परराष्ट्र मामिला मन्त्रीको चीन भ्रमणले सम्बन्ध प्रगाढ हुनेछ

चीनसित एक अत्यन्तै महत्त्वपूर्ण कुटनीतिक पहुँचका लागि, भारतका परराष्ट्र मामिला मन्त्री एस. जयशङ्करले उच्चस्तरीय सांस्कृतिक तथा जन-जनमाझ आदानप्रदान तन्त्रको बैठकमा सहभागी बन्न बेइजिङ्गको आधिकारिक भ्रमण गर्नुभयो। सो भ्रमणको मुख्य उद्देश्य पोहोर प्रधान मन्त्री नरेन्द्र मोदीसित वूहानमा गरिएको बैठकसरह नै दोस्रो चरणको एक अनौपचारिक बैठक गर्न यसै वर्षको अन्त्यतिर चीनका राष्ट्रपति शी जिनपिङ्गद्वारा गरिने भारत भ्रमणका लागि धरातल तयार पार्नु थियो। दुई पक्षहरूले कुटनीतिक सम्बन्ध स्थापित भएको ७०औँ वर्षगाँठ पनि मनाइरहेका छन्। दुई विदेश मन्त्रीहरूको बैठकमा भारतीय संसदमा जम्मू एवम् कश्मीरसम्बन्धी विधेयक पारित भएको विषयमाथि पनि छलफल भयो।

श्री जयशङ्करले चिनियाँ उप-राष्ट्रपति वाङ्ग चिशानसित वार्तालाप गर्नुभयो। दुवै पक्षहरूले विश्वको वर्तमान स्थिति र बृहत् पुनर्सन्तुलन कार्यबारे छलफल गरे जसले भारत र चीनलाई प्रमुख क्षेत्रीय एवम् वैश्विक शक्तिको रूपमा उदय भएको प्रतिबिम्बित गर्दछ।

भारतका नवनियुक्त परराष्ट्र मामिला मन्त्रीद्वारा चीनको पहिलो भ्रमण भएतापनि, यसअघि चीनमा भारतीय राजदूतको रूपमा कार्य गरेकोले साथै चीन मामिलामा विशेषज्ञता प्राप्त गरेकोले चीन, श्री जयशङ्करका निम्ति एक चिरपरिचित विषय हो।

उहाँले आफ्ना चिनियाँ समकक्षी वाङ् यिसित विस्तृत एवम् फलदायक बैठक गर्नुभयो। बैठकमा छलफलको दौरान चिनियाँ विदेश मन्त्रीले भारतीय संसदद्वारा जम्मू एवम् कश्मीरमाथि विधेयक पारित गरिएको घटनाक्रमको उल्लेख गर्नुभयो। भारतीय मन्त्रीले स्पष्ट भन्नुभयो कि यो भारतको आन्तरिक मामिला थियो र यो, भारतीय संविधानको एक अस्थायी प्रावधानमा गरिएको परिवर्तन मात्र हो, जुन परिवर्तन गर्ने पूर्ण अधिकार मुलुकसँग छ।

अझ यो सन्देश पनि दिइयो कि यी विधायी उपायहरूको उद्देश्य जम्मू एवम् कश्मीरमा सुशासन र सामाजिक-आर्थिक विकासलाई संवर्धन गर्नु अनि भारतका बाह्य सिमानाहरू वा भारत-चीन सिमानास्थित वास्तविक नियन्त्रण रेखामा यसको कुनै प्रभाव नपरोस् भन्ने हो।

यो पनि उल्लेख गरियो कि भारतले यसको अतिरिक्त कुनै भूभागमाथि दाबी गरिरहेको थिएन अनि यस सम्बन्धमा रहेका चीनका चिन्ताहरूलाई गलत तरिकाले पेस गरिएको थियो। भारतले यो सन्देश दियो कि जहाँसम्म भारत-चीन सिमानाको कुरा आउँछ, दुई पक्षहरू सिमानाको प्रसङ्गमा सन् २००५को राजनीतिक दिशानिर्देश र मार्गदर्शन गर्ने सिद्धान्तहरूका आधारमा एक निष्पक्ष, यथोचित र आपसलाई स्वीकार हुने व्यवस्थाका लागि सहमत भएका छन्। भारत र पाकिस्तानबिच कथित तनावको सन्दर्भमा चिनियाँ विदेश मन्त्रीको अवलोकनमाथि प्रतिक्रिया व्यक्त गर्दै श्री जयशङ्करले यी विषयहरूले पाकिस्तानलाई कुनै असर नपार्ने कुरामाथि जोड दिनुभयो किनभने यो भारतको आन्तरिक मामिला हो।

छलफलको बेला दुई पक्षहरूले द्विपक्षीय सम्बन्धको विकासका लागि भारत-चीन सिमाना क्षेत्रमा शान्ति र सौहार्द कायम राख्नु अत्यावश्यक रहेको दोहोऱ्याए। द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको सम्बन्धमा, आर्थिक सम्बन्धमा सुधार आएतापनि भारतविरुद्ध व्यापार घाटामा भएको वृद्धि एक चिन्ताको विषय हो। यो विषयलाई सम्बोधन गर्न चिनियाँ पक्षले चीनका घरेलु बजारहरूमा भारतका औषधी तथा आईटी उत्पाद र सेवाहरूलाई बढी पहुँच प्रदान गरेर आवश्यक पाइलाहरू सार्नु पर्ने कुरालाई दोहोऱ्याइयो।

भारतीय परराष्ट्र मामिला मन्त्रीले बताउनुभयो कि भारत-चीन सम्बन्धको भविष्य एक-अर्काका मुख्य चिन्ताहरूप्रति आपसको संवेदनशीलतामाथि निर्भर गर्नेछ र यो एक प्राकृतिक कुरा हो। दुवै छिमेकहरू विशाल विकासशील अर्थतन्त्रहरू भएकोले गर्दा दुई मुलुकहरूको सम्बन्धमा समस्याहरू देखा पर्नु स्वभाविक नै हो। तर मतभेदहरू विवाद चाँहि बन्नु हुँदैन, जसका निम्ति दुई मुलुकका नेताहरू सहमत भएका छन्। यो, दुई मुलुकहरूबिच परिपक्वता बढ्दै गएको सङ्केत हो।

भ्रमणको बेला दुई मुलुकहरूबिच पाँच समझदारी ज्ञापनपत्रहरूमा हस्ताक्षर गरिए। यी समझदारी ज्ञापनपत्रहरू वर्ष २०२० कालागि द्विपक्षीय सम्बन्धमा सहयोग, खेलकुदको क्षेत्रमा सहयोग, भारतको राष्ट्रिय सङ्ग्रहालय र यसको चिनियाँ समकक्षबिच सांस्कृतिक आदानप्रदान, पारम्परिक औषधीको क्षेत्रमा दुई मुलुकहरूबिच सहयोग अनि भारतको राष्ट्रिय सङ्ग्रहालय र चीनको हुबेय प्रान्तीय सङ्ग्रहालयबिच सहयोगसित सम्बद्ध छन्।

आलेख: डक्टर रूपा नारायण दास, चिनियाँ मामिलासम्बन्धी सामरिक विश्लेषक

अनुवाद तथा वाचन: प्रणय सुब्बा