भारतको दोस्रो चन्द्र अभियान

भारतको अन्तरिक्ष कार्यक्रमको सबभन्दा जटिल तथा महत्त्वाकांक्षी अभियान सोमवार दिउँसोदेखि आरम्भ भयो। सोमवार दिउँसो २ बजेर ४५ मिनटमा देशको सर्वाधिक शक्तिशाली रकेट जी.एस.एल.भी. एमके-III ले, भारतको चन्द्रमाको दोस्रो मिशन, चन्द्रयान-२ लाई लिएर आन्ध्रप्रदेश स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आफ्नो उडान आरम्भ गऱ्यो। उडान सुरु गरेको १७ मिनटपछि चन्द्रयान-२लाई पृथ्वी वरिपरिको पूर्वनिर्धारित ट्रान्सफर अरबिट अर्थात स्थानन्तरण कक्षामा स्थापित गराइयो।

वास्तवमा यो उडान जुलाई १५ तारिखदेखि सुरु हुनु थियो तर एक तकनिकी व्यवधानले गर्दा यसलाई रद्द गर्नु परेको थियो। यति छोटो अवधिमा समस्याको समाधान गरी रकेटलाई फेरि प्रक्षेपित गर्न सफल भएकोमा भारतका अन्तरिक्ष वैज्ञानिकहरू प्रशंसाका योग्य छन्।

यहाँ यो उल्लेख गर्नु आवश्यक छ कि एक बाधाहीन प्रक्षेपण यो अभियानको पहिलो खुड्किलो मात्र हो, जसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संगठन, इसरोले सारेको अहिलेसम्म कै सबैभन्दा जटिल पाइलो हो। चन्द्रयान-२ लाई चन्द्रमा पुगेर अवतरण गर्नु ४८ दिन लाग्नेछ, जुन अवतरण सेप्टेम्बर ७ तारिख हुन निर्धारित छ।

भारतको पहिलो चन्द्रमा अभियान, चन्द्रयान-१ जो एक अरबिटल मिशन थियो, त्यसको तुलनामा यो दोस्रो मिशन धेरै जटिल रहेको छ। यसमा अरबिटर, ल्यान्डर र रोभर गरी जम्मा तीन अङ्ग छन् जसले एकसाथ मिलेर सतह र सतहदेखि माथिबाट चन्द्रमाको अध्ययन गर्ने छन्। चन्द्रयान-२को ल्यान्डरको नाउँ भारतीय वैज्ञानिक विक्रम साराभाईको सम्मानमा विक्रमिन राखिएको छ जसलाई “भारतीय अन्तरिक्ष कार्यक्रमको प्रणेता” मानिन्छ। रोभरको नाउँ प्रज्ञान राखिएको छ, जसको अर्थ संस्कृतमा “ज्ञान” हो। अरबिटरले १०० किलोमीटरको उचाइबाट चन्द्रमाको मानचित्रण गर्नेछ भने ल्याडरले सफ्ट ल्यान्डिङ्ग गर्नेछ अनि रोभरलाई चन्द्रमाको सतहको अन्वेषण गर्न पठाउनेछ।

वास्तवमा एउटा सम्झौताअन्तर्गत, यो ल्यान्डर रसियाले उपलब्ध गराउनु थियो, तर रसिया पछि सरेपछि इसरोले नै यसको डिजाइन र निर्माण गर्नु परेको थियो। तसर्थ, चन्द्रयान-२ पूर्ण रूपले एक भारतीय मिशन हो।

चन्द्रयान-२ ले १३ वटा भारतीय पेलोड बोकेको छ जुनमध्ये ८ अरबिटरमा, ३ ल्यान्डरमा तथा २ रोभरमा राखिएको छ। ल्यान्डरले नासाको एउटा लेजर रेट्रो-रिफ्लेक्टर पनि बोकेको छ। यस मिशनको मुख्य उद्देश्य चन्द्रमाको सतहमा सफ्ट ल्यान्ड गर्ने क्षमताको प्रदर्शन गर्नु र सतहमा एउटा रोबोटिक रोभरलाई सञ्चालन गर्नु हो।

चन्द्रयान-२ का लागि चुनिएको अवतरण स्थल दक्षिणी ध्रुवबाट लगभग ६०० किलोमीटर टाढामा अवस्थित छ जुन स्थल दुइवटा क्रेटर अर्थात दुई विशाल खाडलहरूको बिचमा रहेको उच्च समतल जमीन हो, जो चन्द्रमाको भूमध्यरेखाबाट सर्वाधिक दूरीमा छ जहाँ अहिलेसम्म कुनै पनि चन्द्रमा अभियान पुगेको छैन। यो अति नै महत्त्वपूर्ण हो। वैज्ञानिकहरूका लागि चन्द्रमाको ध्रुवीय क्षेत्र रोचक विषय हो किनभने त्यहाँ स्थायी रूपमा छोपिएका विशाल खाडलहरूको फेदीमा धेरै मात्रामा बरफ रहेको छ।

सोमवार प्रक्षेपणपछि चन्द्रयान-२लाई पृथ्वीको अत्याधिक विशाल अण्डाकार कक्षामा स्थापित गरिएको छ जहाँबाट यसलाई कक्षाको आकार बढाउदै लैजाने कैयौँ प्रक्रियामार्फत बिस्तारैसित चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रसम्म पुऱ्याइनेछ, त्यसपछि चन्द्रमादेखि १०० किलोमीटरको उचाइमा गोलाकार ध्रुवीय कक्षामा स्थापित गरिनेछ। कैयौँ प्रक्रिया पूरा गर्दै ल्यान्डर-रोभर जोडीलाई चन्द्रमाको सतहमा छोड्नु अघि यस अन्तरिक्षयानले चन्द्रमाको कक्षामा २७ दिनसम्म बिताउनेछ, त्यसपछि बिस्तारैसँग अझ तल झरेर यसले चन्द्रमाको सतहदेखि ३० किलोमीटरको उचाइमा चक्कर लगाउनेछ।

सेप्टेम्बर महिनाको पहिलो सातामा, ल्यान्डर अझ तल झर्नेछ अनि रेट्रोरकेटहरूको मदतमा लगभग १५ मिनटको अवधिमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ्ग गर्नेछ, जुन अवधिलाई इसरोका चेयरम्यान के. सिवानले मिशनको “सर्वाधिक भयावह क्षण” भनी वर्णन गर्नुभएको छ।

सबै कुरा ठीकठाक रहेको खण्डमा भारत अमेरिका, रसिया र चीन पश्चात् चन्द्रमाको सतहमा अन्तरिक्षयान अवतरित गर्न सफल हुने चौथो मुलुक बन्नेछ।

अवतरित भएपछि रोभर ल्यान्डरबाट बाहिर निस्किनेछ अनि चन्द्रमाको सतहमा चन्द्रमाको १ दिनसम्म परीक्षण गर्नेछ जो पृथ्वीको १४ दिन बराबर हो। अरबिटरले आफ्नो मिशन एक वर्षसम्म जारी राख्नेछ।

प्रसंगवश, इसरोले अन्तरिक्षयान चन्द्रमाको सतहमा अवतरण हुने सफलता दर ५० प्रतिशतभन्दा कम्ती रहेको कुरा औँल्याएको छ, तर इसरोको ट्र्याक रेकर्ड हेर्दा, खासगरी २००८को चन्द्रयान-१ मिशन र २०१३को मङ्गल अरबिटर मिशनलाई मध्यनजर राख्दा, चन्द्रयान-२ को सफलता, शिरपेचमा अर्को प्वाँख थपिएको झैँ हुनेछ।

आलेख: बिमान बासु, वरिष्ठ विज्ञान लेखक

अनुवादः प्रणय सुब्बा