यमनमा शान्ति स्थापना हुने मार्गमा तगारो

अदनमा भएको सत्तापलटपछि पहिलोपल्ट यमनको पृथकतावादी आन्दोलनका प्रमुखले यही साता साउदी अरबको नेतृत्वाधीन शान्तिवार्तामा हिस्सा लिने इच्छा जाहेर गर्नाले यमनमा शान्ति स्थापना होला भन्ने झिनो आशा पलाएको छ। संयुक्त अरब एमिरेट्सको अगुवाइमा रहेका यमनका दक्षिणी पृथकतावादी शक्तिहरूले अदनस्थित राष्ट्रपति आवासलाई रक्तपातपूर्ण लडाइमार्फत कब्जा गर्दा ४० जनाको ज्यान जानुका साथै २६० भन्दा बढी मानिसहरू घाइते भए। पृथकतावादी नेता ऐदारुस अल-जुबैदीले, अब्द्राबु मन्सौर हादीको सेनाले हौथी आन्दोलनका नेताहरूको हत्या गरी यस आन्दोलनलाई नै सखाप गर्ने प्रयास गरेर हिंसा भड्काएको आरोप लगाएका छन्। अदन सहरको दक्षिणी सम्पर्क परिषदमा साउदी अरबले गरेको हवाइ हमलाका बिचैमा पृथकतावादी नेताका तर्फबाट शान्तिवार्तामा सहभागी बन्ने घोषणा भएको हो। संयुक्त अरब एमिरेट्स र साउदी अरबले सरकार समर्थित यमनी पार्टीहरूलाई अर्को साता, अदनमा व्याप्त हालको तनाव साम्य पार्न आह्वान गरेका छन्।

सन् २०११ मा अरब उत्थानपछि अली अब्दुल्ला सालेहले आफूभन्दा तल्लो पदमा आसीन हादीलाई सत्ता सुम्पने क्रममा देखा परेको विफल राजनैतिक हस्तान्तरणको समयदेखि नै यो द्वन्द्वले आफ्ना जरा गाढ्न थालेको हो। आफ्नो शासनकालमा हादी सरकारले जिहादी हमला, दक्षिणी पृथकतावादी आन्दोलन र सालेहलाई सुरक्षाकर्मीहरूको वफादारी जारी राख्ने, भ्रष्टाचार, बेरोजगारी तथा खाद्य असुरक्षा जस्ता आन्तरिक मामिलाहरू सुल्झाउने दिशामा आफ्नो ध्यान केन्द्रित राखेको थियो। यसले गर्दा हौथी (शिया) विद्रोहीहरूले आफ्नो वर्चस्व बढाउने अवसर पाए। सत्ता हस्तान्तरणका कारण खिन्न भएका सुन्नीहरूलगायत यमनका नागरिकहरूको मद्दत पाएर हौथीहरू, सदा र सनामा आफ्नो कब्जा जमाउन सफल हुनुका साथै सम्पूर्ण देशलाई नै आफ्नो नियन्त्रणमा ल्याउने चेतावनी दिन सक्ने भए।

क्षेत्रीय स्तरको शत्रु देश इरानको समर्थनमा एउटा समूहको उदय भएको चिन्ताले ग्रसित साउदी अरबले हादी सरकारलाई समर्थन गर्नका लागि सन् २०१५ मा विद्रोहीहरूविरुद्ध एउटा गठबन्धन फौज तयार गऱ्यो। साउदी अरब, संयुक्त अरब एमिरेट्स, कुवैत, बाहरैन, कतार, सुडान, इजिप्ट, जोर्डन र मोरक्कोलगायतका देश यो गठबन्धनमा सामेल भए भने वाह्य शक्तिका रूपमा अमेरिका र ब्रिटेनले यो समूहलाई सर-सामान उपलब्ध गराए। साउदी नेतृत्वाधीन गठबन्धन फौजले हौथीहरूलाई दक्षिणी यमनबाट त लखेट्यो, तर सना भने विद्रोहीहरूको कब्जाबाट मुक्त हुन सकेन। सन् २०१७ मा रियाधतर्फ लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र छोडिनु, यमनमा नाकाबन्दीको कारण बन्यो र साउदी अरबले विद्रोहीहरूको गढ होदैदामा हमला गऱ्यो।

लामो समयसम्म चलेको यस संघर्षले यमनका बहुसङ्ख्यक जनतालाई आफ्नो ग्रास बनाएको छ र यमनलाई विश्वको सबैभन्दा भयावह मानव-सृजित विपत्ति हो भनी सार्वजनिक भएको एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनले यस कुराको पुष्टि गर्दछ। “यमनमा मानवीय खाँचोको अवलोकन-२०१९” शीर्षक भएको उक्त प्रतिवेदनमा मानवीय मामिला समन्वय कार्यालय (ओचा)-ले यस देशमा पाँच वर्षमुनिका २० लाख नानीहरू र १० लाखभन्दा बढी गर्भवती तथा स्तानपान गराउने महिलाहरूलगायत १ करोड ४३ लाख मानिसहरू खाद्यको गम्भीर सङ्कटमा छन् भनेको छ। संयुक्त राष्ट्रसंघले सन् २०१८ को डिसेम्बर महिनामा एउटा शान्ति सम्झौताको मध्यस्थता गरेको थियो। हौथीहरूले दुई चरणमा सहरबाट बाहिरिने बाचा मारेका थिए, तर विद्रोहीहरूलाई सहरबाहिर लैजाने सम्बन्धमा हालसम्म कुनै प्रगति भएको छैन।

लाल सागर र अदनको खाडीलाई जोड्ने जल डमरुमा अवस्थित यमन, यस अञ्चलका साथै विश्वका लागि पनि महत्त्वपूर्ण छ किनभने विश्वका अन्य भागहरूमा अल-कायदा र आइसिस जस्ता आतङ्की सङ्गठनहरूको अस्तित्व समाप्त भएपछि उनीहरूका लागि यो देश नै सुरक्षित लुक्ने ठेगाना बनेको छ। यस सङ्कटले सुन्नी साउदी अरब र शिया इरानबिच क्षेत्रीय सत्ता सङ्घर्षलाई दन्काएको छ। साउदी अरबको नेतृत्वाधीन सरकारी फौज र संयुक्त अरब एमिरेट्समा तालिम पाएको सिक्योरिटी बेल्ट फोर्सले शिया हौथी विद्रोहीहरूविरुद्ध युद्ध गरिराखेका बेलामा यो सङ्कट, द्वन्द्वभित्रको अर्को द्वन्द्वमा परिणत भई अझ जटिल हुन पुगेको छ। विश्वको कुल तेल ढुवानीमध्ये २० प्रतिशत हिस्सा बाब अल-मान्देब जल डमरुमार्फत गुज्रन्छ र यमन सङ्कटका कारण यो कारोबार सधैँ नै जोखिमपूर्ण रहिआएको छ।

भारतका लागि यमनमा शान्ति स्थापना हुनु अत्यन्तै महत्त्वपूर्ण छ किनभने यसले गर्दा भारत र यमनबिचका सम्बन्धहरूमा असर पर्दै छ। भारतले सन् २०१५ मा आफ्नो दूतावास सनाबाट सारेर जिबौतीमा खोलेको थियो। भारत सरकारले आफ्ना नागरिकहरूलाई यमन भ्रमण गर्नबाट रोक्न एउटा चेतावनी जारी गरेको थियो। अपरेसन राहतअन्तर्गत भारतले यमनबाट हवाइ तथा समुद्री मार्गमार्फत ४,६४० भारतीय तथा ४१ देशका ९६० नागरिकहरूलाई सुरक्षित बाहिर निकालेको थियो। भारत यमनमा सहायता सामग्री पुऱ्याउने र पुनर्निर्माणको काममा खटेको छ भने भारतीयहरू मानवीय राहत कार्यमा जुटेका छन्। भारत यमनमा शान्तिको कामना गर्दछ। नयाँ दिल्लीले यमनको पेट्रोलियम तथा प्राकृतिक ग्याँस खण्डहरूमा चासो देखाएको छ।

आलेख: डा. लक्ष्मी प्रिया

अनुवादः दीपक पौडेल