आईसीसी विश्व कप २०१९

इङ्गल्याण्ड र वेल्सको संयुक्त आयोजनामा यसै मई ३० देखि जुलाई १४ सम्म हुने १२-औँ विश्व कपको अवधिमा ‘भद्रलोकहरू’-को खेल भनिने क्रिकेट आफ्नो पूर्ण वैभवमा रहनेछ। साढे एक महिनासम्म चल्ने यस प्रतियोगिताको आयोजक हो आईसीसी जसलाई अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद भनिन्थ्यो। क्रिकेट विश्व कप पाँचौ पटक इङ्गल्याण्ड र वेल्समा आयोजित भई राखेको छ। सन् १९७५, १९७९, १९८३ र १९९९-मा विश्व कपहरूको आयोजना त्यहाँ भएको थियो। यद्यपि क्रिकेट केही मुलुकहरूमा मात्र र ती मध्ये पनि धेरै जसो पूर्वमा ब्रिटिश साम्राज्यका उपनिवेश रहेका मुलुकहरूमा खेलिन्छ, तथापि ‘गेम अफ विलो’ मानिने यो खेल अत्यन्तै लोकप्रिय छ। दर्शकहरू र अनुयायीहरूको संख्याको हिसाबले फुटबल र लन टेनिस पछि नै यसको स्थान आउँछ। यस उपमहाद्वीपमा क्रिकेट लगभग एउटा धर्म सरह नै भएको छ र खेलाडीहरूलाई भगवान सरह मानिन्छ। उप महाद्विपकका दलहरू बीचको प्रतिस्पर्धा त यत्ति चर्को छ कि कहिले कहीँ त यसले उन्मादको रूप लिन्छ। अनि उपमहाद्विपका भारत, पाकिस्तान र श्रीलंकाको लागि यो एउटा गौरवको कुरा हो कि तिनीहरूले जम्मा चारवटा विश्व कपहरू जिती सकेका छन्। एकजना भूतपूर्व क्रिकेट खेलाडी, उप महाद्वीपको एउटा मुलुकका प्रधान मन्त्री समेत बनेका तथ्यबाट नै क्षेत्रमा यस खेलको लोकप्रियताको अनुमान लगाउन सकिन्छ। दक्षिण एसिया क्षेत्रका क्रिकेट खेल्ने प्रमुख मुलुकहरूमा कैयौँ क्रिकेटरहरू मन्त्री तथा सांसद बनी सकेका छन्।

यस पटकको विश्वकपको पहिलो म्याच द ओभलमा इङ्गल्याण्ड र दक्षिण अफ्रिका बीच भइरहेछ र फाइनल म्याच लर्डसमा खेलिने छ जसलाई क्रिकेटको मक्का पनि भनिन्छ।

यसपटकको प्रतियोगितामा सहभागी १० दलहरूलाई एउटा सिङ्गो समूहमा राखिएको छ जस अन्तर्गत प्रत्येक दलले अन्य ९ प्रतियोगीहरूसित एक-एकपटक खेल्नेछ। यस चरणमा प्रथम ४ स्थानमा रह्ने दलहरूले सेमीफाइनलमा प्रेवश गर्नेछन्। १० दलहरूलाई सामेल गरि खेलाई राखिएको यस प्रतियोगितामा सहयोगी दलहरूलाई सामेल नगरिएको लागि यसको आलोचना भइराखेको छ। सन् २०१७-मा आयारल्याण्ड र अफगानिस्तानलाई टेस्ट म्याच खेल्ने दलहरूको सूचीमा सामेल गरिएपछि टेस्ट म्याच खेल्ने दलहरूको संख्या १० बाट १२ पुगेको हुँदा, टेस्ट म्याच खेल्ने सबै राष्ट्रहरूको सहभागिता नरहेको यो पहिलो प्रतियोगिता हुनेछ।

अफसोसको कुरा त के हो भने क्रिकेट खेलको जन्म थलो इङ्गल्याण्डलाई अहिलेसम्म विश्व कप जित्ने सौभाग्य प्राप्त भएको छैन। आयोजकको रूपमा इङ्गल्याण्ड सबैले मनपराएको दल त हो, तर भारतीय दल चाहिँ त्यो दल हो जसमाथि सबैको नजर रहनेछ। भारतले १९८३ र २०११ मा विश्व कप जिती सकेको छ। सन् २००३-मा यो सहविजेता रहेको थियो भने २०१५ मा अस्ट्रेलियामा भएको विश्व कपमा यो सेमिफाइनलसम्म पुग्न सफल भएको थियो। अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र वेस्ट इण्डिस ती दलहरू हुन जसको खेल हेर्नुपर्ने हुनेछ। तर विश्व कपमा कुनैपनि दललाई हल्का रूपले लिन सकिन्न।

भारतीय दलको नेतृत्व चमत्कारी विराट कोहलीका हातमा छ जो स्वयं एक प्रेरणदायी कप्तान हुनका साथै एक जबरजस्त लडाका पनि हुन्। विकेट किपरको रूपमा स्टम्पको पछि रहनेछन दलका वरिष्ठ नेता महेन्द्र सिंह धोनी अनि २०११ र २०१५-मा भारतीय दलका केप्टेनको रूपमा दलमा उनको भूमिका अतिनै महत्त्वपूर्ण रहनेछ। मुम्बईको वानखडे स्टेडियममा श्रीलंका विरुद्ध फाइनलमा उनले लगाएको विजय दिलाउने छक्कालाई कुनैपनि क्रिकेटरले भुल्न सक्दैन। त्यसै छक्काले नै इतिहासका सबैभन्दा महान क्रिकेटरहरू मध्ये एक रहेका भारतका सचिन तेन्डुलकरलाई विश्व कप उपहारको रूपमा दिएको थियो।

भारतले आफ्नो विश्वकप अभियान ५ जुनको दिन  साउथहैंपटनको रोज बाउलमा दक्षिण अफ्रिका विरुद्ध सुरु गर्नेछ। भारतले त्यसपछि ट्रान्समान सागर वार पार अवस्थित दुइ छिमेकी अस्ट्रेलिया र न्युजील्याण्डसित क्रमैसित ९ र १३ जुनका दिन खेल्नेछ। भारतको चिरप्रतिद्वन्दी पाकिस्तानसितको खेल चाहिँ १६ जुनको दिन ओल्ड ट्यार्फोड, मैनचेस्टरमा खेलिनेछ। यस म्याचको लागि सबै टिकटहरू बिकि सकेका छन्। विश्व कप चरणमा भारत पाकिस्तानसित अहिलेसम्म कहिले पनि पराजित भएको छैन। अनि भारत यस अभिलेखलाई कायम राख्न चाहन्छ। त्यसपछि भारतले क्रिकेट खेल्ने राष्ट्रहरूको समूहमा नव आगन्तुक अफगानिस्तान, मेजमान इङ्गल्याण्ड, वेस्ट इण्डीज, बाङ्ग्लादेश र श्रीलंका विरुद्ध खेल्ने छ।

प्रारम्भिक चरणमा प्रथम र चतुर्थ स्थानमा रहेका दलहरूबीच ९ जुलाइको दिन ओल्ड ट्याफोर्ड, मैनचेस्टरमा पहिलो सेमिफाइनल खेलिनेछ। दोस्रो सेमिफाइनल एजबस्टन, बरमिंगहम ११ जुलाईको दिन दोस्रो र तेस्रो स्थानमा रहेका दलहरूबीच खेलिने छ। फाइनलमा विजयी हुने दलले नगद ४० लाख डलरको पुरस्कार प्राप्त गर्नेछ। त्यसैले एउटा रोमान्चकारी प्रतियोगिताको आशामा ईङ्गल्याण्ड तर्फ क्रिकेट प्रेमीहरूको ओइरो लाग्न थाली सकेको छ।

आलेख: अल इण्डिया रेडियाका समाचार विश्लेषक, कौशिक रॉय

अनुवाद: महेन्द्र नाथ उपाध्याय