फारसको खाडीमा सैन्य रचना

ओमानको खाडीमा विगत साता तेल ट्याङ्करहरूमाथि भएको हमलाको जबाफमा अमेरिकाको प्रतिरक्षा विभागले फारसको खाडीमा सुरक्षा बढाउन थप १,००० सैनिकहरू पठाउने घोषणा गरेको छ। सन् २०१८-को मई महिनामा अमेरिकाले इरानसितको परमाणु सम्झौता जे सी पी ओ ए-बाट निर्गमन गर्ने फैसला गरेपछि क्षेत्रमा बढिराखेको तनाव बीच नै यो घटना हुन गएको छ। अमेरिकाले इरानमाथि फेरी आर्थिक प्रतिबन्धहरू लगाउनका अतिरिक्त विगत महिना इरानी तेलको आयातको लागि दिएका सबै छुटहरू पनि खतम गरिदियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझै नौला प्रतिबन्धहरू लगाउने निर्णय गर्नका साथै प्रतिबन्धित इरानी उद्योगहरूसित व्यवसाय गर्ने व्यक्तिहरू अथवा निकायहरूलाई माध्यमिक प्रतिबन्धहरू लगाउने चेताउनी समेत दिनुभएको छ।

इरानले पनि जबाफमा जे सी पी ओ ए-मा हस्ताक्षर गर्ने अन्य मुलुकहरू विशेष गरी संयुक्त अधिराज्य, फ्रान्स र जर्मनीलाई इरानी अर्थव्यवस्थामाथि प्रतिबन्धहरूको प्रभावलाई हल्का पार्न नत्र भने उसले पनि सम्झौतालाई तिलाञ्जली दिने धम्की दियो। यसले अमेरिकालाई अर्लिङ्तन र एउटा प्याट्रिअट क्षेप्यास्त्रको डफ्पाका साथै थप सैनिकहरू पठाउन उक्सायो। त्यस बेला थप १५०० अमेरिकी सिपाहीहरूलाई खाडी क्षेत्रमा पठाइएको थियो। सैन्य रचना तथा प्याट्रिअट क्षेप्यास्त्र र जासुसी विमानहरूको तैनाती क्षेत्रको शान्ति तथा सुरक्षा निम्ति शुभ संकेत होइन।

इरानले ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि भएका हमलाहरूमा उसको संलग्नता नरहेको कुरामाथि बल दिइराखेको छ। तर अमेरिका र साऊदी अरबले भने यस विघटनकारी घटनाको लागि इरानमाथि नै अभियोग लगाईराखेका छन्। वास्तवमा यी दुइ मुलुहरूले त मई महिनामा फुजैराह तट इतर चार वटा तेल ट्याङ्करहरूमाथि भएका हमलाहरूको लागि पनि इरानमाथि नै दोष लगाईराखेका छन्। अझै साऊदी अरबले यमनमा ती हुथी विद्रोहीहरूबाट पनि हमलाहरूको सामुना गर्न परिराखेको छ जससित साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन लामो समयदेखि संघर्षमा मुछी राखेको छ।

मई २०१९-मा साऊदी आर्मको तेल पाइप लाइनमाथि ड्रोन हमला भएको थियो। गत साता, साऊदी अरबको दक्षिणी नज्रान प्रान्तस्थित आभा डवाई अड्डा एउटा हुथी क्षेप्यास्त्रको हमलामा परेको थियो जसमा २६ जना घाइते भएका थिए। साऊदी अरबले इरानमाथि हुथीहरूलाई सशस्त्रबाट लैश गरेको र साऊदी अरबभित्र हमलाहरू गर्न उक्साई राखेको समेत अभियोग लगाइएको छ। क्षेत्रमा अझ अधिक फौजहरू पठाउने अमेरिकी फैसलालाई यसै सन्दर्भमा हेरिनु पर्छ। थप फौजहरू पठाउने निर्णयको घोषणा गर्नुहुँदै अमेरिकाका कायममुकायम रक्षा मन्त्री प्याट्रिक शाहनहानले इरानको शत्रुतापूर्ण आचरणको जबाफमा नै यी कार्यवाहीहरू गरिएको बताउनुभयो। उहाँले अझै यस कुरामाथि पनि बल दिनुभयो कि अमेरिका इरानसित संघर्ष चाहँदैन तर “हाम्रा सैन्यकर्मीहरूको कल्याण र सुरक्षा सुनिश्चित गर्न” तथा “हाम्रा राष्ट्रिय हितहरूको रक्षा गर्न” यसलाई जरूरी ठहर गरिएको छ।

यी महत्त्वपूर्ण घटनाहरू हुन् अनि अमेरिका र इरानबिच तनाव बढिराखे कै अवस्थामा भएका छन्। रसिया, चीन, संयुक्त अधिराज्य, फ्रान्स र जर्मनी सरहका अन्य वैश्विक शक्तिहरूले तनावलाई कम पार्ने आशा त गरिराखेका छन् तर तनाव कम पार्ने दिशामा कुनै पनि उल्लेख्य पहल गर्न भने विफल भएका छन्। जापानका प्रधान मन्त्री सिन्जो अबेद्वारा यसै महिना गरिएको इरान यात्रालाई इरानलाई उसका हुंकारहरू नरम पार्न र शान्ति तथा स्थिरता कायम गर्नमा एउटा रचनात्मक भूमिका खेल्न मनाउने क्रम कै एउटा अग्रसरताको रूपमा हेरिएको थियो।

तर इरानले एउटा हठपूर्ण रवैया अपनाएको छ। यसले सैनिक कार्यवाही गर्ने धम्की समक्ष झुक्न अस्वीकार गर्दै ऊसित कुनै पनि सैनिक कार्यवाहीबाट स्वयंलाई रक्षा गर्ने अधिकार र सामर्थ्य रहेको बताएको छ। रसिया र चीन फारसको खाडीमा अमेरिकाद्वारा हालै गरिएका कार्यवाहीहरू प्रति आलोचनात्मक रहेका छन्। तिनीहरूले के संकेत दिएका छन् भने इरान पूर्णरूपले एक्लो छैन र स्थिति गम्भिर रूपले चर्को भएको अवस्थामा त्यसले व्यापक क्षेत्रिय संघर्षको रूप समेत लिन सक्छ। यसैबीच इरानले एउटा अमेरिकी ड्रोनलाई गोली हानी झारेको समचार छ जसलाई राष्ट्रपति ट्रम्पले एउटा अति नै नराम्रो भूल बताउनुभएको छ। यस कार्यवाहीले तनावलाई अझै बढाउन सक्छ।

भारतको लागि फारसको खाडीमा बढ्दो तनाव एउटा चिन्ताको विषय हो। ऊर्जा सुरक्षाकै कारणले मात्र होइन अपितु खाडीमा ८५ लाख भारतीयहरूको बसोबास रहेको कारणले पनि क्षेत्रिय शान्ति र स्थिरतामा भारतको महत्त्वपूर्ण हित निहित छ। यस क्षेत्रका सबै मुलुकहरूसित भारतका मजबुत सामरिक, राजनैतिक एवम् व्यावसायीक सम्बन्धहरू रहेका छन्। इरान र साऊदी अरब दुवैसित भारतका अत्युत्तम सम्बन्धहरू रहेका छन् र ती मुलुकहरूका दूतहरूद्वारा भर्खरै भारतको भ्रमण गरिएको तथ्यबाट यसको किटान हुन्छ। भारत के आशा गर्दछ भने सबै सरोकारवालाहरूले यस्ता उपायहरूको खोजी गर्ने छन् जसले वर्तमान शत्रुतालाई पन्छाएर एउटा सहमतिपूर्ण समाधानको लागि अनुकुल वातावरणको सृजना गर्नेछ।

आलेखः पश्चिम एसियाका सामरिक विश्लेषक, डॅ. महोम्मद कमर

अनुवाद : महेन्द्र नाथ उपाध्याय