तीव्र पार्नु पर्नेछ जसबाट  आगामी पाँच वर्षमा भारत ५ हजार अर्ब डलरको अर्थव्यवस्था भएका मुलुकहरूको समूहमा सामेल हुन र साथै २०३०-सम्ममा विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था पनि बन्न सकोस्। यसको अर्थ के हुन्छ भने, उपभोग तथा लगानीमा वृद्धिबाट भारतको सकल घरायसी उत्पादन (जी डी पी)-ले १० हजार अर्ब डलरलाई स्पर्श गर्नेछ। विकासको यो चाहनालाई विश्वका शीर्ष देशहरूको दौडमा भारतलाई अगाडि पुऱ्याउने महत्त्ववाकांक्षाले ऊर्जा प्रदान गरेको छ।

 यदि आर्थिक तथा लगानीमा विस्तार गर्नु प्रधान मन्त्री मोदीको नयाँ भारतको सपनाको एउटा पक्ष हो भने, देशलाई कूटनीतिक, राजनीतिक र रणनीतिक रूपले बलियो बनाउनु भारतको महत्त्वाकांक्षाको दोस्रो पक्ष हो। प्रधान मन्त्रीले बारम्बार भन्नुभएको छ, १९४२ र १९४७ बीचको समय सरहनै आगामी पाँच वर्ष देशको इतिहासमा अतिनै महत्त्वपूर्ण हुनेछ। यो त्यो अवधि थियो जब ब्रिटिश शासनबाट मुक्ति पाउनका लागि विभिन्न इलाकाका मानिसहरू, क्षेत्र र जिल्लाहरू एक साथ अघि बढेर आएका थिए। यसको अर्थ यो हो कि, भारतलाई उसका समस्याहरूबाट मुक्ति दिलाउन भारतीयहरूले समान जोस देखाउनु आवश्यक छ जसबाट यसले विश्व व्यवस्थामा उचित ओहोदा हासिल गर्न सकोस्। प्रत्येक जनमुखी कार्यक्रमलाई वास्तविकतामा रूपान्तरित गर्नको लागि सही पाइला र सही इरादालाई प्राथमिकता दिइनु पर्छ।

यसैगरी, राष्ट्र संघ सुरक्षा परिषद (यू एन एस सी)-मा भारतको सदस्यताको लागि विश्वभरीका राजनीतिक तथा  कुटनैयीक मञ्चहरूमा सही आवाज उठान गरिनु पनि जरूरी छ। यसै सन्दर्भमा, बिशकेकमा सम्पन्न सांघाई सहयोग संगठन (एस सी ओ)-को विदेश मन्त्री स्तरीय बैठकमा राष्ट्र संघ सुरक्षा परिषदलाई बढी प्रतिनिधित्वमुलक र प्रभावी पार्नको लागि यसमा व्यापक सुधार गर्ने प्रयासहरूलाई समर्थन गर्न संगठनका सदस्यहरूलाई भारतद्वारा गरिएको आह्वान महत्त्वपूर्ण हुन जान्छ। तर राष्ट्र संघको विटो अर्थात् निशेधिकार लागु गर्न सक्ने वर्तमान प्रणालीका एक वा दुइ सदस्यहरू भने यसमा कुनै पनि संरचनात्मक परिवर्तन गर्ने पक्षमा छैनन्। यसै कारणनै राष्ट्र संघमा विस्तार गर्ने सम्बन्धी मागले गति प्राप्त गर्न नसकेको हो। तर भारतको आर्थिक साखमा भएको वृद्धि र लगभग जम्मै भूमण्डलीय नेताहरूसित प्रधान मन्त्री मोदीको व्यक्तिगत मित्रताले गर्दा विगत दिनहरूमा राष्ट्र संघमा सुधार सम्बन्धी माग प्रसस्तै अघि बढेको छ।

विश्वको एक जिम्मेदार राष्ट्रको तवरमा भारतले पर्यावरणीय समस्याहरू लगायत विभिन्न पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेली राखेको छ। पर्यावरणसित न्याय गर्न भारत सरकार जीवाष्म इन्धनमाथिको निर्भरतामा कमी ल्याउने लक्ष्यका साथ काम गरि रहेको अन्तर्राष्ट्रिय सौर गठबन्धन (आई एस ए)-को नेतृत्व गर्न समेत सहमत भएको छ। “नौलो भारत”-को महत्त्वाकांक्षाले यस एजेण्डालाई पनि समर्थन गर्छ। अनेकौं मुलुकहरूले, अन्तर्राष्ट्रिय मामिलाहरूमा एउटा अझै ठूलो भूमिका खेल्नको लागि भारतलाई आग्रह गरि राखेका छन्। तर भारतले विवेकपूर्ण तरिकाले विभिन्न भूमण्डलीय विषयहरूमा आफ्नो परिपक्वतापूर्ण अडान कायम राख्ने कुटनैयीक विशिष्टता परित्याग गरेको छैन। “वसुदैव कुटुम्बकम” अर्थात् सारा संसार एउटै परिवार हो भन्ने भारतको परिकल्पनाबाट यसका विदेश नीतिजन्य लक्ष्यहरू सही अर्थमानै स्पष्ट हुन जान्छन्।

आलेखः शङ्कर कुमार, वरिष्ठ पत्रकार

अनुवादकः महेन्द्र नाथ उपाध्याय