भारतले मोजाम्बिकसित सम्बन्ध प्रगाढ बनायो

भारतका रक्षा मन्त्री श्री राजनाथ सिंहको हालैमा सम्पन्न अफ्रिकी राष्ट्रहरूको तीन दिवसीय भ्रमणको दौरान भारतको प्रशस्त आर्थिक लगानी रहेको देश मोजाम्बिकसित सामरिक सम्बन्ध तथा द्विपक्षीय सहयोग मजबुत पार्न दुई मुलुकहरूले जलक्षेत्रमा ‘ह्वाइट शिपिङ्ग’ अर्थात् गैर-सैन्य वाणिज्यिक जहाजहरूको पहिचान र परिचालनसम्बन्धी अग्रिम सूचना तथा सहयोग साझा गर्नका लागि दुइवटा महत्त्वपूर्ण समझदारी ज्ञापनहरूमा हस्ताक्षर गरेर एक असल पाइलो सारेका छन्।

मोजाम्बिकमा उहाँका समकक्षी श्री  एन्टनासियो एम्टुमुके-सितको एउटा बैठकमा श्री सिंहले भन्नुभयो, भारतले मोजाम्बिकलाई अफ्रिकामा उसको सबभन्दा महत्त्वपूर्ण मित्र तथा साझेदार मान्दछ। आँकडाअनुसार त्यस मुलुकमा भारतको लगानी ७ अरब डलर पुगेको छ, जुन लगानी विशेषगरी ऊर्जा र कोइलामा रहेको छ जो अफ्रिकामा भारतीय लगानीको करीब २५ प्रतिशत हो। सन् २०१७ मा भारत मोजाम्बिकका सर-सामग्रीहरूको सर्वाधिक ठूलो गन्तव्य बनेको थियो र त्यो साल उसले भारतबाट आर्जन गरेको राजस्व कुल राजस्वको ३५ प्रतिशत थियो।

रक्षा मन्त्रीको रूपमा आफ्नो प्रथम विदेश यात्राको बेला, जुन यात्रा मोजाम्बिकमा कुनै एक भारतीय रक्षा मन्त्रीको पहिलो द्विपक्षीय यात्रा पनि हो, श्री सिंहले भन्नुभयो, यो यात्राले द्विपक्षीय सम्बन्धलाई अझ गति प्रदान गर्ने तथा वर्तमानमा भारत र मोजाम्बिकबिच जारी रक्षा सहयोगलाई अनि हिन्द महासागर क्षेत्रमा सुरक्षा बढाउनका लागि सहकारितालाई  मजबुत बनाउने छ।

मन्त्री महोदयले सहायतास्वरुप सञ्चार उपकरण प्रदान गर्ने घोषणा पनि गर्नुभयो अनि तस्करी, आतङ्कवाद, जलदश्यु, अवैध शिकार जस्ता अपारम्परिक खतराहरू रोक्न तथा समुद्री क्षेत्रमा समग्र सहयोगका निम्ति एकसाथ मिलेर काम गर्नुपर्ने आवश्यकतालाई रेखाङ्कित गर्नुभयो।

वास्तवमा, मापुतोमा आयोजित एउटा समारोहमा भारत-निर्मित दुई फास्ट इन्टरसेप्टर नौका तथा ४४ वटा एसयूभी गाडी मोजाम्बिकलाई सुम्पिइयो। भारतीय तट रक्षकहरूको एक ४-सदस्यीय टोलीले यी नौकाहरूको रखरखाउ र सञ्चालनसम्बन्धी प्रशिक्षण पनि दिइराखेको छ।

यसअघि, मोजाम्बिकका रक्षा मन्त्रीले श्री सिंहलाई आन्तरिक सुरक्षा स्थिति र हाल जारी निरस्त्रीकरण, सैन्य-बिघटन तथा पुनर्एकीकरणको प्रक्रियाबारे संक्षिप्त जानकारी गराउनुभएको थियो। मोजाम्बिकका नेताहरूसित गरिएका बैठकहरूमा श्री सिंहले द्विपक्षीय सम्बन्धका समग्र क्षेत्रमाथि छलफल गर्नुभयो अनि सरकार-सरकार बिच उत्कृष्ट सम्बन्ध, मजबुत व्यापार आदानप्रदान, गतिशील विकास साझेदारी, तथा दुई देशहरूबिच दीर्घ कालदेखि जन-जन बिच सम्बन्ध रहेको उल्लेख गर्नुभयो।

उहाँले मापुतोमा मोजाम्बिकका प्रधान मन्त्री श्री कारलोस अगोसटिन्हो डो रोजरियोलाई पनि भेट्नुभयो अनि दुई राष्ट्रहरूबिच रक्षा सहयोग तीव्र पार्ने तरिकाहरूबारे छलफल गर्नुभयो। यस अफ्रिकी मुलुकले आतङ्कवाद र अतिवादको बढ्दो खतरासित निप्टिन भारतबाट सहयोग चाहेको छ। दुई पक्षले हिन्द महासागर क्षेत्रमा सुरक्षा बढाउनका लागि सहकारिताका मार्गहरू खोज्न छलफल पनि गरे।

लगानी बाहेक, हालका वर्षहरूमा यी दुई देशबिच द्विपक्षीय व्यापार पनि द्रूत गतिले बढिराखेको छ। २०१०-२०१५ को अन्तरालमा दुई देशबिच व्यापार मूल्य पाँच गुना बढेर २.४ अरब डलर पुगेको थियो। भारतबाट मोजाम्बिकमा निर्यात गरिने सर्वाधिक महत्त्वपूर्ण वस्तुहरू परिष्कृत पेट्रोलियम उत्पादन र औषधीहरू हुन् भने कोइला र काजू मोजाम्बिकबाट भारतमा आयात गरिने प्रमुख सामग्रीहरू हुन्। त्यहाँ लगभग २० हजार यस्ता मोजाम्बिक नागरिकहरू छन् जसका पुर्खा भारतीय थिए।

भारतीय रक्षा मन्त्रालयले बताएनुसार भारतले मोजाम्बिकसित घनिष्ठ, न्यानो र मैत्रीपूर्ण सम्बन्ध साझा गर्दछ जसलाई मजबुत विकास साझेदारी र धेरै संख्यामा भारतीय मूलका मानिसहरूको उपस्थितिले झनै प्रगाढ बनाउँदछ। मन्त्री महोदयको यात्राले मोजाम्बिकसितका सम्बन्धहरूलाई अझ मजबुत पार्ने अपेक्षा छ।

स्मरणीय छ, जुलाई २०१६ मा प्रधान मन्त्री नरेन्द्र मोदीको अफ्रिकी राष्ट्रहरूको यात्रा पश्चात् दुई देशहरूबिचका द्विपक्षीय सम्बन्धहरू प्रगतिको मार्गमा रहेका छन्। वास्तवमा, मोजाम्बिकले मात्र होइन तर भारतले पनि, २०१४-मा श्री मोदीले पहिलोचोटी प्रधान मन्त्रीको पदभार ग्रहण गर्नुभएको देखिकै अफ्रिकामा आफ्नो पहुँच बढाउने दिशामा पाइला सारिराखेको छ।

संसाधन-समृद्ध अफ्रिकामा उच्च-स्तरीय यात्रामा वृद्धि भएको छ, विशेषगरी २०१५ मा सम्पन्न भएको तेस्रो भारत-अफ्रिका शिखर सम्मेलन पश्चात्। त्यस बेलादेखिको अहिलेसम्म राष्ट्रपति, उप-राष्ट्रपति तथा प्रधान मन्त्री स्तरमा समेत अन्य वरिष्ठ मन्त्रीहरूको स्तरमा भारतको पक्षबाट अफ्रिकामा २९ भ्रमणहरू भएका छन्। वर्तमानमा पनि, राष्ट्रपति रामनाथ कोविन्द तीन पश्चिम अफ्रीकी राष्ट्रहरूको भ्रमणमा हुनुहुन्छ।

आलेख: विनीत वाही, पत्रकार

अनुवाद: प्रणय सुब्बा

वाचक: विष्णुबहादुर गुरुङ