उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले फेरि तनाव बढायो

कोरियाली प्रायःद्वीपमा दिगो शान्तिका सम्भावनाहरूलाई एक अर्को झट्का दिँदै उत्तर कोरियाले विगत साता दुइटा ब्यालेस्टिक मिसाइलहरूको परीक्षण गऱ्यो। उत्तर कोरियाली नेता अध्यक्ष किम जोङ्ग-उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प दुई कोरियाबिचको डिमिलिटराइज्ड जोन (डि.एम.जेड) अर्थात् असैन्यकृत क्षेत्रमा भेट्नुभएको एक महिनाभित्रैमा यी परीक्षण गरिएका हुन्। सो बैठकमा दुई नेताहरूले छिनोफानो नभएका मामिलाहरूको विस्तृत समाधानको दिशामा काम गर्ने बाचा मार्नुभएको थियो।

उत्तर कोरियाली र दक्षिण कोरियाली दुवैका एजेन्सीहरूले यी क्षेप्यास्त्रहरू भिन्न रणनीतिक प्रकृतिका थिए भनी पुष्टि गरेका छन् जसबाट के सङ्केत पाइन्छ भने यी बढी सचल, ल्याउन-लैजान सजिलो र लुकाउन सजिलो छन्, र सबभन्दा महत्त्वपूर्ण कुरा यिनको पत्तो लगाउन गाह्रो छ। स्पष्टतः, यसका सुरक्षा परिणामहरू अमेरिकामाथि भन्दा कोरियाली प्रायःद्वीपमा सोझै पर्दछन्।

क्षेप्यास्त्रहरू छोडिएपछि जारी एक विज्ञप्तीमा किम जोङ्ग-उनले भनेअनुसार क्षेप्यास्त्र प्रक्षेपणको उद्देश्य उत्तर कोरियाको सुरक्षामाथि कुनैपनि सोझो र सम्भाव्य सुरक्षा खतरालाई नियन्त्रित गर्नु थियो। उहाँले दक्षिण कोरियालाई उक्साउने बताउँदै यसका लागि दक्षिण कोरियालाई नै जिम्मेबार ठहर गर्नुभयो। दक्षिण कोरियाले आगामी महिना अमेरिकासित आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास गर्न गइरहेको छ। दक्षिण कोरिया र अमेरिका दुवै कैयौँ वर्षदेखि हुँदै आएको आफ्ना संयुक्त सैन्य अभ्यास गर्ने कुरामा दृढ छन्। चाखलाग्दो कुरा के छ भने किम जुङ्ग-उनले अमेरिका वा राष्ट्रपति ट्रम्पको कुनै उल्लेख गर्नुभएन, जसको अर्थ के हुन्छ भने उत्तर कोरियाली सत्ताले अमेरिकासित मतभेदहरूलाई बढाउन चाहँदैन तर साथै, उसले आफ्नो परमाणु क्षेप्यास्त्र कार्यक्रमलाई त्याग्न चाहँदैन।

उत्तर कोरियाको परमाणु क्षमताहरू निर्माणका लागि दीर्घकालिक उत्प्रेरक ‘सत्ताको अस्तित्व’ हो भने हालैका परिक्षणहरूको कारण आगामी अमेरिका-दक्षिण कोरिया वार्षिक संयुक्त सैन्य अभ्यास हो। यसका अतिरिक्त, दक्षिण कोरियाद्वारा ४० एफ-३५ ए जासुसी जेटहरूको खरिदले पनि उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षणका लागि उक्साएको जस्तो देखिन्छ।

दक्षिण कोरियाली राष्ट्रपति मून-जे-इन-ले उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र प्रौद्योगिकीको विकास र परीक्षण गर्नबाट प्योङ्गयाङ्गलाई प्रतिबन्धित गर्ने राष्ट्रसंघका प्रस्तावहरूको उल्लङ्घन गरिएको आरोप लगाउँदै यी परीक्षणहरूको भर्त्सना गर्नुभएको छ। प्योङ्गयाङ्गको कार्यको निन्दा गर्दै सोलले यसको दक्षिण कोरियाको सुरक्षामाथि गम्भीर प्रभाव नपर्ने बताएको छ।

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणमाथि जहाँसम्म अमेरिकाको प्रतिक्रियाको प्रश्न छ, त्यो नरम किसिमको रहेको छ। अमेरिकाको सरकारका विज्ञप्तिहरूलाई ध्यानपूर्वक हेर्ने हो भने छोटो दूरीका क्षेप्यास्त्र परीक्षणहरूप्रति अमेरिकाको प्रतिक्रिया सामान्य रहिआएको छ, र लामो दूरीका क्षेप्यास्त्र परीक्षण वा परमाणु परीक्षणहरू गरिँदा उत्तर कोरियाली सत्ताविरुद्ध कडा प्रतिक्रिया जनाउने गर्दछ। यसबाट के सङ्केत पाइन्छ भने अमेरिकाले उत्तर कोरियाका यी गतिविधिहरूलाई उसको घरायसी सुरक्षासित जोडेर हेर्दछ।

विगत मई महिनामा गरिएका परीक्षणहरूप्रति पनि अमेरिका र दक्षिण कोरियाका प्रतिक्रियाहरू नरम किसिमका थिए। अमेरिकाले यी क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाको वार्तालापको रणनीतिको रूपमा हेर्छ भने यस्ता गतिविधि निर्बाध चलिरह्यो भने यिनले कोरियाली प्रायःद्वीपको सुरक्षा, शान्ति र स्थिरतालाई खतरा पुग्न सक्दछ।

फेब्रुअरी २०१९-मा हनोइमा ट्रम्प र किमबीच वार्ता विफल भएपनि दुइ नेताहरूले  गत जून महिनामा भेटवार्ता गर्नुभयो। तथापि, कुराकानीमा कुनै सफलता हासिल भएन। हनोइ शिखर सम्मेलन भएपछि देखिनै उत्तर कोरिया र अमेरिकाबीच कार्य-स्तरको कुराकानी स्थगित भएको छ। आलोचकहरूले के तर्क दिएका छन् भने ट्रम्पको उत्तर कोरियासम्बन्धी “स्टाइल-ओभर-सब्सट्यान्स” अर्थात् “विषयवस्तुभन्दा शैलीको” दृष्टिकोण कुनै पनि ठोस परिणाम दिनमा विफल भएको छ र उत्तर कोरिया आफ्ना सैन्य क्षमताहरू निर्माण गर्नमा अझ पनि सक्रिय छ। उत्तर कोरियाको चीनका साथ निकटता ध्यान दिनुपर्ने एउटा अर्को महत्त्वपूर्ण कुरा रहेको छ।

बेजिङ्गको अनुपस्थितिले शान्ति प्रक्रियामाथि स्थायी प्रभाव पार्नेछैन। समस्याको एक व्यावहारिक समाधानका लागि ६ पक्षीय वार्तालाई पुनर्जीवित गर्न सकिनेछ। तथापि, यस्तो समयमा चीन र अमेरिकाको द्विपक्षीय मतभेदले उत्तर कोरियालाई उसको परमाणु क्षमता निर्माण गर्नमाथि रोक लगाउने कुनै पनि ठोस प्रयासलाई रोक्नेछ। यस्तो स्थितिमा अमेरिकाले उत्तर कोरियालाई अल्झाएर राख्नु र उसलाई परीक्षण गर्नबाट रोक्नु जरूरी छ।

भारत एक स्थिर, सुरक्षित र तनावमुक्त कोरियाली प्रायःद्वीपको कामना गर्दछ। यसलाई हासिल गर्ने दिशामा  सबै सरोकारवालाहरूले कार्य गर्नु जरूरी छ।

आलेख:डॅ. राहुल मिश्रा, पूर्व एवम् दक्षिण-पूर्व एसियाका सामरिक विश्लेषक 

अनुवाद:प्रणय सुब्बा

वाचनः विष्णु बहादुर गुरुङ्ग