संसद समीक्षा

 

राष्ट्रपति राम नाथ कोविन्दले भन्नुभएको छ, भारतीय जनता पार्टीको नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकार जन आकांक्षाअनुरुप एक मजबुत, सुरक्षित, समृद्ध तथा समावेशी भारत निर्माण गर्ने दिशामा अघि बढिराखेको छ। उहाँले भन्नुभयो यो यात्रा ‘सबका साथ, सबका विकास तथा सबका विश्वास’नाराको मूल भावनाबाट प्रेरित बनेको छ। उहाँले संसदको केन्द्रीय सभागृहमा संसदका दुवै सदन, लोकसभा र राज्यसभाको संयुक्त सभालाई सम्बोधन गर्दै भन्नुभयो, यो सरकार प्रथम दिनदेखि नै खराब-शासनबाट उत्पन्न उनीहरूका पीडाहरू हटाएर अनि सबै आवश्यक सुविधाहरू प्रदान गरेर मानिसहरूका जीवन सुधार्न कटिबद्ध रहिआएको छ।

भारतीय राष्ट्रपतिले भन्नुभयो, जनताले पहिलो कार्यकालमा सरकारको प्रदर्शनको मूल्याङ्कन गरेपछि हालैमा सम्पन्न लोकसभा चुनावमा दोस्रो कार्यकालका निम्ति यो सरकारलाई एक मजबुत समर्थन दिएको छ। उहाँले भन्नुभयो करिब आधा जति सांसदहरू नै प्रथमपल्ट निर्वाचित भएका छन् अनि महिला सांसदहरूले सर्वाधिक संख्यामा चुनाव जितेर इतिहास रचेका छन्। श्री कोविन्दले भन्नुभयो सरकारको मुख्य उद्देश्य ग्रामीण भारतलाई मजबुत बनाउनु हो। उहाँले महिला सशक्तिकरण सरकारका शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताउँदै भन्नुभयो समाज र यसको अर्थतन्त्रमा उनीहरूको प्रभावकारी सहभागिता एक विकसित देशको परिचायक हो। उहाँले सरकारका पहलहरूबारे बताउँदै भन्नुभयो देशमा हरेक किसानलाई प्रधान मन्त्री किसान सम्मान निधि प्रदान गर्ने निर्णय गरिएको छ। उहाँले भन्नुभयो विगतका पाँच सालमा किसानहरूको आय २०२२ भित्रमा दोबर पार्ने अनेक पाइलाहरू सारिएका छन्। उहाँले साना पसलेहरू र खुद्रा व्यवसायीहरूका निम्ति सरकारको पेन्शन योजनाको प्रशंसा गर्नुभयो।

राष्ट्रपति महोदयले सांसदहरूलाई “एक राष्ट्र एक चुनाव”को प्रस्तावमाथि विचार विमर्श गर्न आग्रह गर्नुभयो। उहाँले मुलुकमा प्रत्येक दिदी बहिनी र छोरीहरूका लागि समान अधिकार सुनिश्चित गर्न तीन तलाक र निकाह हलाला जस्ता अभ्यासहरू उन्मूलन गर्नुपर्ने आवश्यकतालाई रेखाङ्कित पनि गर्नुभयो। सरकारको पाँच सातासम्म चल्ने बजेट सत्रको सुरुआत प्रधान मन्त्री नरेन्द्र मोदीद्वारा विपक्षलाई एउटा अपीलबाट भयो जहाँ उहाँले भन्नुभयो १७औँ लोकसभामा आफ्नो संख्यालाई लिएर चिन्ता गर्नुपर्ने उसलाई कुनै आवश्यकता छैन। श्री मोदीले भन्नुभयो मुलुकका बृहत् हितहरूलाई ध्यानमा राखी जन कल्याणसम्बन्धी समग्र विषयहरूप्रति एक अपक्षपाती दृष्टिकोण अपनाउनका लागि सबै प्रयास गरिनेछ। उहाँले भन्नुभयो एक सक्रिय अनि प्रभावशाली विपक्ष कुनै एक लोकतन्त्रको अपरिहार्य आवश्यकता हो। उहाँले यो कुरा १७औँ लोकसभाको पहिलो सत्रको प्रारम्भिक दिनमा भन्नुभएको हो।

श्री मोदीले भन्नुभयो विपक्षको हरेक शब्द मूल्यवान हुन्छ। उहाँले भन्नुभयो बितेको महिना सम्पन्न चुनावको परिणामले कैयौँ नयाँ विशेषताहरूलाई प्रकाशमा ल्याएको छ जस्तै स्वाधीनतापछि प्रथमपल्ट सर्वाधिक संख्यामा मतदाताहरूले आफ्ना मताधिकार प्रयोग गरेको, महिला मतदाताहरूको संख्या र संसदमा महिलाहरूको प्रतिनिधित्वमा वृद्धि।

प्रधान मन्त्री मोदीले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै भन्नुभयो, उनीहरूका साथ देशको सेवा गर्ने एउटा नयाँ आशा, नयाँ आकांक्षा तथा एक नयाँ संकल्प आउँदछ।

सत्र सुरु हुनसाथ सदनका कायम मुकायम सभामुख डक्टर विरेन्द्र कुमारले निर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउनुभयो।सबभन्दा पहिले प्रधान मन्त्री मोदीले शपथ लिनुभयो। बुधबार सदनले राजस्थानको कोटा-बून्दीबाट दोस्रोपल्ट बीजेपी सांसद श्री ओम बिरलालाई सर्वसम्मतिका साथ १७औँ लोकसभाका सभामुखको रुपमा निर्वाचित गऱ्यो। यसको प्रस्ताव प्रधान मन्त्रीद्वारा राखिएको थियो जसलाई केन्द्रीय मन्त्रीहरू श्री अमित शाह, श्री राजनाथ सिंह तथा श्री नीतिन गडकरीद्वारा समर्थन दिइएको थियो।

प्रधान मन्त्रीले श्री बिरलाले गुजरात तथा उत्तराखण्डमा भूकम्प आएको बेला दिनुभएको महत्त्वपूर्ण सेवाको स्मरण गर्नुभयो। पछि, सबै सदस्यहरूले पार्टीदेखि माथि उठेर  नयाँ सभामुखलाई बधाई दिए। विभिन्न नेताहरूद्वारा गरिएको अभिनन्दनको प्रतिक्रियामा सभामुख बिरलाले सदनलाई आश्वस्त पार्नुभयो कि उहाँले पीठासीन अधिकारीको रूपमा आफ्ना सबै दायित्वहरू पूरा गर्नुहुनेछ अनि दुवै पक्षबाट सहयोग चाहनुहुनेछ। पछि, श्री मोदीले भारत माता की जय र जय हिन्द जस्ता नाराहरू गुञ्जिरहेको माझ श्री बिरलालाई सभामुखको कुर्सीमा विराजमान गराउनुभयो। प्रधान मन्त्रीले सदनलाई उहाँको क्याबिनेटका सहयोगीहरूको परिचय पनि दिनुभयो।

 

आलेख: भी. मोहन राव, पत्रकार

अनुवाद एवम् वाचन: प्रणय सुब्बा