भारत-आसियान सम्बन्धः बलियो साझेदारी निर्माण

भारतको पूर्वोन्मुखी कार्यनीति र आफ्नो भारत-प्रशान्त दृष्टिकोणलाई अगाडि बढाउँदै भारतका परराष्ट्र मामिला मन्त्री डॅ. एस. जयशङ्कर आसियान-भारत मन्त्रीस्तरीय बैठक, ९औँ इस्ट एसिया समिट फोरेन मिनिस्टर्स मिटिङ्ग (इ.ए.एस.एफ.एम.एम.) अर्थात् ९औँ पूर्व एसिया शिखर सम्मेलन विदेश मन्त्रीहरूको बैठक, २६औँ आसियान रिजिनल फोरम (ए.आर.एफ.) अर्थात् आसियान क्षेत्रीय मञ्च तथा १०औँ मेकोङ्ग गङ्गा कोअपरेशन मिनिस्टिरियल मिटिङ्ग (एम.जि.सि.एम.एम.) अर्थात् १०औँ मेकोङ्ग गङ्गा सहयोग मन्त्रीस्तरीय बैठकमा भाग लिनका लागि बैँकक जानुभएको थियो। आसियान-भारत मन्त्रीस्तरीय बैठकमा प्रधान मन्त्री नरेन्द्र मोदीको स्वतन्त्र, खुल्ला, समावेशी र नियमहरू आधारित हिन्द-प्रशान्त व्यवस्थासम्बन्धी परिकल्पनालाई दोहोऱ्याउँदै परराष्ट्र मामिला मन्त्रीले आसियानको हालै अभिव्यक्त ‘भारत-प्रशान्तसम्बन्धी दृष्टिकोण’-को स्वागत गर्नुभयो र साझा सिद्धान्तहरू तथा दृष्टिकोणको सम्मिलनलाई रेखाङ्कित गर्नुभयो। मन्त्रीस्तरीय बैठकमा डॅ. जयशङ्करले समुद्री सहयोग, सम्पर्कता र सतत् विकास लक्ष्य्हरू हासिल गर्नुलाई प्राथमिकतामा राख्दै हिन्द-प्रशान्त क्षेत्रमा आसियान-भारत सामरिक साझेदारीलाई बढाउनुमाथि जोड दिनुभयो। साथै, परराष्ट्र मामिला मन्त्रीले आसियानलाई इन्डियन ओसन रिम एशोसिएशन (आइ.ओ.आर.ए.) अर्थात् हिन्द महासागर तटीय मुलुक सङ्गठन र बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टि-सेक्टोरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेशन (बिमस्टेक) अर्थात् बहु-क्षेत्रीय प्राविधिक एवम् आर्थिक सहयोगका लागि बङ्गालको खाडी पहलसमेत अन्य क्षेत्रीय ढाँचाहरूसित सहयोग बढाउन आसियानलाई आग्रह गर्नुभयो।

उहाँले एम.जि.सि. एम.एम.-को बैठकको सहअध्यक्षता समाजवादी गणराज्य भिएतनामका उप-प्रधान मन्त्री तथा विदेश मामिला मन्त्री श्री फाम बिन्ह् मिन्ह्-सँग मिलेर गर्नुभएको थियो। नयाँ एम.जि.सि. कार्य योजना २०१९-२०२२ अपनाइयो जसले पर्यटन एवम् संस्कृति, शिक्षा, सार्वजनिक स्वास्थ्य एवम् पारम्परिक औषधि कृषि एवम् सम्बद्ध क्षेत्रहरू, यातायात एवम् सञ्चार, एम.एस.एम.इ.हरूलगायत सात क्षेत्रहरूमा परियोजना-आधारित सहयोगलाई अगाडि बढाउनेछ। यसका साथै सहयोगका तीन नयाँ क्षेत्रहरू जस्तै जल संसाधन प्रबन्धन, विज्ञान एवम् प्रौद्योगिकी, कौशल विकास र क्षमता निर्माणलाई पनि यसले अगाडि बढाउनेछ। क्षेत्रप्रति भारतको वचनबद्धता प्रदर्शित गर्दै भारतले कम्बोडिया, लाओ पि.डि.आर., म्याँमार र भिएतनामलाई एम.जि.सि. क्विक इम्पेक्ट प्रोजेक्ट्स (क्यु.आइ.पि.) योजनामा सहायता विस्तारित गरेको छ। २०१४-मा यसको सुरुआतपछि २४ परियोजनाहरू पूरा भइसकेका छन्। क्यु.आइ.पि. हरू २०१९-मा कम्बोडिया, भिएतनाम र लाओ पि.डि.आर.-मा ९ लाख अमेरिकी डलरको लागतमा कार्यान्वित गरिनेछ। म्याँमारलाई क्यु.आइ.पि. योजनाअन्तर्गत परस्पर हितका परियोजनाहरूको पहिचान गर्न आग्रह गरिएको छ। भारतले विकास साझेदारको रूपमा अयेयारवदी-चाओ फ्रायामेकोङ्ग इकोनोमिक कोअपरेशन स्ट्रेटेजी (ए.सि.एम. इ.सि. एस.)-सँग सामेल भएको छ।

सम्पर्कता २०२५ अर्थात् एमप्याक २०२५ सम्बन्धी आसियान मास्टर प्लानका साथ एमजिसि-को तालमेलको आवश्यकता छ। भारत-म्याँमार-थाईल्याण्ड मोटर वाहन सम्झौताको प्रगतिलाई विशेषगरी तेजीका साथ अन्तिम रूप दिनेबारे छलफल भएको छ। भारत-म्याँमार-थाइल्याण्ड त्रिपक्षीय राजमार्गलाई कम्बोडिया, लाओ पिडिआर र भिएतनामसम्म सम्भावित विस्तार गरिनेबारे विचार-विमर्श गरिएको छ। आर्थिक विकास करिडोरको रूपमा राजमार्गको विकासको व्यावहारिकता सम्बन्धी विश्लेषण गर्न मार्च २०१९-मा एक अध्ययन सुरु गरिएको थियो।

आसियानमा सम्पर्क परियोजनाहरूका लागि भारतसित एक अर्ब डलरको सहुलियतप्राप्त ऋण  छ र ऋणको उपयोगका लागि  भारतले परियोजनाहरूको पहिचान गरिरहेको छ र रूपरेखाहरूमाथि चर्चा गरिरहेको छ।

गत नोभेम्बरमा पूर्व एसिया सम्मेलनमा ईएएस एफएमएम आयोजित गरिएको थियो। नेताहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलाहरूमाथि विचारहरू आदान प्रदान गरे साथै ईएएस-लाई वैश्विक राजनीतिक सुरक्षा र आर्थिक मामिलाहरू सम्बन्धी छलफलका लागि  क्षेत्रका ठूला नेताहरूको नेतृत्व भएको मञ्चको रूपमा अगाडि बढाउनेबारे छलफल गरे। ईएएस एफएमएम-मा मनिला कार्य योजना (२०१८-२०२२) र ईएएस विकास पहल सम्बन्धी नोम पेन्ह घोषणा पत्रमाथि छलफल भएको थियो। यस अतिरिक्त एआरएफ-को २६औँ बैठकमा क्षेत्रमा रणनीतिमूलक विश्वास निर्माण बनाउनेबारे ध्यान केन्द्रित गरिएको थियो। यस भन्दा पहिले मार्चमा आसियान रक्षा मन्त्रीहरूको  मिटिङ्ग प्लस मुलुकहरूका लागि भारत र म्याँमारले लखनऊमा सैन्य चिकित्सा सम्बन्धी एउटा फिल्ड प्रशिक्षण अभ्यासको आयोजना गरेका थिए।

दक्षिण-पूर्व एसिया भारतको पूर्वोन्मुखी कार्यनीतिको केन्द्रमा भएकोले भारतले आसियानमा सामरिक साझेदारीलाई नयाँ ऊँचाईसम्म लैजानका लागि निवेश गर्न जारी राख्नेछ। दक्षिण-पूर्व एसियाका साथ भारतको सामरिक सम्बद्धता वाणिज्य, सम्पर्क तथा संस्कृति अर्थात् कमर्स, कनेक्टिभिटी र कल्चर, सि सि सि-माथि आधारित छ। भारत र आसियानबीच लगभग ३० संवाद तन्त्रहरू छन् जसमा थुप्रै महत्त्वपूर्ण क्षेत्रहरू सामेल गरिएका छन्। दक्षिण-पूर्व एसिया एकातिर हिन्द महासागर क्षेत्रको एक महत्त्वपूर्ण प्रवेश र निकासद्वार हो र अर्कोतिर वैश्विक  अर्थव्यवस्थामा सबैभन्दा तीव्र गतिको विकासोन्मुख क्षेत्र पनि हो। भारतले एक सशक्त, एकीकृत र समृद्ध आसियान-को समर्थन गर्दछ जसले भारत-प्रशान्तको उदीयमान गतिशीलतामा एक मुख्य भूमिका खेलिरहेको छ।

आलेख:  पूर्व एवम् दक्षिण-पूर्व एसियासम्बन्धी सामरिक विश्लेषक डॅ. तितली बसु

अनुवाद एवम् वाचनः रञ्जना खवास