राष्ट्रपति राम नाथ कोविन्दको यात्राबाट पश्चिम अफ्रिकी मुलुकहरूसित भारतका सम्बन्धहरूमा प्रगाढता

भारतका राष्ट्रपति राम नाथ कोविन्द फ्रान्सेली भाषा बोल्ने तीन अफ्रिकी मुलुक बेनिन, गाम्बिया र गिनीको सात दिने यात्रामा जानुभएको थियो। गन्तव्यहरूको यस चयनबाट अफ्रिका र विशेषगरी फ्रान्सेली भाषा बोल्ने पश्चिम अफ्रिकासितका सम्बन्धहरूको अभिवृद्धिलाई भारतद्वारा दिइएको उच्च प्राथमिकता प्रदर्शित हुने हुँदा यो महत्त्वपूर्ण हुन गएको छ।

यी मुलुकहरूको कुनै पनि भारतीय राष्ट्रपतिद्वारा गरिएको सबैभन्दा पहिलो यात्रा भएकाले पनि राष्ट्रपति कोविन्दको तीन देशहरूको यो भ्रमण ऐतिहासिक रहेको छ। यहाँ कुन कुरा उल्लेखनीय छ भने , पारम्परिक रूपले फ्रान्सेली भाषी पश्चिम अफ्रिकासित भारतका सम्बन्धहरू, भाषाजन्य असुविधाहरू, सम्पर्कतामा कमी र दूरीले गर्दा अङ्ग्रेजी भाषी अफ्रिकी मुलुकहरूसित जत्ति सुदृढ रहने गरेका छैनन्। सम्बन्धहरू बढाउनको लागि गरिएका नीतिगत अग्रसरताहरूका बावजुत सम्बन्धहरूको आकार र संभावना, क्षमताभन्दा कम्तीनै रहेको छ। उच्चस्तरीय यात्राहरू फ्रान्सेली भाषी पश्चिम अफ्रिका क्षेत्रसित भारतका सम्बन्धहरूलाई हैंसे प्रदान गर्ने प्रयासहरूकै हिस्सा हुन्। क्षेत्रमा आफ्नो कुटनैयिक उपस्थिति बढाउने क्रममा भारतले भर्खरै अफ्रिकामा १८ दूतावासहरू खोल्ने घोषणा गऱ्यो जसमध्ये धेरै जसो फ्रान्सेली बोल्ने पश्चिम अफ्रिकामा रहेका छन्। यी यात्राहरूलाई सम्बन्धहरू सुदृढ पार्ने तथा पहुँच बढाउने भारतको पूर्व सक्रियतापूर्ण दृष्टिकोणको व्यापक सन्दर्भबाट हेरिनु पर्छ।

आफ्नो भ्रमण दौरान राष्ट्रपति कोविन्दले ती मुलुकहरूका नेताहरूसित शीष्टमण्डल स्तरीय वार्तालाप गर्नका साथै बेनिन तथा गाम्बियाका राष्ट्रिय संसदहरूलाई सम्बोधन गर्नुभयो अनि तीन मुलुकहरूमा रहेको भारतीय समुदायसित अन्तर्क्रिया गर्नुभयो।

विचार-विमर्षहरूको मुख्य बल व्यापार र निवेश, सौर ऊर्जा, कृषि, डिजिटल प्रविधि, क्षमता निर्माण, समुद्री सुरक्षा र प्रतिरक्षा सरहका महत्त्वपूर्ण क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धहरूलाई मजबुत पार्ने साथै अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विषयहरूबारे चर्चा गर्न माथिनै रहेको थियो।

बेनिनमा दुवै पक्षहरू निर्यात सामग्रीहरू बढाउन र पारस्परीक निवेशलाई समर्थन गर्न सहमत भए। राष्ट्रपति कोविन्दले ई-भिसा सुविधामा विस्तारको घोषणा गर्नुभयो र यसबाट व्यवसायीक सम्बन्धहरूमा सुधार हुने बताउनुभयो। गाम्बियामा राष्ट्रपति कोविन्दले भारतीय उद्यम एवम् निवेशलाई गाम्बियाको निरन्तर समर्थनको सम्बन्धमा भारतका अपेक्षाहरूमाथि प्रकाश पार्नुभयो। गिनीमा श्री कोविन्दले सो मुलुकमा विशेषगरी खानी, पूर्वाधार, स्वास्थ्य र औषधी क्षेत्रहरूमा निवेश गर्ने क्रममा भारतीय कम्पनीहरूको चाहना टड्कारो पार्नुभयो।

एकार्का देशका प्रथमिकताहरू अनुरूप विकास साझेदारी बढाउन भारतका राष्ट्रपतिले कैयौँ घोषणाहरू गर्नुभयो। उहाँले बेनिनको लागि अङ्ग्रेजीमा एउटा विशेष आई.ई.टी.सी पाठ्यक्रम र सो मुलुकका विदेशी कुटनैयीकहरूको लागि एउटा विशेष पेशाजन्य पाठ्यक्रम निम्ति १० करोड डलरको लाइन अफ क्रेडिट अर्थात् स्थायी ऋण सुविधाको अनि गाम्बियाको कौशल विकास र घरेलु उद्योग परियोजनाहरूको लागि ५ लाख डलरको सहायताको घोषणा गर्नुभयो। उहाँले गाम्बियाको अनुरोध अनुरूप, न्यायपालिका, प्रहरी प्रशासन र प्राविधिक विशेज्ञताको क्षेत्रमा प्रशिक्षण प्रदान गर्ने प्रस्ताव तथा गिनीलाई कोनाक्री पानी आपूर्ती परियोजनाको लागि १७ करोड डलरको नयाँ लाइन अफ क्रेडिट प्रदान गर्ने घोषणा पनि गर्नुभयो। राष्ट्रपति कोविन्दले जलवायु परिवर्तनसित जुझ्न सौर ऊर्जा क्षेत्रमा सहयोगमाथि बल दिनका साथै अन्तर्राष्ट्रिय सौर ऊर्जा गठबन्धमा हित-निहित मुलुकहरूको रूपमा भारतसित हातेमालो गरेको निम्ति बेनिन, गाम्बिया र गिनीका नेतृत्वको प्रशंसा गर्नुभयो।

भारतले रक्षा र निरापदताको क्षेत्रमा सहयोगमाथि पनि बल दिएको छ। गिनीको खाडीमा समुद्री डकैतीमा भइरहेको वृद्धिलाई मध्येनजर गर्दै भारतले बेनिनलाई उसको समुद्री डकैती प्रतिकार क्षमता बढाउनको लागि प्रशिक्षण सुविधा प्रदान गर्ने प्रस्ताव गरेको छ। दुवै पक्षहरूले उनीहरूको संयुक्त वक्तव्यमा आतङ्कवादको वृद्धिमाथि चिन्ता व्यक्त गरे अनि अन्तर्राष्ट्रिय आतङ्कवादमाथिको समग्र सम्झौता अविलम्ब ग्रहण गर्नु पर्ने आवश्यकता रहेको बताए।

तीन मुलुकहरूको यस यात्रा अवधिमा साझेदारी बढाउने क्रममा विभिन्न सहमति पत्रहरूमा हस्ताक्षर पनि गरियो। बेनिनमा दुवै मुलुकहरूले सांस्कृतिक आदान-प्रदान, निर्यात ऋण र लगानी बिमामा सहयोग, इ-विद्या भारती र इ-आरोग्य भारती (इ-भी बी ए बी) सञ्जाल परियोजना र भारतीय कुटनैयीक एवम् आधिकारीक राहदानी धारकहरूको लागि भिसा आवश्यकतामा छुट प्रदान गर्ने लगायतका विषयहरूसित सम्बन्धित ४ सहमति पत्रहरूमा हस्ताक्षर गरे। गाम्बियामा दुवै पक्षहरूले पारम्परीक औषधी प्रणाली र होमियोप्याथीको क्षेत्रमा सहयोगमाथि सहमति पत्रहरूको आदान-प्रदान गरे। गिनीमा पनि पारम्परिक औषधी र होमियोप्याथी, इ-भी बी ए बी सञ्जाल परियोजना र नवीकरणीय ऊर्जा क्षेत्रहरूमाथि सहमति पत्रहरूमा हस्ताक्षर गरियो।

समग्रतामा  हेर्दा राष्ट्रपति कोविन्दको तीन मुलुकहरूको भ्रमण क्षेत्रसित द्विपक्षीय सम्बन्धहरू बढाउने क्रममा अत्यन्तै सफल रहेको देखिन्छ।

आलेख:  अफ्रिका मामिलामाथि सामरिक विश्लेषक, डॅ. निवेदिता रे

अनुवादक तथा वाचकः महेन्द्र नाथ उपाध्याय