मोदी सरकारद्वारा दोस्रो कार्यकालका निम्ति शपथ ग्रहण

विशाल जनादेश प्राप्त भएपछि श्री नरेन्द्र मोदीले लगातार दोस्रोचोटी भारतका प्रधान मन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो। राष्ट्रपति रामनाथ कोविन्दले प्रधान मन्त्री नेतृत्वाधीन मन्त्री परिषदका ५८ सदस्यहरूलाई पद एवम् गोपनीयताको शपथ ग्रहण गराउनुभयो। यस मन्त्री परिषदमा भारतका पूर्वसचिव सुब्रमण्यम जयशङ्कर बाहेक सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) र सहयोगी दलका उत्कृष्ट प्रतिभाहरूलाई सामेल गरिएको छ।

श्री जयशङ्कर  प्रधान मन्त्रीको सबैभन्दा विलक्षण चयन हुनुहुन्छ। उहाँ भारतको विदेश मन्त्रालयमा एक प्रमुख सहयोगी हुनुहुथ्यो। उहाँको चीनसम्बन्धी विशेषज्ञता निश्चय नै एक परिसम्पत्ति हुनेछ। बीजेपी अध्यक्ष श्री अमित शाहलाई पनि मन्त्रीमण्डलमा सामेल गरिएको छ। उहाँले सरकारमा एक मुख्य भूमिका खेल्ने अपेक्षा छ।

श्री मोदीले कैयौँचोटी यस जनादेशलाई मुलुकभरका मानिसहरूका आकांक्षाहरूको रूपमा वर्णित गर्नुभएको छ। यही जनाकांक्षालाई ध्यानमा राखी राष्ट्रपति महोदयद्वारा शपथ ग्रहण गराइएका मन्त्रीहरूले भारतव्यापी उत्साह र उमङ्गलाई प्रतिबिम्बित गरेका छन् जसले युवाहरूलाई सकारात्मक सङ्केत दिएको छ।  श्री मोदीले अघि नै उल्लेख गरिसक्नुभएको छ कि उहाँको दोस्रो सरकारले “एनएआरए (नारा)” (नेशनल एम्बिशन + रिजनल एस्पिरेशन) आर्थात् राष्ट्रिय महत्त्वाकांक्षा साथै क्षेत्रीय आकांक्षाको आधारमा काम गर्नेछ। उहाँले भन्नुभयो कि सुशासनका साथ समावेशी विकास नै उहाँको मुख्य लक्ष्य हो।

निरन्तरता सँग-सँगै परिवर्तन मन्त्रीहरूको चयनमा मन्त्र रहिआएको जस्तो देखिन्छ। श्री राजनाथ सिंह, श्री नीतिन गडकरी, श्री राम विलास पासवान, श्री नरेन्द्र सिंह तोमर, श्री पियूष गोयल, श्रीमती स्मृति ईरानी ती मन्त्रीहरू हुन् जसले श्री मोदीको दोस्रो कार्यकालमा पनि आफ्ना सेवा दिनेछन्। श्री गजेन्द्र सिंह शेखावत, श्री गिरीराज सिंह तथा श्री महेन्द्र नाथ पाण्डे समेत कतिपय कनिष्ठ मन्त्रीहरूलाई पनि सम्भवत: उहाँहरूको प्रदर्शनले गर्दा, क्याबिनेट पदमा पदोन्नति गरिएको छ।

५८ सदस्यीय यस मन्त्री परिषदमा २४ क्याबिनेट मन्त्री, स्वतन्त्र प्रभारका साथ ९ राज्य मन्त्री तथा अन्य २४ राज्य मन्त्री छन्। यस विशाल जनादेशले वास्तवमा सत्तारुढ गठबन्धन मुलुकका अधिकांश राज्यहरूमा समर्थन जुटाउन सफल भएको दर्शाएको छ। त्यसर्थ एक राष्ट्रिय सरकारको साँचो भावनामा भारतव्यापी प्रतिनिधत्व दिनका लागि यस मन्त्री परिषदमा मन्त्रीहरू अधिकांश राज्यहरूबाट सामेल गरिएको छ।

सबै चकित हुनेगरी मन्त्री परिषदमा सामेल गरिएको मन्त्री हुनुहुन्छ श्री प्रताप चन्द्र सारङ्गी। ओडिशाको बालासोर संसदीय निर्वाचनक्षेत्रमा एउटा कुटीमा बस्नुहुने श्री सारङ्गी साधारण र सरल जीवन व्यतित गर्ने व्यक्तिको एक साँचो उदाहरण हुनुहुन्छ। साँच्चै नै महात्मा गान्धीले मानिसहरूलाई सरल जीवन व्यतित गर्न आग्रह गर्नुभएको थियो। श्री सारङ्गीको सरलता र लोक कल्याणप्रतिको निष्ठाले प्रधान मन्त्री मोदी लगायत कैयौँ मानिसहरूको मन जितेको छ।

नयाँ मन्त्री परिषदको शपथ ग्रहण समारोहका साथै १७औँ लोकसभा चुनावको चुनावी प्रक्रिया पूरा भएको छ। संसदको तल्लो सदन लोकसभाका सदस्यहरूलाई शपथ ग्रहण गराउनका लागि संसदको संक्षिप्त सत्र डाकिनेछ जहाँ पहिलो क्याबिनेट बैठक हुनेछ।

भारतलाई एक अभिलाषी लोकतन्त्र सही रूपमा भनिएको हो। ९० करोड भन्दा अधिक मतदाताहरूमध्ये ६७ प्रतिशत भन्दा बढी मतदाताहरूले श्री मोदीको विकासमुलक एजेन्डालाई समर्थन गरेका छन्। विकासप्रति समर्पित एक सरकारले मात्र विश्वको अर्थव्यवस्थाका लागि पनि असल काम गर्न सक्छ।

मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएको अवस्थामा वैश्विक अर्थव्यवस्थाले कठिन परिस्थितिको सामना गरिराखेको छ र यो, नयाँ सरकारका लागि चिन्ताको मुख्य विषय हुनसक्छ।  विश्वले अमेरिका-चीन बीचको व्यापार युद्ध तीव्र हुँदैगएको तथा अमेरिकाद्वारा इरानमाथि पुन: प्रतिबन्ध लगाइएकोले फारसको खाडीमा संकट बढ्दैगएको देखिरहेको छ। यसले गर्दा कच्चा तेलको वैश्विक मूल्यमा वृद्धि देखिएको छ जसको असर भारतको स्फीतिमा पनि पर्न सक्छ। प्रधान मन्त्री मोदी नेतृत्वाधीन सरकार आफ्नो पहिलो कार्यकालमा स्फीतिलाई नियन्त्रण गर्न सफल भएको थियो। उहाँ भारतको स्फीतिलाई नियन्त्रणमा राख्ने मार्गमा हिँड्न जारी रहने अपेक्षा गरिएको छ। सरकारले किसानहरूको जीवन सुगम बनाउनका निम्ति भारतको कृषि क्षेत्रका लागि अनेक उपायहरू कार्यान्वयन गर्ने अपेक्षा पनि गरिएको छ।

राष्ट्रपति भवनमा सम्पन्न भव्य शपथ ग्रहण समारोमा बहुक्षेत्रीय प्राविधिक एवम् आर्थिक सहयोगका लागि बङ्गालको खाडी अग्रसरता, बिम्सटेकका सरकारप्रमुख एवम् राष्ट्रप्रमुखहरू गवाही बने। यस समारोहमा किर्गिजस्तानका राष्ट्रपति तथा मौरिससका प्रधान मन्त्री पनि उपस्थित हुनुहुन्थ्यो। यसले भारतको ‘छिमेकी पहिला’ नीतिलाई पुनर्पुष्टि गर्दछ। त्यसर्थ यसबाट क्षेत्रको सामूहिक समृद्धि चाहने भारतको मनसा स्पष्ट हुँदछ।

आलेख: मनिष आनन्द, द न्यु इन्डियन एक्सप्रेसका वरिष्ठ विशेष संवाददाता

अनुवाद: प्रणय सुब्बा