पाकिस्तान विरोधी आवाजहरू विरुद्ध कडा कारबाही गर्दै

पाकिस्तान एक राजनीतिक भुमरीमा फसेको छ किनकि पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) सरकारले सरकार विरोधी आवाजहरू दबाउने कारबाहीलाई तीव्र पार्न थालेको छ। पाकिस्तान पिपल्स पार्टीका आसिफ अलि जरदारी अनि पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल-एन) का हमजा शहबाज जस्ता नेताहरूलाई गिरफ्तार गरी विपक्षको मुख बन्द गर्नदेखि लिएर पश्तून तेहफूज मूम्भमेन्ट (पीटीएम) जस्ता समूहहरूमाथि कारबाही गरी इमरान खान नेतृत्वाधीन सरकारले सुनियोजित ढंगमा सरकार विरोधी आवाजहरू दबाइराखेको छ। बेलायती अधिकारीहरूद्वारा स्वनिर्वासित पाकिस्तानी राजनीतिज्ञ एवम् मुत्ताहिदा कौमी मूभमेन्टका नेता अलताफ हुसैनको गिरफ्तारी पछाडि पाकिस्तान सरकारको हात रहेको सरह देखिएको छ। देशको कुनै पनि भागबाट आइरहेका आलोचना रोक्नका निम्ति इस्लामाबादले पाकिस्तान सेनाको आदेश अनुरुप काम गरिरहेको झैँ देखिएको छ। यद्यपि, विपक्षी र सरकार विरोधी आवाजहरूसित निप्टिनका लागि अपनाइएको सख्त नीति पाकिस्तान सरकारलाई नै भारी पर्न सक्छ।

विपक्षलाई व्यस्त राखी बजेट पारित गराउन पाकिस्तान संसदको बजेट सत्रको दौरान राष्ट्रिय जवाफदेहिता कार्यालय (एनएबी)को भेषमा तथाकथित भ्रष्टाचारको आरोपमा विपक्षका नेताहरूलाई सुनियोजित तरिकाले पक्राउ गरियो। विश्लेषकहरूको विचारमा एनएबीले अब पीएमएल-एन का दुई प्रभावशाली नेताहरू; पूर्व प्रधान मन्त्री शाहिद खकान अब्बासी र पूर्व जल एवम् विद्युत मन्त्री ख्वाजा मोहम्मद आसिफमाथि नजर राखिरहेको छ। यहाँ यो कुरा उल्लेखनीय छ कि पाकिस्तान पिपल्स पार्टीका नेता बिलावल भुट्टो जरदारी अनि पाकिस्तान मुस्लिम लीग नवाजकी नेत्री मरियम नवाज शरीफले स्थितिको जायजा लिन दुइपल्ट बैठक गरिसक्नुभएको छ अनि बजेटलाई जन विरोधी र अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा निर्देशित वित्तीय दस्तावेज संयुक्त रूपमा बताउनुभएको छ। ती बैठकहरू एक यस्तो समयमा भए जुन बेला एनएबी-ले दुई पार्टीका प्रमुख नेताहरू विरुद्ध छानबिन गरिरहेको थियो अनि पाकिस्तान पिपल्स पार्टीका सह-अध्यक्ष आसिफ अलि जरदारी र उहाँकी बहिनी फरयाल तलपुर साथै पञ्जाब विधानसभामा विपक्षका नेता हमजा शाहबाज गिरफ्तार भइसक्नु भएको थियो। पाकिस्तान तेहरीक-ए-इन्साफ पार्टीले ती बैठकहरूलाई व्यवहारिक, आर्थिक वा राजनैतिक कारणहरूले गर्दा गरेको बिहे जस्तै हुन् भनी बताएको छ तर यी दुई पार्टीले विपक्षी पार्टीहरूलाई एकबद्ध बनाई विरोध प्रदर्शन सुरु गर्न सकेको खण्डमा हाल खान सरकारले सामना गरिराखेको राजनैतिक समस्याहरू अझ बढ्न सक्ने छन्।

विपक्षी पार्टीहरूले ती गिरफ्तीहरू राजनैतिक रूपमा उत्प्रेरित थिए तथा इमरान खानले भ्रष्टाचारलाई विपक्षको मुख थुन्न हतियारको रूपमा प्रयोग गरिराख्नुभएको छ साथै पीटीएम जस्ता समूहहरूलाई शत्रुका दलालहरू बताइ उनीहरूका मोशिन दावर र अलि वजिर जस्ता लोकतान्त्रिक ढंगमा निर्वाचित नेताहरूलाई गरिफ्तार गरिराखेको बताएका छन्।

पीटीएम-का दुई नेताहरूको गिरफ्तारी र उत्तर वजिरिस्तानमा एउटा विरोध प्रदर्शनको बेला सेनाद्वारा पीटीएम कार्यकर्त्ताहरू मारिएको घटना पश्चात अब सो क्षेत्र पाकिस्तान सेनाको कब्जामा रहेको छ। पीटीएम-का नेता मनजूर पसथीनले सोशल मीडियामार्फत बताउनुभएको छ कि “स्थानीय बासिन्दाहरूलाई युद्धकैदी झैँ व्यवहार गरिँदैछ अनि केवल बन्दुक बोकेका व्यक्तिहरू सहरमा डुलिरहेका छन्”

यसका कार्यकर्त्ताहरूले यो पनि रेखाङ्कित गरेका छन् कि हिंसामा सेनाद्वारा मारिएका प्रदर्शनकारीहरूका लागि दिइने क्षतिपूर्ति राशीमाथि रोक लगाइएको छ अनि परिवाजनहरूलाई सूचित गराइएको छ कि सो क्षतिपूर्ति राशी तब मात्र दिइनेछ जतिबेला उनीहरूले पाकिस्तानी सेना विरुद्धको आरोप फिर्ता लिने छन् र हत्याको दोष पक्राउ परेका पीटीएम-का सदस्याहरूमाथि लगाउने छन्।

हालैमा पीटीएम-की एकजना महिला नेता गुलालई इस्माइललाई देश विरोधी भाषण दिएको आरोपमा पेशावरबाट गिरफ्तार गरियो। आतङ्कवाद अधिनियम अन्तर्गत गुलालई विरुद्ध दुइवटा मुद्दा दर्ता गरिएको छ। यस अघि, झुटो आरोपमा गुलालईको नाम कालो सूचिमा राखिएको थियो। पाकिस्तान सरकारले यस्तो गर्नुको मुख्य उद्देश्य पश्तुन जनसंहारलाई ढाकछोप गर्नु र मुलुकमा नागरिक अधिकार आन्दोलनहरूलाई दमन गर्नु हो।

एनएबी-ले खकान अब्बासी विरुद्ध जाँच तीव्र पारेको छ र एनएबी लोकतान्त्रिक ढङ्गमा निर्वाचित पीटीएम-का नेताहरूले सरकार विरोधी गतिविधिहरूका लागि बाह्य एजेन्सीहरूबाट कोष प्राप्त गरिराखेको साबित गर्ने अभियानमा लागिपरेको छ। यही आधारमा पीटीआई-ले पश्तुन नेतृत्वको सदस्यता हटाउने प्रयास गरिरहेको छ। यसै पृष्ठभूमिमा विपक्षी नेताहरू; मरियम नवाज शरीफ र बिलावल भुट्टो जरदारी एकसाथ आउनु र ‘चार्टर अफ डेमोक्रेसी’ नामक दस्तावेजमा हस्ताक्षर गर्नु दीर्घकालिक पाकिस्तानी राजनीतिको परिप्रेक्ष्यमा महत्त्वपूर्ण रहेको छ, खासगरी यस्तो समयमा जुनबेला विपक्षी पार्टीहरू इमरान खान सरकारका नीतिहरू विरूद्ध प्रदर्शन तीव्र पार्ने प्रयास गरिराखेका छन्।

आलेख: डक्टर जैनब अख्तर, पाकिस्तान मामिलाका विश्लेषक

अनुवाद: प्रणय सुब्बा