पाकिस्तानमा अल्पसंख्यकहरूविरुद्ध सास्ती जारी

पाकिस्तानमा अल्पसंख्यकहरूले सरकारको हातबाट मुलुकको भेदभावपूर्ण नीतिका साथै मानिसहरू खासगरि दक्षिणपन्थी उग्रपन्थीहरूको हातबाट पूर्वाग्रह र उत्पीडनको दंश झेलिरहेका छन्। पाकिस्तानको जम्मा जनसंख्याको करिब 30 लाख संख्यामा रहेका हिन्दूहरू, ख्रिस्तानहरू र सिखहरूका लागि आफ्ना आस्थालाई मान्नु कहिलेकाहीँ एक खतरनाक काम हुन सक्दछ। यिनीहरूसित भेदभावपूर्ण व्यवहार गर्ने हतियारहरूमध्ये एक कुख्यात ईशनिन्दा कानुन हो जसअन्तर्गत अल्पसंख्यकहरूलाई इस्लाम धर्मका सिद्धान्तहरू तथा उपदेशहरूको अपमान गरेको आरोपमा सजाय दिइन्छ।

पछिल्लो मामिला सिन्ध प्रान्तमा अल्पसंख्यक समुदायका एकजना डक्टरको छ जसलाई एउटा धार्मिक ग्रन्थलाई अपवित्र गरेको निहुँमा ईशनिन्दाको आरोपमा पक्राउ गरिएको छ। केही साताअघि, पञ्जाब प्रान्तमा एउटा अल्पसंख्यक धार्मिक समुदायका दम्पतिद्वारा एकजना मानिसलाई अनुचित टेक्स्ट सन्देश पठाएबापत् पक्राउ गरिएको थियो र ईशनिन्दाको आरोप लगाइएको थियो। पाकिस्तानमा अल्पसंख्यकहरूमा विद्यमान डरलाई झनै बढाउने एक अर्को चिन्ताजनक घटना लाहौरको मोफसल नारोवाल-मा ‘गुरू नानक महल’ नामक सिख तीर्थस्थललाई ध्वस्त गरिनु हो।

यी कुनै छुटपुट घटनाहरू होइनन् बरू अल्पसंख्यकहरूका अधिकारहरूको लगातार उल्लङ्घनका घटना हुन्। ठुलो संख्यामा अल्पसंख्यकहरूलाई ईशनिन्दा कानुनअन्तर्गत पक्राउ गरिएको छ वा सजाय दिइएको छ। आसिया बीबीको मामिला सर्वाधिक महत्त्वपूर्ण हो जसले पाकिस्तानमा अल्पसंख्यकहरूका अधिकारहरूबारे एक वाद-विवाद नै सुरु गराएको छ। यतिका निन्दाहरूपछि पनि पाकिस्तानले यो घृणित कानुनअन्तर्गत अल्पसंख्यकहरूलाई पक्राउ गर्न जारी राखेको छ।

माथि उल्लेखित डक्टरलाई स्थानीय मस्जिदका प्रमुख मौलवीद्वारा सिकायत दर्ज गरिएपछि हिरासतमा लिइएको थियो। उनीमाथि धर्मग्रन्थलाई अपवित्र पारिएको आरोप लगाइयो जसका लागि पाकिस्तानको ईशनिन्दा कानुनअन्तर्गत कडा सजायको प्रावधान छ। यो कानुनका अकथित नियमहरू पाकिस्तानी नागरिकहरूका मन-मस्तिष्कमा अङ्कित छन्, जो भीडमा परिणत हुन्छन्, र यसले कहिलेकाहीँ हत्यारा भीडको स्वरूप ग्रहण गर्दछ। सिन्धमा डक्टरलाई पक्राउ गरिएपछि एक विशेष समुदायका सदस्यहरूका पसलहरू जलाइनु यसै मानसिकताको परिणाम हो। पाकिस्तानको ईशनिन्दा कानुन अत्यन्तै खुकुला, अस्पष्ट र जबर्जस्ती गर्ने किसिमका छन्। यिनले असमान रूपले धार्मिक अल्पसंख्यकहरूलाई निसाना बनाउँछन्। अल्पसंख्यक समुदायका मानिसहरूसित व्यक्तिगत झैँझगडा सल्ट्याउनका लागि निर्दोष मानिसहरूमाथि कैयौँ झुट्टा मुद्दाहरू थोपरिन्छन्।

पाकिस्तानमा अल्पसंख्यकहरूलाई उनीहरूका धार्मिक स्थलहरूको सुरक्षाको ग्यारेन्टी समेत छैन। उनीहरूका ऐतिहासिक एवम् महत्त्वपूर्ण सांस्कृतिक स्थलहरू धेरै समयदेखि पाकिस्तानका दक्षिणपन्थी उग्रपन्थीहरूको निसाना बन्दै आएका छन्। नारोवलमा गुरू नानक महलको विध्वंश यो लामो सूचीमा थपिएको पछिल्लो घटना हो। यसपटक  दक्षिणपन्थीहरूसित सम्बद्ध प्रभावशाली स्थानीयहरूद्वारा यो विध्वंश गरिनुले अल्पसंख्यकहरूको दयनीय अवस्थालाई झल्काउँछ। यस्ता निर्लज्ज कृत्यहरूबारे कसैले कुनै प्रश्न खडा गर्दैन। के पनि खबर छ भने यो   १५औँ शताब्दीको गुरूद्वाराका ऐतिहासिक झ्याल, ढोका र अन्य महत्त्वपूर्ण सामानहरू चोरी गरेर बजारमा केही मूल्यमा बेचिएका छन्। अधिकारीहरूलाई प्रश्न गरिँदा उनीहरू यस मामिलमामा पूर्णतः मौन हुन्छन्। यसबाट समग्र सिख समुदायका भावनाहरू आहत हुनु निश्चित छ र यो भारत र पाकिस्तानबिच करतारपुर करिडोर पहलको लागि एक ठुलो आघात हुनेछ। स्थानीय मानिसहरूले यो ऐतिहासिक धरोहर स्थलको विध्वंशविरुद्ध कारबाही गर्ने माग गरिरहेका छन् तर प्रश्न त के छ भने के विगतमा यस्ता अपराधहरूविरुद्ध कुनै कारबाही गरिएको छ?

पाकिस्तानमा जो मुसलमान होइनन् उनीहरूलाई काफिर अर्थात् गैर-आस्तिकको रूपमा चिन्हित गरिन्छ र समस्या के छ भने पाकिस्तानको संविधान र राज्यका अन्य संरचनाहरूले यस धर्मशास्त्रीय सिद्धान्तहरूको समर्थन गर्दछन्। राष्ट्रिय तन्त्रमा अल्पसंख्यकहरूको कुनै उचित प्रतिनिधित्व छैन तथापि संसदमा उनीहरूका लागि ५ प्रतिशत सीटहरू आरक्षित छन्। अल्पसंख्यकहरू तथा उनीहरूका धार्मिक स्थलहरू जस्तै – मन्दिर, गुरुद्वारा र गिर्जाघरका लागि सुरक्षाको कुनै बन्दोबस्त छैन। पाकिस्तानमा ती दोषीहरूलाई सजाय दिलाउने कुनै प्रावधान छैन जसले ईश निन्दा कानून अन्तर्गत अल्पसंख्यकहरूलाई सताउँछन् वा अल्पसंख्यक धार्मिक स्थलहरूलाई ध्वस्त गर्छन्। यसले पाकिस्तानमा अल्पसंख्यकहरू विरूद्ध जघन्य मानवाधिकार उल्लंघन हुने गर्छ जसमा शिया हजारे र अहमदीहरू सामेल छन्।

आलेख: दक्षिण एसिया केन्द्र (आइ.डि.एस.ए.-मा अनुसन्धान विश्लेषक डॉ. जैनाब अख्तर

अनुवादकः विष्णुबहादुर गुरूङ्ग