ओसाकामा ब्रिक्स नेताहरूको अनौपचारिक भेटघाट

जापानको ओसाकामा जि२० शिखर सम्मेलनको छेकमा ब्राजिल, रसियाली सङ्घ, इन्डिया, चाइना र साउथ अफ्रिका छोटकरीमा ब्रिक्सका राष्ट्र एवम् सरकार प्रमुखहरूको बैठक बस्यो। भारतका प्रधान मन्त्री नरेन्द्र मोदी, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति शी जिनपिङ्ग र दक्षिण अफ्रिकाका राष्ट्रपति सीरिल रामाफोसाले जापानलाई जि२० को अध्यक्षताका लागि बधाई दिनुभयो अनि जापानद्वारा व्यापार, विज्ञान, प्रौद्योगिकी र नवोन्मेष, पूर्वाधार, जलवायु परिवर्तन, सर्वव्यापी स्वास्थ्य सेवा, वृद्धजनहरू र सतत् विकास लगायत रोजिएका प्राथमिकताहरूको प्रशंसा गर्नुभयो।

ब्रिक्स नेताहरूले महसुस गरेअनुसार विश्वको आर्थिक विकास स्थिर देखिँदैछ र यस वर्षको अन्त्यदेखि २०२०-मा यो विस्तारै बढ्ने छ भन्ने सामान्य अड्कल लगाइएको छ। तर, विकासको मजबुतिकरण अत्यन्तै अनिश्चित रहेकोछ किनभने व्यापार एवम् भू-राजनीतिक तनावहरू  बढिरहेका छन्, उपभोक्ता वस्तुहरूको मूल्यमा अस्थिरता छ, असमान र अपर्याप्त समावेशी विकासको स्थिति छ अनि वित्तीय अवस्था कसिएको स्थितिमा छ जसले जोखिमलाई बढाएको छ। ब्रिक्सले अन्तर्राष्ट्रिय व्यापारको सतत् विकासका लागि अनुकूल वैश्विक आर्थिक वातावरणको महत्त्वमाथि बल दिएको छ।

विगत दशकमा ब्रिक्स मुलुकहरू वैश्विक विकासका प्रमुख उत्प्रेरकहरू रहेका छन्, र हाल वैश्विक उत्पादनको झण्डै एक तृतियांश भागको प्रतिनिधित्व गर्दछन्। अनुमानहरूले के सङ्केत दिएको छ भने ब्रिक्सले सन् २०३० सम्ममा वैश्विक आर्थिक विकासको आधीभन्दा बढी भाग ओगट्न जारी राख्नेछ। ढाँचागत सुधारहरूको निरन्तर कार्यान्वयनले ब्रिक्सको विकास सम्भावनाहरूलाई बढाउने छ। ब्रिक्सका सदस्य मुलुकहरूमाझ सन्तुलित व्यापार विस्तारले अन्तर्राष्ट्रिय व्यापार प्रवाहलाई मजबुत गर्नमा थप योगदान गर्नेछ।

ब्रिक्स नेतृत्वले खुल्ला बजारहरू; मजबुत आर्थिक सहनशीलता; वित्तीय स्थिरता; सुनियोजित एवम् समन्वित स्थूल आर्थिक नीतिहरू; सार्वजनिक-निजी साझेदारितामा सहयोगको महत्त्वलाई स्वीकार गरेको छ। ब्रिक्स पारदर्शी, भेदभावरहित, खुल्ला, स्वतन्त्र एवम् समावेशी अन्तर्राष्ट्रिय व्यापारप्रति वचनबद्ध छ। संरक्षणवाद र एकपक्षीयवाद विश्व व्यापार सङ्गठन, डब्ल्यु.टि.ओ.-का भावना एवम् नियमहरू विपरित छन्। नेताहरूले बहुपक्षीयवाद र अन्तर्राष्ट्रिय कानून, अनि डब्ल्यु.टि.ओ.-लाई मध्यमा राखेर नियमहरू आधारित बहुपक्षीय व्यापार प्रणालीलाई पूर्ण समर्थन प्रति उनीहरूको वचनबद्धतालाई दोहोऱ्याउनुभयो।

तर, डब्ल्यु.टि.ओ.-मा कुनैपनि सुधारले डब्ल्यु.टि.ओ.-को केन्द्रीयता, मूल तत्वहरू र मौलिक सिद्धान्तहरूलाई अक्षुण्ण राखेको हुनु पर्दछ। वार्तालापको कार्यसूची सन्तुलित हुनु पर्दछ र यसमाथि खुल्ला, पारदर्शी अनि समावेशी ढङ्गले छलफल गरिनु पर्दछ।

ब्रिक्सले पूर्वाधारलाई वित्त पोषण र सतत् विकासमा न्यु डेभलपमेन्ट बैँक (एन.डि.बि.)-को  भूमिकाको साथ एक मजबुत, सन्तुलित अनि उच्च गुणस्तरका पोर्टफोलियो परियोजनाहरू निर्माणका लागि लगातार प्रयासहरूको   प्रशंसा गरेको छ। ब्रिक्स समूहका नेताहरूले सदस्य मुलुकहरूमा थातिमा रहेका महत्त्वपूर्ण पूर्वाधार लगानीहरूको समाधानका लागि केन्द्रित प्रयासहरूको महत्त्वमाथि जोड दिनुभएको छ।  न्यु डेभलपमेन्ट बैँकहरू क्षेत्रीय कार्यालयहरूको स्थापनाका साथै मजबुत हुनेछ। न्यु डेभलपमेन्ट बैँकले सदस्य मुलुकहरूका घरेलु मुद्राहरूमा संसाधनहरू जगेडा गर्ने वचनबद्धताको ब्रिक्सले स्वागत गरेको छ जसको सुरुआत चीनबाट, साथै दक्षिण अफ्रिका र रसियामा सुरु हुन गइरहेको धितोपत्र कार्यक्रमहरूबाट हुनेछ।

ब्रिक्स नेताहरूले ब्रिक्स मुलुकहरूविरुद्ध लगायत आतङ्की हमलाहरूको कडा भर्त्सना गर्नुभयो चाहे त्यो कुनैपनि स्वरूप र आकृतिको, जहाँकहिँ पनि र जसद्वारा पनि गरिएको किन नहोस्। उहाँहरूले एक दृढ अन्तर्राष्ट्रिय कानुनी आधारमा राष्ट्रसंघको तत्त्वाधानअन्तर्गत आतङ्कवादविरुद्ध केन्द्रित प्रयास र बृहत दृष्टिकोणका लागि आह्वान गर्नुभएको छ। आतङ्की सञ्जालहरूलाई वित्त पोषण र उनीहरूका भूमिबाट आतङ्की गतिविधिहरूलाई रोक्नु सबै मुलुकहरूको दायित्व हो भन्ने कुरामा उहाँहरूले जोड दिनुभयो।

ब्रिक्सले बढी स्वच्छ, बढी लचिलो ऊर्जा दक्ष प्रणालीहरूमा रूपान्तरणका लागि सहयोगको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दछ जसमा ग्रीनहाउस ग्यास उत्सर्जनलाई घटाउँदै विकास होस् अनि ऊर्जा सुरक्षा, ऊर्जासम्म पहुँच, सततता र सुलभता सुनिश्चित गर्न सकियोस्। ब्रिक्सका सबै सदस्यहरू यु.एन.एफ.सि.सि.सि.-का सिद्धान्तहरूअन्तर्गत अङ्गालिएको पेरिस सम्झौताको पूर्ण कार्यान्वयनप्रति वचनबद्ध छन्  जसमा विभिन्न राष्ट्रिय परिस्थितिहरूको सन्दर्भमा साझा तर विभिन्न उत्तरदायित्वहरू र क्षमताहरूका सिद्धान्तहरू सामेल छन्। ब्रिक्सअनुसार यसले यो वर्ष सेप्टेम्बर महिनामा हुने राष्ट्रसंघीय जलवायु कार्य शिखर सम्मेलनले सकारात्मक परिणामहरू दिनेछ भनी प्रतीक्षा गरिरहेको छ।

यो वर्षको वार्षिक ब्रिक्स शिखर सम्मेलन ब्राजिलले ब्रासिलियामा आयोजन गर्दैछ। सो शिखर बैठकको मूल विषय “एक नवोन्मेषी भविष्यका लागि आर्थिक विकास” राखिएको छ। यो समूहले विकासका लागि प्रमुख उत्प्रेरक शक्ति नवोन्मेष हो भन्ने कुरालाई स्वीकार गर्दछ। नेताहरूले डिजिटलाइजेशन र उदीयमान प्रौद्योगिकीहरूको अधिकतम फाइदा उठाउनका लागि उनीहरूको वचनबद्धतालाई दोहोऱ्याउनुभएको छ। ब्रिक्सले इन्टरनेट निर्देशित गरिबी उन्मूलन र औद्योगिक क्षेत्रको डिजिटल रूपान्तरणमा राम्रा प्रचलनहरूलाई साझा गर्ने संयुक्त प्रयासलाई पनि प्रोत्साहित गर्दछ। नेताहरूले सदस्य मुलुकहरूमाझ ब्रिक्स पार्टनरशिप अन न्यु इन्डस्ट्रियल रेभोल्युशन (PartNIR), आइब्रिक्स (iBRICS) नेटवर्क, ब्रिक्स इन्स्टिट्युट अफ फ्युचर नेटवर्क्स, र यङ्ग साइन्टिस्ट्स फोरमलगायत वैज्ञानिक, प्राविधिक, नवोन्मेष र उद्यमिता सहयोगको महत्त्वमाथि पनि जोड दिनुभयो।

आलेख: पदम सिंह, समाचार विश्लेषक

अनुवादः विष्णुबहादुर गुरुङ्ग