सशस्त्र सेनाको आधुनिकीकरण

भारतको निकट छिमेकमा विगत दशकमा सीमाना इलाकाहरूमा विदेशी मद्दतले भइरहेका निरन्तर आतङ्की गतिविधिहरूका साथ घटनाक्रमले भारतीय सशस्त्र सेनाका क्षमताहरूलाई बढाउनु पर्ने तत्काल आवश्यकतालाई तडकारो रूपमा दर्शाउँछ। यो कार्य त्यति सजिलो छैन किनभने भारतले आफ्ना जनताको सामाजिक-आर्थिक विकासको ध्यान राख्नु छ। तर, मुलुकको समग्र विकास पूर्ण सुरक्षाबिना हासिल गर्न सकिँदैन। यो पक्षलाई ध्यानमा राखेर, वर्तमान आर्थिक वर्षको बजेटमा रक्षा क्षेत्रलाई ४० खरब ३१ अरब रुपियाँको आवन्टन स्वागतनीय छ। तथापि, यो भारतको सकल घरायसी उत्पाद, जि.डि.पि.-को २.०४% मात्रै हो। रक्षा उपकरणहरूको पैठारीलाई मूलभूत भन्सार शुल्कबाट मुक्त गर्ने निर्णयले के प्रमाणित गर्दछ भने रक्षा आधुनिकीकरण आवश्यकताहरूले सरकारको शीर्ष प्राथमिकता पाउँदैछ।

भारतीय सेनाको आधुनिकीकरणको प्रक्रियालाई लङ्ग टर्म इन्टिग्रेटेड पर्सपेक्टिभ प्लान (एल.टि.आइ.पि.पि.) अर्थात् दीर्घकालिक समन्वित दृष्टि योजनामा विस्तारपूर्वक राखिएको छ जसले २०२७-सम्मको अवधिलाई ओगट्दछ। भारतमा बनेका परियोजनाहरूलाई पूरा गर्नुमाथि जोड दिइएको छ जसबाट स्वदेशी क्षमतामा विकास होस्। सरकारको अतिसक्रिय दृष्टिकोणका साथ समयसीमाभित्र काम सम्पन्न गर्ने प्रयासहरू गरिँदैछन्। प्रमुख निजी कम्पनीहरूलाई पनि रक्षा उत्पादन-निर्माण क्षेत्रमा ल्याइँदैछ। सरकारले स्ट्रेटेजिक पार्टनरशिप (एस.पि.) अर्थात् सामरिक साझेदारी मोडेल सुरु गरेको छ जसले भारतीय निजी क्षेत्रका कम्पनीहरूलाई भारतमा जङ्गी विमान, हेलिकोप्टर, पनडुब्बी र प्रमुख युद्ध ट्याङ्कहरू निर्माण गर्न विदेशी प्रमुख रक्षा कम्पनीहरूसित संयुक्त उद्यम कायम गर्ने अनुमति दिनेछ। सशस्त्र सेनाको लडाकु क्षमताहरूलाई बढाउन सरकारले कैयौँ दीर्घप्रभावी सुधारहरू पनि गरेको छ। यी उपायहरूलाई दशकौँपछि सर्वाधिक महत्त्वपूर्ण पाइलाको रूपमा हेरिएको छ, जसमा विश्वमा दोस्रो सर्वाधिक विशाल सेनाको संख्यालाई घटाएर  “छरितो र प्रभावी” बनाउनुका अतिरिक्त सेनालाई आधुनिक उपकरण र हतियारहरूले सुसज्जित पार्नु सामेल छन्।

फ्युचर इन्फेन्ट्री सोल्जर एज ए सिस्टम  छोटकरीमा एफ-इनसास-को नामले जानिने एउटा प्रमुख कार्यक्रमको उद्देश्य सैनिकहरूलाई अत्याधुनिक शस्त्रास्त्र तथा लडाकु परिधान उपलब्ध गराउनु हो। यो कार्यक्रम २०२० सम्ममा सम्पन्न गरिने छ। पोहोर सेनाले एम-७७७ होवित्जर र के-९ वज्र खरिद गरेको थियो। हालैमा रसियाबाट ४६४ टि-ट्याङ्कहरू खरिदका लागि गरिएको १३,५०० करोड रुपियाँको सौदाले भारतीय सेनामा टि-९० ट्याङ्कहरूको संख्या बढाएर करिब २ हजार पुग्नेछ जसका साथ शेष टि-७२ र टि-५५ ट्याङ्कहरू छन्।

भारतीय वायु सेनाका लागि राफेल लडाकु जेटहरू “पासा पल्टाउने” प्रमाणित हुनेछन् किनभने तिनीहरूमा वायु कारबाहीमा कुनैपनि शत्रुद्वारा हस्तक्षेप गर्न नदिने क्षमता छ। यी परमाणु सक्षम छन् र हावादेखि हावा र हावादेखि जमिन दुवैमा युद्ध  गर्न सक्छन्। पहिलो राफेल लडाकु जेट कार्यक्रमअनुसार आगामी महिना अर्थात् सेप्टेम्बरमा भारतीय वायु सेनालाई प्राप्त हुनेछ अनि जम्मै ३६ राफेल जेटहरू आगामी दुई वर्षभित्रमा उपलब्ध हुनेछन्। यसका अतिरिक्त, सुखोई एम-३० र तेजसका नयाँ प्रारूपहरूले चाँडैनै पुराना लडाकु विमानहरूको स्थान लिनेछन्। त्यसैमाथि, आज वायु सेनाको प्रमुख अपरेशनल विमान मिग-२१ बिसोनले आफ्ना क्षमताहरूलाई उन्नत पारेको छ र पुराना मिग-२१ भन्दा धेरै आधुनिक बनेका छन्।

भारतीय वायु सेनाको अब उल्लेखनीय रूपमा आधुनिकीकरण भएको छ र यसका क्षमताहरू पाकिस्तान अधिग्रहित कश्मीरका केही इलाकाहरूमा आतङ्की शिविरहरूमाथि यसले गरेको दुई “सर्जिकल स्ट्राइक”बाट सुस्पष्ट देखिन्छ। सबै विमान डफ्फाहरूमा लेजर सेन्सर-कम-टार्गेटिङ्ग सिस्टम अर्थात्  लेजर डेजिगनेटर पॅड (एल.डि.पि.) जडान गरिनाले हवाई मारक क्षमतामा व्यापक वृद्धि भएको छ। करगिल युद्धको बेलामा यो प्रणाली मिराज-२००० लडाकु विमानमा मात्रै थियो। अब जगुआर, उन्नत मिग-२७ र सुखोई-३० विमानहरूमा पनि यो प्रणाली छ। यु.ए.भि, रिफ्युलर्स र हवाई चिकित्सा बचाव प्रणाली छोटकरीमा इभाक्स हासिल गरिनु भारतीय वायु सेनाले ठुलो फड्को हानेको छ भन्ने कुराको सङ्केत हो।

समुद्री मोर्चामा भारतलाई के राम्ररी थाहा छ भने चुनौतीहरूअनुसार समुद्री मार्गमा अपरेशनल क्षमता र सुरक्षा दुवैका लागि पूर्वाधारमा सुधारको खाँचो छ। वर्तमानमा, भारतको व्यापारको ९० प्रतिशत मात्रा  र मूल्यको हिसाबले ७७ प्रतिशत समुद्री मार्गबाट नै हुन्छ। त्यसैमाथि, शत्रुतापूर्ण छिमेकी मुलुकहरूको नौसैनिक आधुनिकीकरण तीव्र गतिमा हुँदैछ जसले भारतका चिन्ताहरूलाई बढाएको छ। सरकारले ६ पनडुब्बीहरू र ५६ नयाँ जङ्गी जहाजहरू भारतीय नौसेनामा सामेल गर्ने मन्जुरी प्रदान गरेकोछ, साथै ३२ जहाजहरूको निर्माण हुँदैछ।

विश्वमा आर्थिक र प्रौद्योगिक दृष्टिले भारतको दर्जा बढी महत्त्वपूर्ण स्थानतर्फ बढिरहेको हुँदा, भारतले साथसाथै आफ्नो सैन्य शक्तिको निर्माण अत्याधुनिक उपकरणहरूकासाथ गर्नु पर्दछ जसबाट सम्भावित शत्रुहरूबाट कुनैपनि खतरा वा चुनौतीलाई असफल पार्न सकियोस्।

आलेख: रक्षा विश्लेषक उत्तम कुमार विश्वास  

अनुवादः जैकुमार बराइली